काठमाडौं मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई


२९ फाल्गुन २०७७, शनिबार
Mayor Cup Police 12

काठमाडौं, २९ फागुन । काठमाडौैँ मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो ।

उपाधिसँगै पुलिस क्लबले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपीएफ क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । टस जितेर ब्याटिङ गरेको एपीएफ क्लबले नेपाल पुलिस क्लब सामु जितका लागि १०६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । एक सय ६ रनको विजय लक्ष्य पुलिस क्लबले २४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

पुलिस क्लबका लागि सुनिल धमलाले अविजित ५९ रनको योगदान दिए । उनले ८२ बल खेल्दै दुई छक्का र सात चौका प्रहार गरे । यस्तै दिपेन्द्रसिंह ऐरीले अविजित ११, कुशल भुर्तेलले १५ तथा अनिल साहले १५ रन बनाए । बलिङतर्फ एपीएफका अभिनाश बोहरा र भुवन कार्कीले एक–एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले २९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनायो । एपीएफले पाँच रनमा पहिलो विकेट गुमाएको थियो । टोलीको स्कोर १० रन छँदा उसले आफ्ना तीन महत्वपूर्ण विकेट गुमाउन पुग्यो । शङ्कर राना चार रनमा तथा आसिफ शेख र शरद भेषवाकरबिना कुनै रन पेभेलियन फर्किए ।

यस्तै भुवन कार्कीले १४, सन्दीप जोराले १८, वसन्त रेग्मीले २२, अभिनाश बोहराले १२ तथा अमर रौटेलाले १८ रन बनाए । बलिङतर्फ गुल्सन झा र सागर ढकालले चार–चार विकेट लिए । यस्तै पवन शर्राफ र ललित राजवंशीले एक एक विकेट लिए । प्रतियोगितामा पुलिस र एपीएफसँगै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, वाग्मती प्रदेश र काठमाडौँ मेयर ११ सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७