धुम्बाराहीबाट एमाले पार्टी कार्यालय थापाथली सर्ने


१२ चैत्र २०७७, बिहीबार
amale headquater

काठमाडौं, १२ चैत । एमालेको धुम्बाराहीस्थित पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठान भवनमा रहेको पार्टी कार्यालय थापाथली सर्ने भएको छ । सर्न लागेको भवनको अध्यक्ष केपी ओलीलगायत पदाधिकारीले बुधबार निरीक्षण गरेका छन् ।

धुम्बाराहीको कार्यालय थापाथली सार्ने निर्णय भएको सांसद तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताए । दुगडका अनुसार अहिलेसम्म उक्त भवनको भाडा कति हुने भन्नेबारेमा कुनै सहमति भइसकेको छैन । यद्यपि, पाँच वर्षसम्मको सम्झौता भएको उनले जानकारी दिए । अब कार्यालय सर्न लागेको उक्त भवन दुगडका आफन्त सञ्जय अग्रवालको हो ।

‘मेरै आफन्तको घर हो । भाडा कति दिने भन्ने निश्चित भइसकेको छैन । तर, उहाँले पार्टीले दिने पैसा लिन्छु भन्नु भएको छ । पाँच वर्षका लागि सम्झौता भएको छ । १ वैशाखदेखि कार्यालय सर्ने तयारी भइरहेको छ,’ दुगडले भने ।

एमालेको अहिले सर्ने साढे दुई तलाको भवनमा १३ वटा कोठा छन् भने २५ वटासम्म चारपांग्रे गाडी पार्किङ गर्न मिल्ने ठाउँ छ । धुम्बाराहीस्थित पार्टी कार्यालय रहेको ठाउँनजिक चक्रपथको सडक विस्तार हुने भएपछि आवतजावतमा अप्ठेरो नहोस् भन्नका लागि कार्यालय सार्न लागिएको एमाले पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

‘चक्रपथ विस्तार भएपछि कार्यक्रम हुँदा बाहिरपट्टि पार्किङ गर्ने ठाउँ रहँदैन । भित्र दुई–तीन वटाभन्दा बढी गाडी अट्दैनन् । धेरै नै साँघुरो हुने अवस्था आउँछ । त्यसैले सर्न खोजेका हौं,’ रिजालले भने । उनले धुम्बाराहीको भवन पनि अस्थायी रूपमा प्रयोग गरेको र अबको भवन समेत अस्थायी प्रयोजनका लागि नै भाडामा लिन लागेको बताए । रिजालका अनुसार करिब चार रोपनी क्षेत्रफलमा बनेको भवनमा बल्खुको पार्टी कार्यालय निर्माण नहुन्जेलसम्म कार्यालय रहनेछ ।

करिब पाँच वर्षअघि बल्खुस्थित मदननगरमा रहेको पार्टी कार्यालय भूकम्पका कारण भत्किएपछि अस्थायी प्रयोजनका लागि धुम्बाराहीस्थित पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठान भवनमा सारिएको थियो । बल्खुमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले आगामी ९ वैशाखमा नयाँ भवनको शिलान्यास गर्ने घोषणा गरेका छन् ।

पार्टीभित्र विवाद चर्किएका वेला ओली पक्षले कार्यालय सार्ने र बल्खुमा भवन निर्माण गर्ने निर्णय गरेको छ । गत ५ पुसको संसद् विघटनको घटनापछि एमालेभित्र जारी विवाद पार्टी विभाजनको संघारमा पुगेको छ । ओली पक्षले एकलौटी निर्णय गर्दै माधव नेपाललगायत नेतालाई स्पष्टीकरण सोधेको छ ।

खनाल–नेपाल पक्षले पनि २८ फागुनपछि ओली पक्षले गरेका सबै निर्णय खारेज हुनुपर्ने भन्दै देशभर समानान्तर गतिविधि जारी राखेको छ । यद्यपि, ओली पक्षले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेला र सम्मेलन गर्दै आएको छ भने खनाल–नेपाल पक्षले होटेल र सार्वजनिक स्थानमा आफूपक्षीय भेला र कार्यक्रम गर्दै आएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७