पठाओ राइडरलाई कम्पनीको ज्याकेट र ट्राउजर प्रतिबन्ध


११ चैत्र २०७७, बुधबार
pathao riders nepal

काठमाडौं, १० चैत । पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन प्रतिबन्ध लगाएको छ ।
सोमबार बेलुकी काठमाडौंको नयाँ बसपार्कमा ट्याक्सी चालकको एक समूहले पठाओ चालकमाथि निर्घात कुटपिट गरेपछि प्रोटेक्टिभ गेयर लगाउन प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफलमा अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन प्रोटेक्टिभ गेयर नलगाउन निर्देशन दिइएको पठाओका क्षेत्रिय निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए ।
राइडर र पठाओ यात्रीहरुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समझादरीमा यस्तो निर्णय भएको पठाओ नेपालले जनाएको छ ।

आफ्ना राइडरमाथि कुटपिट भएपछि ज्याकेट लगाउन रोक लगाइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पठाओको लोगो वा ब्राण्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न सम्पूर्ण राइडरलाई कम्पनीले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

राइड भने निर्वाध सञ्चालन हुने कम्पनीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताएका छन् । ज्याकेट लगाएको खण्डमा प्रशासनबाट कारबाही भएमा त्यसमा कम्पनी जिम्मेवार नहुने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि बुधबारबाट लागु हुने गरि पठाओसँगको सहमतिमै प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारी जानकारी दिए ।

सोमबार बेलुकी काठमाडौंको नयाँ बसपार्कमा आफूले भन्दा सस्तो भाडामा यात्रु चढाएको भन्दै ट्याक्सी चालकहरुले पठाओ राइडरमाथि आक्रमण गरेको थियो । सस्तो सेवा दिएकाले लोकप्रिय बनेको पठाओमा हाल ७० हजार राइडर आवद्ध छन् । राइडर धेरै भएपछि उपत्यकाका हरेक चोकमा देखिने राइडरका कारण चर्को रकम असुलिरहेका ट्याक्सी व्यवसायी भने शुरु देखिनै आक्रोशित हुदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७