विद्यालयमा असुरक्षा भए सिकाइ प्रभावित हुने


३ चैत्र २०७७, मंगलवार
ed

गण्डकी, ३ चैत । विद्यालयमा बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, विपद् जोखिम, बन्द हड्ताल, परम्परागत कुरीति, सामाजिक विभेद जस्ता घटनाका कारण विद्यार्थीमा बीचैमा कक्षा छाड्ने समस्या कायम रहेको पाइएको छ ।

भोलिन्टर सर्भिज ओभर्सिज (भिएसओ) नेपाल र आसमान नेपालका सहयोगमा शिक्षा पत्रकार समाजले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय नीतिगत बहस कार्यक्रममा गण्डकी प्रदेशसभासद्, पालिका र शैक्षिक निकायका प्रतिनिधि तथा शिक्षा क्षेत्रका सरोकार भएका सहभागी कार्यक्रममा विद्यालयमा भौतिक पूर्वाधार, शैक्षिक सामग्री, मनोसामाजिक वातावरणलगायत पक्षमा पर्याप्तता हुनुपर्नेमा जोड दिइएको छ ।

उनीहरुले गुणस्तरीय शिक्षाको राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतिबद्धता तथा संविधानको मौलिक हकको कार्यान्वयनका लागि विद्यालयमा सुरक्षित सिकाइको वातावरण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशसभा, विधायन समितिका सभापति मोहन रेग्मीले शिक्षा क्षेत्रमा प्रदेशसभा र सरकारबाट तर्जुमा गरिएका नीति कार्यान्वयनका क्रममा रहेको जनाउँदै सुरक्षित विद्यालयको वातावरण आफूहरुको पनि उत्तिकै चासोको विषय भएको बताए । उनले विज्ञको अध्ययनबाट प्राप्त सुझावलाई नीति र अभ्यासका क्रममा कार्यान्वयनका लागि आफूहरु तत्पर रहेको स्पष्ट गरे ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले गैरसरकारी संस्थालाई समुदाय र विद्यायस्तरका वास्तविक समस्याको पहिचान गरी सहयोग गर्न आग्रह गर्दै कतिपय केन्द्रीय नीतिमा रहेका असावधानीका कारण गरीब र धनी विद्यार्थीको पहिचानमा अन्योल देखिएको टिप्पणी गरे ।

प्रदेश, सामाजिक विकास मन्त्रालयका सहसचिव तोयानाथ लम्सालले विद्यालयस्तरको शिक्षाको सञ्चालनको कार्यक्षेत्र स्थानीय तह भएकाले स्थानीय सरकारलाई क्षमतावृद्धि अनुगमनका लागि प्रभावकारी बनाउँदै शैक्षिक नीतिको कार्यान्वयन गरिएको जनाए ।

प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक तिलक सिलवालले सामाजिक क्षेत्र र सञ्चार जगत्ले शैक्षिक समस्यालाई उत्तेजनात्मकरुपमा उठाउने मात्र नभई समाधानमूलकरुपमा पनि सम्बोधन गराउनुपर्ने बताउए । नेपाल शिक्षक महासङ्घका केन्द्रीय प्रतिनिधि लोचना अधिकारीले शिक्षा पत्रकारले शिक्षकका सकारात्मक योगदानलाई पनि बाहिर ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा भिएसओ नेपालका देशीय निर्देशक जयशङ्कर लालले ‘सेभ टु लर्न’ परियोजनाले विभिन्न प्रदेश र जिल्लामा सुरक्षित विद्यालयका लागि हासिल गरिएका अनुभव अन्य स्थानका लागि पनि प्रयोगमूलक हुने बताए ।

भिएसओ नेपालका कार्यक्रम व्यवस्थापक सुशीलबाबु खनाल, शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल, आसमान नेपालका कार्यक्रम व्यवस्थापक शेखर सापकोटा र विश्वनाथ घिमिरे, पत्रकार प्रकाश ढकाललगायतले गुणस्तरीय र सुरक्षित सिकाइका लागि सम्बन्धित पक्षको हातेमालो आवश्यक रहेकामा जोड दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७