कामपाका एक हजार ५५० कर्मचारी समायोजनमा

महानगरलाई मासिक ३० लाख ५० हजार आर्थिक दायित्व थपिंदै


२६ फाल्गुन २०७७, बुधबार
kathmandu mahanagarpalika

काठमाडौं, २६ फागुन । काठमाडौं महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो ।

समायोजनामा पर्ने अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीलाई मङ्गलबार एक तहमाथिको पदमा समायोजन गरिएको प्रमाणपत्र प्रदान गरिएको छ भने अन्य बाँकी कर्मचारीलाई बिहीबार दिने तयारी कामपाको छ ।

समायोजन ऐनअनुसार यसरी समायोजन गर्दा जुन–जुन पदमा कार्यरत कर्मचारी हो सोही पदबाट एक पदमाथिको स्तरमा समायोजन गरिएको हो । समायोजनमा परेका कर्मचारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समायोजन ऐनमार्फत कर्मचारीे पदोन्नतिको लाभ सेवाग्राहीले महसुस गर्नुपर्ने उल्लेख गर्दै चुस्त, दुरुस्त र इमान्दार सेवा अहिलेको आवश्यकता रहेको बताए ।

‘समायोजन ऐनबाट लाभ नपाएका कर्मचारी पनि हुनुहुन्छ । स्थायी कर्मचारी जागिर केही हुँदैन भन्ने मानसिकतामा रहेको र करार सेवामा भएका कर्मचारी म्याद नथपिएला कि भन्ने डरले काममा घोटिएको पनि देखेको छु । उहाँहरूको भावनामा चोट नपुगोस् भनेर हामीले आउँदा दिनमा थप सचेत बन्नुपर्ने छ’, प्रमुख शाक्यले भने ।

आगामी दिनमा कर्मचारीको काँधमा थप जिम्मेवारी थपिएको भन्दै कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गीले कर्मचारीको भावना सम्बोधन भएसँगै नगरसभाबाट अघि सारेका कार्यक्रम कार्यान्वयनमा लक्ष्य प्राप्त हुने अपेक्षा गरेको धारणा राखिन् । यसरी कर्मचारी समायोजन गर्दा कामपालाई मासिक रु ३० लाख ५० हजार आर्थिक दायित्व थपिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७