भारतबाट फर्केका २४ जनामा कोरोना


१३ चैत्र २०७७, शुक्रबार
Coronavirus LmQTrMoANB
Cut out microscopic close-up of the coronavirus covid-19 disease

काठमाडौं, १३ चैत । भारतका विभिन्न सहरबाट स्वदेश फर्किएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बिहीबार साँझसम्म ती व्यक्तिमा संक्रमण पुष्टि भएको बताए ।

‘एन्टिजेन परीक्षण गर्दा २४ जनामा कोरोना पोजिटिभ देखिएको छ’, निर्देशक डा. पौडेलले भने । उनीहरूमा देखिएको भाइरसको प्रकारबारे अध्ययन गरिने डा. पौडेलले बताए । ‘संक्रमितको नमुना संकलन गर्छौं । नमुनाको र्‍यान्डमलाई जिन सिक्वेन्सिङ पनि गर्छौं । भारतमा देखिएको डबल म्युटेन्ट (दोहोरो उत्परिवर्तन ) भएको भाइरस हो–होइन परीक्षणबाट पत्ता लाग्छ’, उनले भने ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सँग सहकार्य गरी जनशक्ति एवं प्राविधिक पक्ष मिलाइएको छ । आवश्यक परे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्रयोगशालामा पनि पठाइने डा. पौडेलले बताए ।

कञ्चनपुरको गड्डाचौकी, गौरिफन्टा र बाँकेको जमुनाह नाकाबाट भित्रिएका नेपालीमा कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । संक्रमितमध्ये अधिकांश गौरिफन्टा नाकाबाट प्रवेश गरेका नेपाली हुन्। उनीहरू भारतका गुजरात, दिल्ली, चेन्नई, मुम्बईबाट फर्केका हुन् ।

संक्रमणको उच्च जोखिम भएका भारतीय क्षेत्रबाट रोजगारी गरेर फर्किएका व्यक्तिको सीमा नाकामा एन्टिजेन परीक्षण गरिएको डा. पौडेलले बताए । ‘सीमावर्ती जिल्लाहरूमा विशेष सतर्कता अपनाइएको छ । भारतबाट स्वदेश फर्कनेको अभिलेखीकरण र स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ’, उनले भने, ‘घर फर्केका व्यक्तिलाई ५ देखि १० वटा मास्क वितरण भइरहेको छ ।’

बिहीबार थप १ सय २० जना कोरोना संक्रमित थपिएका छन् । २ हजार ८ सय ९१ स्वाब परीक्षण गरिएको थियो । योसहित संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टामा ८५जना संक्रमणमुक्त भएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७