गोर्खाली : नाममा के छ ?


१ चैत्र २०७७, आईतवार
Prem Ale gurkhas issue

आधुनिक नेपालको जन्म गोर्खा राज्यको बिस्तारसँग जोडिएको इतिहास छ । त्यो गोर्खा राज्यको शासकको सिपाहीहरूलाई ‘गोर्खाली’ भनिन्थ्यो । जुन अहिले बिश्वले नेपालीलाई चिन्ने एक पर्यायबाची शब्द बनेको छ । गोर्खाली या अंग्रेजीमा ‘गोर्खाज’ शब्दले बहादुर, इमानदार, दयालु तथा मेहनतीको परिचय दिन्छ । यस सन्दर्भमा दुई जना दिग्गज, विद्वान नेताहरूले भनेको भनाई राख्न चाहन्छु ।

पहिलो, फिल्ड मार्शल मनेक्षाले गोर्खाली सिपाहीको बहादुरी र साहसको प्रशंसा गर्दै भनेका थिए, ‘यदि कसैले मर्न डर लाग्दैन भन्छ भने उसले कि झुटो बोल्दैछ, कि ऊ गोर्खा हो ।’ दोस्रो, प्रोफेसर राल्फ टर्नर, जसले तेस्रो गोर्खा राईफल्समा युवावस्थामा नोकरी गरेका थिए । उनले पनि गोर्खाहरूको उच्च प्रशंसा गर्दै भनेका थिए, ‘बहादुरको पनि बहादुर, दयाको पनि दयालु, तपाईहरू जस्तो बिश्वासिलो मित्र अरू कोही छैनन् ।’

पहिलो, फिल्ड मार्शल मनेक्षाले गोर्खाली सिपाहीको बहादुरी र साहसको प्रशंसा गर्दै भनेका थिए, ‘यदि कसैले मर्न डर लाग्दैन भन्छ भने उसले कि झुटो बोल्दैछ, कि ऊ गोर्खा हो ।’

गोर्खालीका बारेमा यस्ता राम्रा भनाईहरू युद्धका बेलामा आई रहन्थे । अघिल्लो शताब्दीमा आएका माथिका प्रख्यात भनाईहरूले गर्दा गोर्खाली सिपाहीहरू विश्वको नजरमा मात्र परेनन्; बरू यसले सिङ्गो नेपाल र नेपालीको राम्रो पहिचान बनाउन मद्दत गर्‍यो। अहिले पनि नेपाललाई ‘बहादुरहरूको देश’ भनेर दूरदराजका देशहरूले समेत चिन्दछन् ।

त्यसो त ब्रिटिसले आफ्नो दुष्मनहरूलाई तर्साउन गोर्खाली सिपाहीहरूलाई खुंखार लडाकु, निर्दयी र रक्तपिपासु भनेर पनि चित्रण गरेका छन् । पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खालीहरूका बारेमा यस्ता धेरै ‘कुप्रचार’ गरिएको प्रशस्त उदाहरणहरू छन् । यसको पछिल्लो उदाहरण सन् १९८२ को फोकल्याण्ड युद्ध थियो । त्यहाँ ‘मान्छेलाई मारेर खाने गोर्खाली फौजहरू आउँदैछन्’ भनेर पर्चा छरी अर्जेन्टिनी फौजको मनोबिज्ञान कमजोर बनाउने जमर्को गरिएको थियो । हुन पनि गोर्खाली फौज त्यहाँ अवतरण भएपछि धेरै अर्जेन्टिनी फौजले आत्मसमर्पण गरेका थिए ।

बेलायतमा अहिले पनि ‘गोर्खालीले खुकुरी दापबाट निकालेपछि रगतको भोग दिनै पर्दछ’ भन्ने जनविश्वास छ । राइफल बाहेक व्यक्तिगत हतियारको रूपमा खुकुरी साथमा भिर्ने चलन विश्वयुद्धताकै आएको हो । लडाईको मैदानमा दुष्मनको घाँटी खुकुरीले छप्काएर हाम्रा पुर्खाहरूले परम बीर चक्र र भिक्टोरिया क्रस जस्ता मानपदवी पाएको केहि उदाहरणहरू पनि छ । खुकुरी निकालेर, ‘आयो गोर्खाली’ भनेर चिच्याउँदै दुष्मनको ईलाकामा जाई लागेको तस्बिर अहिले ब्रिटिस आर्मीको औपचारिक पोस्टर नै बनेको छ । यसरी हेर्दा गोर्खाली सिपाहीलाई बीरगाथाको शाहसी पात्र मात्र होइन; पौराणिक कथाको मिथ्य पात्रको रूपमा पनि प्रस्तुत गरिएको पाईन्छ ।

गोर्खा राज्यको गोर्खाली फौज ईष्ट इण्डिया कम्पनीमा प्रवेश भई कसरी बेलायत, भारत, ब्रुनाई, सिंगापुरलगायत देशह?मा अहिले पनि कार्यरत छन् ? यो बुझ्न २०५ बर्षभन्दा अघिको इतिहास
बुझ्न जरूरी छ । सन् १८१६ देखि औपचारिक रूपमा साम्राज्यबादी बेलायतमा गोर्खा बटालियनको रूपमा शुरू भएको गोर्खाली फौजको इतिहास गौरवपूर्ण छ । साथै नेपाल जस्तो स्वतन्त्र राष्ट्रको नागरिकलाई यसरी बिदेशी फौजमा काम गर्न दिनु भनेको ‘राष्ट्रिय कलंक’ हो भन्नेहरूको संख्या पनि कम छैन । यो छुट्टै बहसको बिषय हो ।

नेपाल जस्तो स्वतन्त्र राष्ट्रको नागरिकलाई यसरी बिदेशी फौजमा काम गर्न दिनु भनेको ‘राष्ट्रिय कलंक’ हो भन्नेहरूको संख्या पनि कम छैन । यो छुट्टै बहसको बिषय हो ।

सन् १६०० डिसेम्बरमा एजिलाबेथ प्रथमले इष्ट इण्डिया कम्पनीलाई भारतमा व्यापार गर्ने अनुमति दिएपछि त्यो कम्पनीले स्थानीय बासिन्दाहरूलाई आफ्नो ब्यापारको सुरक्षार्थ प्राइभेट सुरक्षा फौज बनाउन शुरू गरेको थियो । ती फौजहरूबाट सन् १७५७ मा क्लाईभ रोबर्टले ईन्फ्यान्त्री बटालियन खडा गरेका थिए । त्यो नै पहिलो औपचारिक फौजी संरचना थियो । जसलाई ‘सरकार’ भनिन्थ्यो । १८ औं शताब्दीको शुरूतिर आईपुग्दा यस्ता २५ वटा बटालियनहरू खडा भइसकेका थिए । त्यसबेला नेपालमा गोर्खाका राजा पृथ्वी नारायण शाहको राज्य बिस्तार अभियान चल्दै थियो । रणबहादुर शाहको पालासम्म आईपुग्दा नेपाली राज्य सिक्किमदेखि काश्मिरको सीमासम्म फैलिएको थियो । गोर्खाली फौज अमरसिंहको नेतृत्वमा कुमाउ, सिमौरागढ र गढवालसम्म पुगिसकेको थियो, जुन इष्ट इण्डिया कम्पनीलाई मन परेको थिएन । फलस्वरूप सन् १ नोभेम्बर १८१४ मा फ्रान्सिस राडोन–हस्टिंगले नेपालसँग युद्ध घोषणा गर्‍यो।

खासै ब्रिटिसको योजना नेपाललाई आक्रमण गर्ने थिएन तर नेपालले कब्जा गरेको भू–भाग फिर्ता लिनै पर्ने भयो । यसो नगर्दा गोर्खाली फौज अझ आक्रामक भएर अघि बढ्न सक्थ्यो । दोस्रो, इष्ट इण्डिया कम्पनीलाई नेपाल भएर चीनसम्म जाने ब्यापारिक बाटो खुला गर्नु थियो । यसकारण इन्डो–नेपाल युद्ध (सन् १८१४–१६) भयो । अत्याधिक संख्या र अत्याधुनिक हातहतियार भएको इष्ट इण्डिया कम्पनीसँग गोर्खाली फौज निकै कमजोर भएता पनि गोर्खाली फौजले बहादुरीका साथ लडे । यसै समयको नालापानीको युद्धमा गोर्खाली फौजले मात्र होइन; नेपाली महिला र केटाकेटीले समेत साहसका साथ युद्ध लडेको इतिहास छ ।

त्यसबेला गोर्खालीहरूको बहादुरी, निडर र साहस देखेर ब्रिटिस कमाण्डरहरू अति प्रभावित भएका थिए । यहाँसम्म कि एक जना कमाण्डर अक्टोर्लोनीले लडाई नसक्दै झण्डै ५,००० जति गोर्खालीहरूलाई आफ्नो सेनामा गाभी सकेको इतिहासमा पढ्न पाईन्छ । युद्धबिरामपश्चात सन् २ डिसेम्बर १८१५ मा नेपाल र ब्रिटिसबीच सुगौली सन्धि भएता पनि सन्धिको कार्यान्वयन तुरून्त भएको थिएन । अक्टोर्लोनीलाई सन्धिमै गोर्खा भर्तीको प्रावधान राख्न मन थियो । तर नेपालको शासक नमान्ने ठानेर त्यो प्राबधान राखिएन ।

सन्धि कार्यान्वयन भए लगत्तै बेलायतले काठमाडौंमा आफ्नो एक प्रतिनिधि राख्न थाल्यो, जुन बेलायतको वर्षौदेखिको अभिलाषा थियो । त्यसपछि नेपाली युवाहरूलाई औपचारिक रूपमा भर्ती गर्न थालियो । आन्तरिक र बाह्य शक्ति संघर्षमा कमजोर भएका राणाहरूलाई आफ्नो सत्ता जोगाउन ब्रिटिसका लागि ‘गोर्खाली’ फौज दिनु बाध्यता नै थियो । अहिले गोर्खा भर्ती एउटा परम्परा नै बनिसकेको छ; अनि भारत–नेपाल र बेलायत–नेपालको द्विपक्षीय सम्बन्धको आधार नै बनेको छ ।


सन्धि भएको २०५ बर्षपछि पनि गोर्खा ब्रिगेडको रूपमा अहिले भारतमा झण्डै ४०,००० र बेलायतको रेगुलर फौजमा झण्डै ३,५०० गोर्खालीहरू कार्यरत छन् ।

सन्धि भएको २०५ बर्षपछि पनि गोर्खा ब्रिगेडको रूपमा अहिले भारतमा झण्डै ४०,००० र बेलायतको रेगुलर फौजमा झण्डै ३,५०० गोर्खालीहरू कार्यरत छन् । त्यसबाहेक ब्रिटिसको ब्यबस्थापनमा सिंगापुरमा प्रहरी र ब्रुनाईमा रिजर्भ फौजको रूपमा केहि गोर्खालीहरूले सेवा गर्दै आएका छन् ।
यसरी ‘गोर्खाली’ र ‘खुकुरी’ शब्द बहादुरी, बफादारी र साहसीको पर्याबाची शब्द मात्र बनेको छैन; बरू अहिले यो एउटा ब्राण्ड नै बनेको छ । संसारको कुना–कुनामा होटेल ब्यबसायीदेखि पर्यटन ब्यबसायीहरू यहि नाममा ब्यबसाय चलाई राखेका छन् र अफगानिस्तानदेखि जम्मु कश्मिरसम्म र सुडानदेखि गल्वान भ्यालीसम्म दुष्मनलाई यहि नामले मुटु कपाई दिएको छ ।

(लेखक अन्तराष्ट्रिय सुरक्षामा पिचडी हुन् ।)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७