नव प्रतिभाशाली खेलाडीमा यादव र भण्डारी पुरस्कृत


२ चैत्र २०७७, सोमबार
NanimaiyaKatwal Sapatari RSS 02 IMG20210314232312 scaled

सप्तरी, २ चैत । राजविराजमा आज भएको देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सप्तरीकी १६ वर्षीया सरिता यादव र कञ्चनपुरका १९ वर्षीय अशोकसिंह भण्डारीले नव प्रतिभाशाली खेलाडीका रुपमा पुरस्कार प्राप्त गरेका छन् ।

राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा महिलातर्फ यादव र पुरुषतर्फ भण्डारी आफ्नो तौल समूहमा स्वर्ण पदक प्राप्त गर्नाका साथै नव प्रतिभाशाली खेलाडी घोषित भएका हुन् । उनीहरुले स्वर्ण पदकवापत पदक र प्रमाणपत्र तथा नव प्रतिभाशाली खेलाडीवापत कप र रु पाँच हजार प्राप्त गरे ।

नव प्रतिभाशाली यादवले प्रतियोगिताको महिला ५९ केजी तौल समूहमा जुनियरतर्फ स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ६० किलो तौल उचालेर कूलमा ११० किलो भार वहन गरेका थिए । सो समूहमा स्न्याचतर्फ ४० र क्लिन एण्ड जर्कतर्फ ५० गरी कूलमा ९० किलो भार बहन गरी द्वितीय भएकी बर्दियाकी ललिता हेमरान युवातर्फ प्रथम भइन् ।

नव प्रतिभाशाली खेलाडी कञ्चनपुरका भण्डारीले पुरुषको ६७ किलो तौल समूहमा स्न्याचतर्फ ७६ किलो र क्लिन एण्ड जर्कमा १०२ गरी कूलमा १७८ किलो भार वहन गरे । सो समूहमा बाँकेका तुषार बुढा मगरले स्न्याचमा ६७ र क्लिन एण्ड जर्कमा ९० किलो गरी कूलमा १५७ किलो भार वहन गरेर रजत पदक प्राप्त गरे । पर्साका नीरजकुमार गुप्ता स्न्याचमा ७० र क्लिन एण्ड जर्कमा ८० गरी कूलमा १५० किलो उचालेर तृतीय भए । राजविराजमा भएको राष्ट्रिय प्रतियोगितामा विभागीय तीनै टोलीका साथ २० जिल्लाका ४७ महिला र ७३ पुरुष गरी १२० खेलाडी सहभागी छन् ।

यसअघि गए राति नेपाल पुलिस क्लबकी तारादेवी पुन र कञ्चनपुरका सुवास उपाध्याय राजविराजमा भएको देवसुन्दर यादव प्रथम स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रङगेष्ट खेलाडी घोषित भएका छन् । पुन महिला र उपाध्याय पुरुषतर्फ सो विधामा चुनिएका हुन् । दुवैले कपसहित रु पाँच हजार पुरस्कार पाए ।

राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता पुनले स्न्याचमा ६७ं किलो र क्लिन एण्ड जर्कमा ९० किलो तौल उचालिन् । सिनियर महिलातर्फ ८७ किलोग्राम तौल समूहमा कूल १५७ किलो तौल उचालेर प्रथम भएकी पुन प्रतियोगिताको स्ट्रङ वुमन समेत घोषित भएकी हुन् । कञ्चनपुरका उपाध्यायले स्न्याचमा ११४ं किलो र क्लिन एण्ड जर्कमा १३५ किलो गरी कूल २४९ किलो तौल उचाले । पुरुष सिनियरतर्फ १०९ किलो तौल समूहमा स्वर्ण पदक जितेका उपाध्याय पुरुषतर्फ स्ट्रङ म्यान घोषित भए ।

सो तौल समूहमा बाराका आसिफ हुसे स्न्याचमा १०७ र क्लीन एण्ड जर्कमा १२० गरी कूल २२७ किलो तौल उचालेर रजत पदक प्राप्त गरे । बर्दियाका रोशन बिसीले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १०५ गरी कूल १७५ किलो तौल उचालेर कास्य पदक प्राप्त गरे । पुरुष १०२ किलो तौल समूहमा नेपाल प्रहरीका सागर भण्डारी कूल २२२ किलो उचालेर प्रथम भए ।

सशस्त्र प्रहरी बलका रणबहादुर नगरकोटी कूल २१६ किलो उचालेर द्वितीय तथा नेपाली सेनाका विकास खड्का कूल २०५ किलो उचालेर तृतीय भए । पुरुष सिनियरतर्फ १०९ किलोमाथिको समूहमा नेपाल प्रहरीकै राजेश महर्जनले स्वर्ण प्राप्त गरे । उनले स्न्याचमा १०७ र क्लिन एण्ड जर्कमा ११५ गरी कूल २२२ किलो तौल उचाले । राजविराजमा भएको राष्ट्रिय प्रतियोगितामा विभागीय तीनै टोलीका साथ २० जिल्लाका ४७ महिलासहित १२० खेलाडी सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७