नमूना आवासीय मावि प्रदेश ४ कै उत्कृष्ट विद्यालय


९ फाल्गुन २०७४, बुधबार
नमूना आवासीय मावि

फलेवास, पर्वत, ९ फागुन : कुस्माबजारमा सञ्चालित नमूना आवासीय मावि प्रदेश नं ४ कै उत्कृष्ट विद्यालय घोषित भएको छ ।नमूना आवासीय मावि

शिक्षा मन्त्रालयले गरेको मूल्यांकनमा उत्कृष्ट घोषित नमूना आवासीय माविले रु एक लाख पुरस्कारसमेत जितेको छ । विद्यालय राष्ट्रियस्तरमा दोस्रो हुन सफल भएको छ । “शिक्षा मन्त्रालयको मूल्यांकनका आधारमा हामी प्रदेशमा उत्कृष्ट विद्यालय हुन सफल भएका छौँ,” प्रिन्सिपल इन्द्रमान खत्रीले पत्रकार सम्मेलनमा भने, “यसले विद्यालयलाई अझै उत्कृष्ट बनाउने चुनौती थपिएको छ ।”

मन्त्रालयले गरेको मूल्यांकनमा नमूनाले ८६ दशमलव ९९ अंक ल्याएको छ । मन्त्रालयले तीन शैक्षिक सत्रमा विद्यालयमा विद्यार्थी भर्नादर, उत्तीर्ण दर र विद्यालय छाड्ने दर तथा प्रवेशिका परीक्षामा कम्तीमा ४० विद्यार्थी उत्तीर्ण भएको लगायत मापदण्डका आधारमा मूल्यांकन गर्दै आएको छ ।

नमूना आवासीय मावि २०४५ मा डिमुवाबजारमा स्थापना भएको थियो । विद्यालयलाई सशस्त्र द्वन्द्वका समयमा विस्थापित गरिएपछि सदरमुकाम कुस्मामा सञ्चालन हुँदै आएको छ । विद्यालय २०५६ देखि प्रवेशिका परीक्षामा सामेल भएको छ । विद्यालयबाट अहिलेसम्म ५१३ विद्यार्थी प्रवेशिका परीक्षामा सामेल भएकामा सबै विशिष्ट र प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए ।

विद्यालयबाट उत्पादित जनशक्तिमध्ये पाँच जनाले विद्यावारिधि, १५ एमबिबिएस, ३४ इञ्निीयर र ११ चार्टर्ड एकाउन्टेन्ट भएकाले विद्यालयको शैक्षिक अवस्थासमेत झल्कने व्यवस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माले बताए। “हामीले विद्यालयमा घोकन्ते शिक्षाभन्दा व्यावहारिक शिक्षामा जोड दिएका छौँ”, उनले भने, “कक्षा ११ र १२ मा व्यवस्थापन पढ्ने विद्यार्थीले पनि प्रयोगात्मक शिक्षा पाएका कारण प्रदेशमै उत्कृष्ट उच्च मावि पनि बनेका छाँै ।” विद्यालयकै पहलमा नमूना व्यावसायिक कृषि सहकारीसमेत सञ्चालित छ ।

स्नातकोत्तर तयारी
छब्बीस वर्षअघि स्थापित कुश्मामा रहेको गुप्तेश्वर बहुुमुखी क्याम्पसले जिल्लामै पहिलो पटक स्नातकोत्तरको पढाइ शुरु गर्न लागेको छ ।

जिल्लामा एक दर्जनभन्दा बढी पब्लिक क्याम्पस भए पनि अहिलेसम्म स्नातक तहसम्म मात्र कक्षा सञ्चालन हुँदै आएको छ । धवलागिरि अञ्चलमै बागलुङमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा बाहेक अन्य कुनै पनि जिल्लामा स्नातकोत्तर सञ्चालन हुन नसकेको बेला क्याम्पसले सबैजसो तयारी गरेको क्याम्पस प्रमुख सुभाष पन्तले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७