प्रधानमन्त्रीलाई भेट्दै जसपाका पाँच शीर्ष नेता

देउवा र प्रचण्डसँग पनि वार्ता गर्ने


२७ फाल्गुन २०७७, बिहीबार
jasapa 1

काठमाडौं, २७ फागुन । बदलिँदो राजनीतिक परिस्थितिमा संसदको अंक गणितमा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) का पाँच शीर्ष नेता प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निमन्त्रणा गरेपछि जसपाका शीर्ष नेता बालुवाटार जान लागेका हुन् । जसपाको शीर्ष नेताहरूको बिहीबारको बैठकले पाँच शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक परिस्थिति र दलले विगतदेखि उठाउँदै आएका मागबारे छलफल गर्ने जिम्मेवारी दिएको थियो ।

जसपाबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बिहीबार ५ बजे पूर्व प्रधानमन्त्री तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई जान लागेका हुन् ।

‘हाम्रा माग र मुद्दाबारेमा छलफल गर्न शीर्ष पाँच नेता प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाँदै हुनुहुन्छ । वर्तमान परिस्थितिको बारेमा पनि छलफल हुन्छ,’ जसपाका नेता केशव झाले भने, ‘आजको बैठकले अन्य दलका नेताहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीसँग छलफल गरेपछि शेरबहादुर देउवा र प्रचण्डसँग पनि वार्ता गर्ने तय भएको छ ।’

यसअघि वार्ता टोली बनाउने भनिएकोमा अब भने शीर्ष पाँच नेताले नै अन्य राजनीतिक दलका नेताहरूसँग सत्ता समीकरणबारे कुरा गर्ने निर्णय भएको झाले जानकारी दिएका छन् । त्यस्तै, जसपाले संसदीय दलको शुक्रबार बैठक बोलाएको छ । जसपा संसदीय दलको विधान पारित गर्दै दलको नेता चयन गर्नका लागि बैठक बोलाइएको झाले बताए ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूले उठाएको एजेण्डा पूरा भएपछि मात्रै सत्ता समीकरणबारे छलफल हुने जानकारी दिएका छन् । बिहीबार जसपा नेपालको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले आफूहरुका नेता, कार्यकर्ताको मुद्दा फिर्ता तथा जेलमा रहेका नेताहरुको रिहाइ गर्ने माग पुरा भए मात्रै सत्ता समस्करणका विषयमा छलफल गर्ने बताएका हुन् ।

पछिल्लो समय नयाँ सत्ता समीकरणमा अध्यक्ष ठाकुर ओली पक्षसँग सहकार्य गर्न सकिनेतर्फ केहि लचक देखिएका छन् । यस्तै संघीय परिष अध्यक्ष र अध्यक्ष उपेन्द्र यादव ओलीसँग सहकार्य गर्न नहुने पक्षमा देखिएका छन् । ‘ओलीलाई हटाउ, देश बचाउ’ भन्दै प्रधानमन्त्रीको कदमको कडा विरोध गर्दै आएका जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै गरेको अवस्थालाई निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७