अब संसदबाटै नयाँ खेल शुरु हुन्छ : वरिष्ठ नेता खनाल


२६ फाल्गुन २०७७, बुधबार
jhalanath khal

काठमाडाैं, २६ फागुन । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अब संसदमा नयाँ खेल शुरु हुने बताएका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापित भएपछिको दोस्रो वैठकमा सहभागी भएपछि वरिष्ठ नेता खनालले देशका सबै दल र राजनीतिज्ञले खेल खेल्ने ठाउँ संसद नै भएको भन्दै अब यहींबाट सबै कुरा अघि बढ्ने बताए ।

नेता खनालले अब संसदमा नयाँ खेल शुरु हुने दावी गर्दै भने, ‘अब संसदमा नयाँ खेल शुरु हुन्छ । नयाँ खेलको परिदृष्य अब तपाईंहरुले विस्तारै देख्नु हुन्छ’, उनले भने, ‘हामी त अब एमाले भइसकेका छौं तीन वर्षपछि । यो चाहिँ दुर्भाग्यको कुरा हो । एकीकृत भइसकेको पार्टीलाई फेरि विभाजित गरियो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई अबको दुई वर्षसम्म जोगाउन आफूहरु सक्रिय हुने पनि बताएका छन् । ‘संसदको पुनर्स्थापना विशेष घटना हो । हामी अब विधिमा फर्किएका छौं । संविधानको मर्म र भावना अनुसार अघि बढ्नुको विकल्प छैन’, उनले भने ।

उनले अब सबै वामपन्थी शक्तिलाई एकै ठाउँ ल्याउने पनि बताए । ‘हामी तीन वर्षपछि यो ठाउँमा आइपुगेका छौं । एमाले सधैंभरी वामपन्थी एकताको पक्षमा छ’, उनले भने, ‘वामपन्थीहरुलाई एक बनाउनु पर्छ भन्ने पक्षमा छ । हामी आफ्ना मुद्दालाई अघि बढाउँछौं ।’

खनालले आफू नेकपा एमालेको वरिष्ठ नेता भएकाले अब अहिलेकै सरकार जोगाउन सक्रिय हुने पनि बताए । ‘नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यही सरकार दुई वर्ष जान्छ भन्छु म । सरकार जोगाउने दायित्व कुनै व्यक्तिको मात्रै होइन, पार्टीको हो’, खनालले थपे, ‘हामी अब यही सरकारलाई जोगाउन लाग्छौं । तीन वर्षपछि एमालेकै हैसियतमा फर्किदा बडा रमाइलो लागेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७