काष्ठमण्डप पुनर्निर्माण ९० प्रतिशत सकियो


२ चैत्र २०७७, सोमबार
punarnirman large

काठमाडौं २ चैत । काष्ठमण्डप पुनर्निर्माणको काम ९० प्रतिशत सकिएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको छ ।

निर्माणअन्तर्गत अहिले काठ, माटो र झिङ्गटीबाट छानो छाउने काम भइरहेको छ । निर्माणका लागि अहिले दैनिक ३५ कामदार नियमितरूपमा खटिइरहेका छन् । छानोमा प्रयोग भइरहेको माटो अरुभन्दा अलि विशेष किसिमको हुने हुँदा पानीले भिज्दा पनि असर नगर्ने किसिमको हुन्छ ।

पुनर्निर्माणको शुरुको समयमा निर्माणका लागि आवश्यक पर्ने काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पनि ढिला भएको थियो । अहिले समस्या नभएकाले सहजरूपमा काम भइरहेको छ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको काम तीन वर्षअघि शुरु गरिएको हो । काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार १० प्रतिशत बाँकी काम सकी आगामी वैशाखमा पुनर्निर्मित काष्ठमण्डप देख्न पाइन्छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । सातौँ शताब्दीको काष्ठमण्डप बाटनै नेपालको राजधानीको नाम काठमाडौँ रहन गहेको इतिहासमा उल्लेख छ ।

यस ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण समितिलाई चरणबद्धरूपमा आर्थिक सहयोग गरिसकेको छ । पुनर्निर्माणका लागि थोरै यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी आवश्यकतानुरूप चरण चरणमा ल्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७