दलको बैठकमा अनुपस्थित सांसदलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

नेपाल–खनाललाई पनि राखेर संसदीय बोर्ड गठन


६ चैत्र २०७७, शुक्रबार
kp oli 2 scaled

काठमाडौं, ६ चैत । प्रधानमन्त्री केपी ओलीले एमालेले संसदीय दलको बैठकमा अनुपस्थित हुने सांसदलाई कारबाही गर्ने चेतावनी दोहोर्‍याएका छन् । नेताहरू झलनाथ खनाल–माधव नेपाल पक्षले संसदीय दलको बैठक बहिष्कार गरेको थियो ।

खनाल–नेपाल समूहले बुधबार र बिहीबार छुट्टै राष्ट्रिय कार्यकर्ता भेला गरेको छ । भेलामा सहभागी भएर दलको बैठकमा अनुपस्थित सांसदलाई आत्मालोचना गर्दै पार्टी काममा सहभागी हुन बैठकले निर्देशन दिएको छ । गुटगत भेला नगर्न र पार्टी बाहेकको निर्देशन नमान्न पनि बैठकले निर्देशन दिएको एक सांसदले बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले दलको बैठक छाडेर गुटको भेलामा सहभागी हुने सांसदलाई कारबाही गर्ने संकेत गरेका थिए । पार्टीको महत्वपूर्ण बैठकमा नआउने सांसदलाई पार्टी विधान र कानुनबमोजिम गर्ने उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीले ठाडो शब्दमा कारबाही गर्छु नै त भन्नुभएन, तर बैठकमा नआउनेका लागि पनि कानुनी उपाय छ भन्नुभयो,’ बैठकमा सहभागी ओली पक्षकी सांसद रेखाकुमारी झाले भनिन्, ‘एकातिर पार्टीको सांसद हुँ भन्ने अर्काेतिर अध्यक्षले बोलाउँदा पनि दलको यस्तो महत्वपूर्ण बैठकमा उपस्थित नहुने भन्दै त्यस्ता सांसदलाई कानुनबमोजिम स्पष्टीकरण सोधिने प्रधानमन्त्रीले बताउनु भयो ।’

अर्का एक सांसदका अनुसार नेपाल–खनाल पक्ष जुन ढंगले अघि बढ्छन् त्यहीअनुसार स्टेप चाल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘उहाँहरू (नेपाल–खनाल पक्ष) अझै कति अगाडिसम्म जानुहुन्छ क्रियाकलाप हेर्दै जाऊँ, त्यहीअनुसार स्टेप चालिन्छ भन्ने प्रधानमन्त्रीको कुरा थियो,’ ती सांसदले भने ।

गत बुधबार प्रधानमन्त्री ओलीले बालुवाटारमै गरेको चियापान समारोह पनि नेपाल–खनाल पक्षले बहिष्कार गरेको थियो । त्यस दिन पनि उनले पार्टी एकताविरोधी क्रियाकलापमा अब छुट नहुने बताउँदै नेपाल–खनाल समूहलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

दलको बैठकमा प्रधानमन्त्री ओली, प्रमुख सचेतक विशाल भट्टराई र खगराज अधिकारीले मात्रै बोलेका थिए । थोरै बोलेका अधिकारीले पार्टीभित्र सबैले नियम–कानुनको परिधिभित्र रहेर अघि बढ्नुपर्ने बताएका थिए । प्रमुख सचेतक भट्टराईले दलको विधान संशोधनको आवश्यकताबारे बोलेका थिए ।

बैठकले विधान संशोधनका लागि भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेको समिति बनाएको छ । समितिले ७ चैतमा बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्ताव पेस गर्नेछ । यसअघिको दलको विधानमा राष्ट्रिय सभाबारे व्यवस्था नभएकाले संशोधन गरेर त्यसबारे पनि व्यवस्था गरिने प्रधानमन्त्री ओलीले बताएका थिए । बैठकमा प्रधानमन्त्री ओली १५ मिनेट जति मात्रै बोलेका थिए । बैठक पनि लामो बसेन ।

‘हाम्रो पार्टी एकीकरणपश्चात् अर्कै विधानबाट चलिरहेको थियो, अब एमाले ब्युँतिसकेको अवस्थामा समयअनुसार संसदीय दलको विधान संशोधन गर्न समिति बनेको हो,’ समिति सदस्य तामाङले भने । बैठकमा कति सांसद उपस्थित थिए भन्ने सार्वजनिक गरिएको छैन ।

दलको बैठकका लागि सबै सांसदहरूलाई मोबाइलमा म्यासेज गरेर खबर गरिएको थियो । तर, नेपाल–खनाल पक्ष राष्ट्रिय कार्यकर्ता भेलामा थियो । बिहान १० बजे भेलास्थल सानेपाको होटेल हेरिटेजमा यो समूहका सांसदहरूको बैठक बसेको थियो । त्यसलगत्तै गणेश पहाडीलगायत सांसदहरू दलको बैठकमा सहभागी हुन बालुवाटारका लागि हिँडेका थिए । तर, पछि उनीहरूलाई बाटोबाटै फर्काइएको थियो । ‘बैठक बसेर हामी दलको बैठकमा उपस्थित हुन हिँडेका थियौँ, सिंहदरबार वरिपरि पुगेपछि फेरि नजाने भन्ने खबर आएपछि बाटोबाटै फर्कियौँ,’ पहाडीले भने ।

नेपाल–खनालसहितको संसदीय बोर्ड गठन
केहीबेर आफ्ना कुरा राखेपछि प्रधानमन्त्री ओलीले संसदीय बोर्ड गठनका लागि त्यसमा रहने सदस्यहरूको नाम पढेर सुनाएका थिए । बोर्ड गठन भएपछि कामको विभाजन हुने र काम गर्न पनि सजिलो हुने उनको भनाइ थियो ।

बैठकले संसदीय दलका नेता ओलीको संयोजकत्वमा २४ सदस्यीय बोर्ड गठन छ । त्यसमा वरिष्ठ नेताहरू नेपाल र खनाललाई पनि राखिएको छ । तीन सदस्य पछि मनोनीत गरेर बोर्ड २७ सदस्यीय बनाइने सांसद तामाङले बताए ।

बोर्डमा झलनाथ खनाल, माधवकुमार नेपाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारदमुनी राना, मोहन बानियाँ, भूपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र विमला विक सदस्य रहेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७