पार्टी फुटाउँदैनौं, मैदान पनि छाड्दैनौं : वरिष्ठ नेता नेपाल

‘जबजसँग कहिल्यै भेट नभएका ओलीले जबजको हिमायती आफू भन्दै भ्रम छरिरहेका छन्’


१० चैत्र २०७७, मंगलवार
madhav nepal.

काठमाडौं, १० चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबाट अलिकति पनि विचलित नरहेको बताएका छन् ।

आफू निकट अनेरास्ववियुको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्वोधन गर्दै नेता खनालले अध्यक्ष केपी ओलीसँगको लडाइँमा मैदान पनि नछोड्ने र पार्टी पनि नफुटाउने बताएका छन् । उनले आफू पार्टीमा विकसित पछिल्लो अवस्थाबाट अलिकति पनि विचलित नभएको भन्दै नेता कार्यकर्तालाई पनि उच्च मनोबलका साथ आफ्नो कार्यक्षेत्रमा खटिन आग्रह गरेका छन् ।

नेता नेपालले कुनै पनि काममा सफलता पाउन इमान्दारीता र समपर्णभाव आवश्यक रहेको भन्दै आफू त्यसको पक्षमा रहे पनि अध्यक्ष ओली त्यसविपरीत हिँडेको र कम्युनिष्ट आन्दोलनलाई विसर्जन र विघटनको दिशामा लगिरहेका बताए । नेता नेपालले ओली हिटलरको नेपाली अवतार भएको पनि बताएका छन् ।

‘केपी ओलीको भ्रमबाट मुक्त हुनुपर्छ । उनी कम्युनिष्ट आन्दोलनलाई विसर्जन र विघटनतर्फ लाँदैछन् । तर हामी पार्टी फुटाउँदैनौं, मैदान पनि छोड्दैनौ । पार्टी फुटाउने केपी ओली हुन्’, नेपालले भने ।

तर ओलीले ‘असली एमाले हामी हौं’, ‘जबजको हिमायती हामी हौं’ भन्ने भ्रम छरेको उनले बताए । जबज र केपी ओलीको कहिल्यै भेट नभएको भन्दै उनले भने, ‘जबज भनेको बहुमतको निर्णय मान्नु हो । तर उहाँले आफ्नो बहुमत नभएको केन्द्रीय कमिटीका सदस्यलाई सडक छाप भन्नु भयो ।’ अहिले अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा आसेपासे र दासहरुलाई मात्र राखेको र उनीहरुमा गलत कुराको आलोचना गर्ने हिम्मत नभएको नेता नेपालले बताए ।

उनले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले विद्यार्थीहरुलाई पढ्नु हुँदैन भनेर सिकाउने गरेको पनि बताए । उनले आफ्नो पक्ष र केपी ओलीबीच खराव र असल छुट्याउन आग्रह गरे । उनले केपी ओलीले खराव कुरा मात्र सिकाउने गरेको भन्दै आफूहरुले असल कुरा सिकाउने गरेको बताए ।

‘कमजोरी हटाउन नसक्नेले राम्रो कुरा ग्रहण गर्न सक्दैन । हामी र केपी ओलीबीच फरक यही छ । केपी ओलीले विद्यार्थीले पढ्नु हुँदैन । हामी पढ्नुपर्छ भनेर सिकाउँछौँ । मिहिनेतका साथ अध्ययन गर्नेलाई हौसला पनि प्रदान गर्छौ’, नेता नेपालले भने, ‘ फरक भनेकै यही हो ।’

नेता नेपालले नेपालको राजनीतिमा पूर्वराजा ज्ञानेन्द्र राजादेखि गिरिजाप्रसाद कोइरालासँग समेत आफूले राजनीतिक सहमति गरेको फेहरिस्त सुनाउनै बाँकी रहेको बताए । उनले बाधा पन्छाउँदै नदी अघि बढे जसरी आफू अघि बढ्ने भन्दै आफू पछिल्लो अवस्थाबाट कुनै हालतमा विचलित नभएको बताए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७