नयाँ प्रधानमन्त्री बन्लान् महन्थ ठाकुर ?


२९ फाल्गुन २०७७, शनिबार
mahantha thakur

काठमाडौं, २९ फागुन । नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले विघटन भएको छ ।

नेकपाभित्र आन्तरिक विवाद तीव्र बनेका बेला सर्वोच्चले नाममा रहेको विवाद अन्त्य गरेसँगै पुरानै दुई दल एमाले र माओवादी केन्द्र सक्रिय भएका छन् । त्यससँगै बढ्दै गएको सत्ता संकटमा जनता समाजवादी पार्टी केन्द्रमा आइपुगेको छ ।

पार्टीभित्रको विवादले अर्को रुप नलिएसम्म एमाले नेतृत्वको वर्तमान सरकारलाई टिकाइराख्न जनता समाजवादीको समर्थन भए पुग्छ । तर जनता समाजवादी पार्टीभित्रै केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा मतभेद छ ।

अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो ओली नेतृत्वको सरकारप्रति नरम देखिए पनि उपेन्द्र यादव र बाबुराम भट्टराई वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा देखिएका छन् । सत्तारुढ एमालेभित्रको माधवकुमार नेपाल, झलनाथ खनालसहितको असन्तुष्ट समूह मात्र होइन, सत्तासाझेदार माओवादी केन्द्र पनि ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छ ।

नयाँ सत्ता समीकरणको केन्द्रमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि नयाँ प्रधानमन्त्रीका रुपमा चर्चामा छ । आफू नेतृत्वको सरकारले निरन्तरता नपाउने अवस्थामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले महन्थलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नसक्ने एमाले वृत्तको विश्लेषण छ ।

जसपाकै नेतृत्वमा सरकार गठनका लागि एमालेले प्रस्ताव गरेको अवस्थामा पार्टीका अन्य नेतालाई कांग्रेस वा माओवादी नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्न नैतिक संकट पर्नेछ । माओवादी नेतृत्वमा अहिले नयाँ सरकार गठनको सम्भावना निकै कम छ ।

ओलीको विकल्पमा माओवादी केन्द्रले कांग्रेस वा जसपामध्ये कुनै एकको नेतृत्व स्वीकार गरेर अघि बढ्ने नेताहरूको बुझाइ छ । त्यस्तो अवस्थामा प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुर मुख्य दाबेदार हुन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७