कोरोना संक्रमण बढ्न थालेपछि शिक्षा मन्त्रालयले दियो विद्यालयको सञ्चालनको नयाँ निर्देशन


१२ चैत्र २०७७, बिहीबार
education ministry 1

काठमाडौं, १२ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बिहीबारको बैठकले शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको हो ।

बैठकमा कोरोना संक्रमणबाट हुने जोखिमबारे शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्न सक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
बैठकले सबै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

‘सबै प्रकारका शिक्षण संस्थाहरुले स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्ण रूपमा पालन गर्न, शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन–पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन अनुरोध गरिन्छ’, मन्त्रालयका प्रवक्ता दिपक शर्माद्वार जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै सभा, समारोह र वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरु तत्कालका लागि नगर्न र नगराउन समेत अनुरोध गरिएको छ ।

विज्ञप्ती

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७