दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति मागे उपलब्ध गराउनुपर्ने उच्च अदालतको ठहर


१० चैत्र २०७७, मंगलवार
durgaprasad timsina

झापा, १० चैत । अपराध प्रमाणित नभईकनै ४१ वर्ष भारतीय जेलमा कैद भोगेका इलामको माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाका लागि न्यायको सुरुवात भएको छ । कोलकातास्थित उच्च अदालतले दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति मागे उपलब्ध गराउनुपर्ने ठहर गरेको छ ।

उच्च अदालत कोलकाताका मुख्य न्यायाधीश थोट्टाथिल बी राधाकृष्ण र न्यायाधीश अनिरुद्ध रोयको इजलासले सोमबार दुर्गाप्रसादको परिवारलाई कानुनअनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारको नाममा आदेश गरेको छ । यद्यपि, कति क्षतिपूर्ति दिने भन्ने खुलाएको छैन । अदालतको आदेशअनुसार अब तिम्सिना परिवारले पश्चिम बंगाल सरकारसँग क्षतिपूर्ति दाबी गर्नुपर्नेछ ।

‘दीपक जोशी (दुर्गाप्रसाद) र उनको परिवार आर्थिक रूपमा सीमान्तकृत छ । उनको थुनाले परिवारमाथि थप सामाजिक चुनौती पुर्‍याएको पनि थाहा हुन आएको छ । कुनै कानुनी सुनुवाइविना र अन्य कानुनी प्रक्रिया अवलम्बन नगरी दीपक जोशीलाई ४१ वर्ष थुनामा राखियो,’ उच्च अदालतको आदेशमा भनिएको छ, ‘यसले गर्दा उनको सम्बन्धमा क्षतिपूर्ति वा क्षतिसम्बन्धी आदेश दिनुपर्ने देखिन्छ, जुन राज्यले भर्नुपर्नेछ । क्षतिपूर्तिसम्बन्धी फैसला दिनुपर्ने विषयमा ध्यान दिनु उपयुक्त हुन्छ भन्ने हाम्रो राय छ ।’

यस विषयमा राज्य सरकारलाई पनि सूचित गर्ने अदालतले बताएको छ । ‘हामी यो विषय राज्यको महान्यायाधिवक्तालाई पनि सूचित गराउँछौँ, ता कि न्यायाधिवक्ताबाट यस सम्बन्धमा उपयुक्त कदम चाल्न सकियोस् । राज्य सरकारले यसलाई शीघ्र र व्यावहारिक रूपमा हेर्नेछ भन्नेमा हामी निश्चित छौँ,’ आदेशमा भनिएको छ ।

१९ वर्षको उमेरमा रोजगारीका लागि दार्जिलिङ पुगेका दुर्गाप्रसादलाई ४१ वर्ष जेलमा राखिएको थियो । दार्जिलिङका नैन घलेले आफ्नो पत्नीको हत्या गरेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । त्यसकै आधारमा उनलाई सुनुवाइसमेत नगरी जेलमा राखिएको थियो । कोलकाता उच्च अदालतको आदेशमा शनिबार रिहा भएका दुर्गाप्रसाद आइतबार मात्रै घर फर्किएका छन् ।

दुर्गाप्रसादको परिवार आर्थिक संकटमा छ । घरमा ८५ वर्षीया वृद्धा आमा धनमाया छिन् । ६० वर्षका भए पनि दुर्गाप्रसादको ‘आइक्यु लेबल’ नौ वर्षका बालकको जस्तो छ । भाइ धर्मानन्द मुटुका बिरामी छन् । उनको उपचार गर्दा परिवारलाई सात लाख ऋण लागेको छ । बहिनी पविमाया पनि स्नायुसम्बन्धी रोगले पीडित छिन् ।

अदालतको पछिल्लो आदेशले दुर्गाप्रसादको परिवारमा खुसी थपिएको छ । अघिल्लो आदेशले उनलाई रिहा गरे पनि क्षतिपूर्तिबारे मौन थियो । ‘दुर्गाप्रसादले यति लामो समयसम्म अनाहक जेल बसेकोमा अब क्षतिपूर्ति पाउने छन् । त्यसका लागि उसको परिवारले पश्चिम बंगाल सरकारसँग दाबी गर्नुपर्नेछ,’ कोलकाताबाट दुर्गाप्रसादका वकिल हीरक सिन्हाले टेलिफोनमा भने ।

दुर्गाप्रसादको मुद्दाका लागि भारतीय अधिवक्ताहरूले सहयोग गरेका छन् । अभिवक्ता सिन्हा, प्रदीप मण्डल, मलाय भट्टाचार्य, शुभ्रज्योति घोषले निःशुल्क बहस गरिदिएका थिए । सिन्हा दुर्गाप्रसादको परिवारलाई खोज्न सहयोग गर्ने वेस्ट बंगाल रेडियो क्लबका उपाध्यक्ष पनि हुन् । यो रेडियोले दुर्गाप्रसादलाई विनासुनुवाइ ४१ वर्षसम्म जेलमा राखिएको समाचार ब्रेकिङ मात्र गरेन, परिवार नै खोज्न पनि सहयोग गर्‍यो ।

दुर्गाप्रसादसँगै जेल बसेका भारतीय राजबन्दी राधेश्याम दासले उनको अवस्थाबारे रेडियो क्लबलाई जानकारी दिएका थिए । सिन्हाले गत नोभेम्बरमा दमदम जेलमा पुगेर पहिलो पटक दुर्गाप्रसादलाई भेटेका थिए । दुर्गाप्रसादले त्यहीवेला आमा, बुबा र विद्यालयको नाम लेखेपछि परिवार भेटिएको थियो ।

क्षतिपूर्तिको पहल गरिदिन सरकारसँग अनुरोध
क्षतिपूर्तिसम्बन्धी अदालतले गरेको पछिल्लो आदेशबाट दुर्गाप्रसादको परिवारमा खुसी छाएको छ । भाइ प्रकाशचन्द्र (काकाका छोरा) ले क्षतिपूर्ति दाबीका लागि सहयोग गर्न सरकारसँग आग्रह गरेका छन् ।

‘अब क्षतिपूर्तिका लागि राज्यले सहयोग गरोस् । नागरिकको जीउधनको रक्षा गर्ने अभिभावकत्व जिम्मेवारी राज्यको हो,’ प्रकाशचन्द्रले भने, ‘मुद्दा नै लड्नुपरे पनि अब राज्यले लडिदिओस् । किनकी मुद्दा लड्न हाम्रो सामथ्र्यले पुग्दैन ।’ अदालतको आदेशले परिवारलाई थप खुसी बनाएको उनले बताए ।

कोलकातास्थित महावाणिज्यदूत ईश्वरराज पौडेलले क्षतिपूर्तिका लागि सक्दो सबै सहयोग गर्ने बताए । नेपालमा रहेका उनले कोलकाता फर्कनासाथ क्षतिपूर्तिका लागि पहल थाल्ने बताए । ‘सर्वोच्च अदालत जानुपर्‍यो भने हाम्रो कार्यक्षेत्र पर्दैन,’ उनले भने, ‘तर, दूतावाससँग समन्वय गर्ने काम म गर्छु ।’

दुर्गाप्रसाद कोलकाता जेलमा रहेको थाहा पाएदेखि प्रकाशचन्द्र उनको रिहाइका लागि सुरुदेखि नै सक्रिय छन् । उनी दुई पटक कोलकाता पुगे । पहिलो पटक दमदम जेलमा पुगेर दुर्गाप्रसादको पहिचान गरे । लगत्तै रिहाइका लागि उच्च अदालतमा निवेदन दिए । उनको निवेदनकै आधारमा गत बुधबार अदालतले दुर्गाप्रसादलाई दिमागी हालत ठीक नभएको भन्दै रिहा गर्न आदेश दिएको थियो । चन्द्रप्रकाश शुक्रबार दोस्रो पटक कोलकाता पुगेर दाइलाई लिएका आएका हुन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७