ओलीविरुद्धको १९ पेजको ‘डकुमेन्ट’ ‘बमबार्ड द हेडक्वार्टर’ : प्रचण्ड


२८ फाल्गुन २०७७, शुक्रबार
prachanda

काठमाडौं, २८ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण उपलब्धि ध्वस्त हुने खतरा देखेपछि आफूले प्रधानमन्त्री केपी ओली प्रवृत्तिविरुद्ध १९ पृष्ठको ‘डकुमेन्ट’ लेखेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित भरत ढुंगानाको स्मृति–ग्रन्थ सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रचण्डले ‘डकुमेन्ट’ लेखनलाई ओली प्रवृत्तिविरुद्ध ‘बमबार्ड द हेडक्वार्टर’ भएको बताए ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाभित्र अध्यक्ष ओलीसँग अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विवाद चर्किएपछि पत्रयुद्ध नै चलेको थियो । प्रचण्डले माधवकुमार नेपालसँग मिलेर २८ कात्तिकमा ओलीविरुद्ध १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पार्टी सचिवालय बैठकमा प्रस्तुत गरेका थिए ।

ओलीमाथि राजकीय हैसियतको दुरुपयोग गरेको आरोप लगाइएको उक्त प्रतिवेदन बैठकमा पेस भएपछि नेकपाभित्रको विवाद थप उल्झनमा परेको थियो । त्यसपछि ओली पक्षले उक्त प्रतिवेदन फिर्ता लिनुपर्ने अडान लिएको थियो भने प्रचण्ड–माधव पक्षले उक्त प्रतिवेदनमाथि छलफल गरेर ओलीले आत्मालोचनासहित विकल्प खुला गर्नुपर्ने बताएको थियो । अन्ततः सो प्रतिवेदनमाथि न त छलफल भयो न पार्टी एकता नै कायम रहन सक्यो ।

प्रचण्डले अहिले त्यही प्रतिवेदनको प्रसंग कोट्याउँदै सम्पूर्ण उपलब्धि ध्वस्त हुने खतरा भएपछि लेखेको दाबी गरेका हुन् । ‘मैले केपी प्रवृत्तिका विरुद्ध जानीबुझी सम्झौता गर्दा सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि अब फेरि जेल जान परे पनि तयार, मर्न पनि तयार हुन्छु भनेको हुँ । यो प्रवृत्तिमाथि प्रहार गर्नैपर्छ भनेर गरेको हुँ,’ प्रचण्डले भने, ‘त्यो गर्दै गर्दा मलाई ‘बमबार्ड द बुर्जुवा हेडक्वार्टर’ गरें भन्ने लागेको छ ।’

उनले पार्टीभित्रै लडाइँ हुने भन्दै त्यसबाट अघि बढ्ने धारणा राखे । उनले ‘केपीप्रवृत्ति’ विरुद्ध बाटोमा गएर पलेँटी कस्दा आफू जनतासँग जोडिएको अनुभूति भएको सुनाए । आफूले फेरि जनतासँग जोडिने र देशव्यापी अभियान चलाउने सोच बनाएको उनको भनाइ थियो । ‘म काठमाडौंभन्दा फेरि दुई–चार वर्ष जनताको बीचमा गएर बस्ने विचार छ । किनभने देशभित्र र बाहिरका प्रतिक्रियावादीले हाम्रो राष्ट्र र आन्दोलनका विरुद्ध निकै ठूलो षड्यन्त्र गरिरहेका छन् । हाम्रा उपलब्धि र परिवर्तनमाथि धावा बोल्ने कोसिस गरिरहेका छन् । त्यसलाई परास्त गर्नुछ,’ उनले भने ।

राजनीतिक हिसाबले सामन्ती तन्त्रमाथि विजय हासिल गरे पनि राष्ट्रिय स्वाधीनताको लडाइँ पूर्ण नभएको उनको भनाइ थियो । ‘प्रतिक्रियावादी देशी–विदेशी शक्तिले नेपालको राष्ट्रिय स्वाधीनतालाई, नेपाली जनताको आत्मनिर्णयको अधिकार फेरि एकचोटि जबर्जस्ती कुल्चिने दुस्साहस गरिराखेका छन् । म चिन्तित छु, आक्रोशित छु र आफै आन्दोलित पनि छु, साथीहरू विचार गर्नुहोला,’ उनले भने ।

त्यसअघि बिहीबार नै केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक उपलब्धि र आन्दोलनको रक्षाका निम्ति देशव्यापी अभियान चलाउने बताए । ‘देशभित्र र बाहिरका प्रतिक्रियावादीले निकै ठूलो षड्यन्त्र गरिरहेका छन् । त्यसलाई परास्त गर्नु छ । मलाई विश्वास छ– परास्त गरिन्छ । हामीले आफ्नै धर्तीमा टेकेर मात्रै पनि परास्त गर्न सकिन्छ । हामी आफ्नै शक्तिमा भर परेर परास्त गर्न सकिन्छ,’ उनले भने ।

अहिले युद्ध गर्नुपर्ने स्थिति नभएको भन्दै शान्तिपूर्ण ढंगले नै आफ्नो खुट्टामा उभिएर जनतासँग जोडिने अभियान चलाएर प्रतिक्रियावादीहरू परास्त गर्न सकिने उनको भनाइ थियो । उनले आफूभित्र आवेग र आक्रोश रहेको भन्दै नेपालको स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोले नेपाली जनतालाई विद्रोह गर्ने अधिकार हुने बताए ।

‘प्रतिक्रियावादी तत्वहरू यही माओवादी आन्दोलनले ल्याएका उपलब्धिलाई के गरी ध्वस्त पार्न सकिएला र माओवादी आन्दोलनले तयार गरेको नेतृत्वको टिम, त्यसमध्ये एक नम्बरमा अहिले पनि रहेको प्रचण्डलाई के गरी निस्तेज पार्ने होला भन्नेमा नै सबैको ध्यान छ,’ उनले भने, ‘भ्रममा कोही नरहनु होला । मभित्र फेरि एकचोटि आवेग र आक्रोश छ । नेपालको स्वतन्त्रतामाथि, नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोल्छन् भने नेपाली जनतालाई फेरि एकचोटि विद्रोह गर्ने अधिकार हुन्छ ।’

उनले नेपालमा शान्तिपूर्ण ढंगले जनविद्रोह गर्न सकिने सम्भावना रहेको बताए । नेपालले प्राप्त गरेको उपलब्धिलाई निमोठ्ने र नेपाललाई कब्जामा राख्ने काम प्रतिक्रियावादीले गरिरहेको भन्दै उनले आन्दोलनबाट प्राप्त जागरणलाई केन्द्रित गरेर ‘कलरफुल रिभुलेसन’ विरुद्धको षड्यन्त्रलाई चकनाचुर पार्न सकिने बताए ।

प्रचण्डले नेत्रविक्रम चन्द विप्लवतिर संकेत गर्दै छलफल गरेर एकै ठाउँमा आउन आह्वान गरे । ‘कति बस्नुपर्ने हो बसौँ, एउटा निष्कर्ष निकालौँ । वैज्ञानिक समाजवादको निम्ति, साम्यवादको निम्ति म लड्न तयार छु । मेरो विचारमा म लडिरहेको छु, तपाईंको विचारमा तपाईंहरू पनि लडिरहनु भएको छ,’ उनले भने ।

ढुंगानाको स्मृति–ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमका वक्ता विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरहीको यही व्यवस्थाबाट संकटको समाधान नहुने भनेर गरेको तर्कको जवाफ दिँदै उनले आफूले स्थापित गरेको एजेन्डालाई स्वीकार गर्न आग्रह गरे । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७