मासु र दूधमा आत्मनिर्भर घोषणा : तर खसीको मासु ५० प्रतिशत र दूध १५ प्रतिशत आयात


१३ चैत्र २०७७, शुक्रबार
kp oli 6

काठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अन्डा र मासुमा आत्मनिर्भर भएको तथा दूधमा आत्मनिर्भरउन्मुख रहेको घोषणा गरेका छन् ।

तर, अन्डा र कुखुराको मासुमा मुलुक २० वर्षयता पूर्ण रुपले आत्मनिर्भर हुँदै आएको छ । खसीको मासुमा भने अझै ५० प्रतिशत आयातमा निर्भर रहेको व्यवसायीको भनाई छ । तर, दुई दशकदेखि आत्मनिर्भर भएको उपजलाई अहिले प्रधानमन्त्री ओलीले आत्मनिर्भर घोषणा गर्नुलाई धेरैले आश्चार्य मानेका छन् ।

आत्मनिर्भर घोषणा गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महत्वपूर्ण उपलब्धि हासिल गरेझै मुलुक प्रत्येक दिन विकासको गतिमा एक कदमअगाडि बढेको बताए । ‘यो धेरै खुशीको क्षण हो । हामी पशुपक्षीतर्फ मासु, अन्डा र दुधको उत्पादनको क्षेत्रमा आत्मनिर्भर घोषणा गर्दै छौं’, उनले भने, ‘हामी देशलाई एक क्षेत्रमा एक कदम अगाडि लैजान सक्षम भएक छौं । नयाँ नयाँ उपलब्धि हासिल गर्न हामी अगाडि बढेका छौं ।’

‘कार्यक्रममा उनले मासु र अन्डामा आत्मनिर्भर भएको घोषणा गर्दै राष्ट्रिय सफलता हासिल गरेको बताए । यो उपलब्धि हो । त्यसैले सबैलाई बधाइ दिन चाहन्छु’, उनले भने । कार्यक्रममा कृषिमन्त्री पद्मा अर्यालले वर्तमान सरकारकै पालामा उत्पादमा उल्लेखय वृद्धि गरी आत्मनिर्भर भएके शैलीमा भाषण गरिन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ०७६ साउनदेखि भारतबाट खसी बोका आयातमा कडाइ गरेको थियो । रागा खसी बोका आयात भएको दावी गर्दै स्वास्थ्यताको प्रमाणपत्र देखाएर मात्र भारतबाट खसी बोका ल्याउन पाउने नियम लागू गरिएको छ ।

यो नियमको कारण वैधानिक बाटोमा खसी बोका आयात शून्यमा झरेको छ । तर, मुलुकको मागअनुसार ५० प्रतिशत खसी बोका भारतबाट चोर बाटो हुँदै आएको चौपाया खरिद बिक्री सेवा संघका पूर्वअध्यक्ष गोविन्द पाठकले बताए ।

अहिले खसी बोकाको मासुतर्फ ५० प्रतिशत भारतीय खसी बोकाले नै धानेको छन् । यी खसी बोका भन्सारमा राजस्व तिरेर आउँदैनन् । चोर बाटोबाट ल्याउने हो, पाठकले भने, हाम्रो उत्पादनले त माग धान्नै सकिन्न ।

भारतीय खसीको तौल बढी हुने हुँदा अधिकांश मासुपसलबाट भारतीय खसी बोकाकै मासु बिक्री हुने गरेको व्यवसायीको भनाइ छ । आन्तरिकतर्फ पश्चिम तराईमा पछिल्लो समय खसी बाख्रापालन बढे पनि आयात नगरी माग धान्न् नसकिने स्थितति रहेको उनले बताए । यस्तै दुध उत्पादनमा मुलुक लामो समयदेखि आत्मनिर्भरउन्मुख छ । व्यवसायीका अनुसार विगत १० वर्षदेखि नै ८५ प्रतिशत आत्मनिर्भर अवस्थामा छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७