नाकामा ताला, अन्यत्र भीड


२७ फाल्गुन २०७७, बिहीबार
naka 20210311002343
3 page.indd

विराटनगर, २७ फागुन । गृह मन्त्रालयले नेपाल–भारतका २८ वटा नाका माघ १६ गतेदेखि खोल्ने निर्णय गर्‍यो । सो निर्णयमा विराटनगरस्थित रानी नाका पनि सूचीकृत थियो । तर, अहिले पनि सो नाकामा ढाट लागेको छ ।

‘चोर बाटो’ बाट आवतजावत गर्नेको भीड भने हरेक दिन बाक्लिँदै गएको छ । गृह मन्त्रालयले उपलब्ध गराएको अनलाइन फारम भरेपछि भारतीयलाई नेपालतर्फ प्रवेश गर्न दिने नियम सरकारको छ । सो नियम कोरोना महामारीमा भन्दा पनि कडा महसुस गर्छन् आवतजावत गर्नेहरू । ‘अनेक नियम ल्याएर आउन जानै समस्या छ, भारतबाट विराटनगर फर्किएका राजीव मगर भन्छन् ‘अब पनि के नियम राखिराखेको होला, चोर बाटोबाट सबै गएकै छन्, आएकै छन् ।’

सरकारले नाका खोल्ने भन्ने निर्णय गरेको एक महिना बितिसक्यो । नाका खोल्दा कस्तो असर प¥यो, कस्तो सुधार गरेर खोल्ने भन्नेबारे सरकारले विश्लेषण गरेको छैन । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला केन्द्रको निर्णय कुर्नुबाहेक अन्य विकल्प नरहेको बताउँछन् । ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट’ को केन्द्रीय कमिटीको निर्देशन नआएकाले नाका खोल्न समस्या भएको हो,’ उनले भने ‘हामीले निर्णय गरेर खोल्न मिल्दैन ।’

कोरोना नियन्त्रण तथा व्यवस्थापन गर्न गठित सो कमिटीले नाका नखुल्दाका समस्याबारे अध्ययन गरेको छैन । नाका नखोल्दा चोर बाटोबाट आवतजावत मौलाएकाले प्रशासनलाई नियन्त्रण गर्न समस्या भएको छ । ‘सीमाना प्रहरी खटाउनुबाहेक केही गरिएको छैन, सबै प्रक्रिया पूरा गरेर आउनेको लगत राख्ने गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी निरौला भन्छन् ‘नाकामा खटाउने पर्याप्त जनशक्ति पनि हामीसँग छैन ।’

उनले आवतजावत गर्नेको रेकर्ड राख्ने गरिएको बताए पनि रेकर्डमा संख्या न्यून छ । अनलाइन फारम भरेपछि आउनेको संख्या दैनिक ५ देखि १० जनाको हाराहारी मात्रै छ । चोर बाटोबाट भने दैनिक सयौ ओहोरदोहोर गर्छन् । मुख्य नाकामा ढाट लगाएर तालाबन्दी गरिएकाले अधिकांशले चोरबाटो प्रयोग गर्छन् ।

विराटनगरमा एकीकृत जाँच चौकी सञ्चालनमा भएपछि आयात–निर्यात जाँच चौकीबाटै हुने गरेको छ । लकडाउनका बेलामा पनि एकीकृत जाँच चौकीको काम रोकिएन। पुरानो रानी गेट यात्रुहरू आवतजावत गर्ने नाका मात्र भएको छ । जोगबनी किनमेल गर्न जानेहरू रानी नाकाबाहेकका अन्य साना नाकाबाट ओहोरदोहोर गर्छन् ।

एउटै प्रदेशका फरक नाकामा फरक व्यवहार गरिएको छ । काँकडभिट्टा र भान्टाबारी (सुनसरी) नाका बन्द छैन । मानिसहरू आइरहेकै छन्। नाका नखुल्दा स्वदेशी बजार र केही स्वदेशी उत्पादनलाई केही राहत भए पनि भारतीय पर्यटक आउन नपाउँदा पर्यटन व्यवसाय संकटमा छ । होटल चलेका छैनन् । सरकारी निकायका अनुसार काँकडभिट्टा नाका वैद्य रूपमा अझै खुलेको छैन ।

नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका पर्यटन समितिका संयोजक भविश श्रेष्ठ सबै खुला भइरहँदा पर्यटकलाई रोक्न नहुने बताउँछन् । ‘वर्ष दिनदेखि पर्यटक आउन नपाउँदा होटलहरू धमाधम बन्द भइरहेका छन् । सरकारले यस्तो किन गरिरहेको छ’, उनी प्रश्न गर्छन् । मुख्य नाका बन्द हुँदा अवैध कारोबार र तस्करी मौलाउने व्यवसायीहरूको बुझाइ छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७