ओली पछि नहट्ने


१४ चैत्र २०७७, शनिबार
kp oli 20210327005215

काठमाडौं, १४ चैत । एमाले संसदीय दलको बैठकमा अन्ततः नेपाल–खनाल पक्षका सांसद सहभागी भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा हुने बैठकमा नजाने अडान राख्दै आएकामा शुक्रबार नेपाल र भीम रावलबाहेकले उपस्थिति जनाएका हुन् । उनीहरूले पार्टीलाई पूर्ववत् अवस्थामा लगेर एकता कायम राख्नुपर्ने सुझाव दिएका थिए ।

तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि निर्णयबाट पछाडि नहट्ने अडान लिएका छन् । ‘हाम्रो पार्टीमा समूहगत र गुटगत हिसाबमा डिल कसैसँग पनि गर्दैनौं’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै मुख्य सचेतक विशाल भट्टराईले भने, ‘व्यक्तिगत रूपमा आलोचना र गुुनासा सुन्न तयार छौं । त्यसका लागि सचेतक, उपनेता र दलको नेतालाई भन्नुहोस् । तर, गुटगत हिसाबले छलफल र कुराकानी हुँदैन ।’

दलका नेतासमेत रहेका ओलीले फागुन २८ पछिका निर्णय फिर्ता नहुने अडान सुनाए । ‘केही साथी अनुपस्थित भए पनि सबै बैठक विधिसम्मत् भएका छन्’, ओलीको भनाइ उद्धृत गर्दै मुख्य सचेतक भट्टराईले भने, ‘फागुन २८, चैत ५ र ७ गतेका निर्णयबाट पछाडि फर्किन सकिँदैन ।’

ओलीले विधान संशोधन भइसकेकाले तत्काल परिमार्जन गर्न नसकिने प्रस्ट पारेका छन् । आवश्यक पर्दा संशोधन गर्न सकिने भए पनि तत्काल त्यो सम्भव नरहेको दाबी गरेको भट्टराईले बताए ।

‘विधानलाई केन्द्रीय समितिले अनुमोदन गरिसकेको अवस्था हो। विधानलाई आवश्यक परे संशोधन गर्न सकिने तर अहिले नै परिमार्जन गर्न सक्ने अवस्था छैन’, ओलीले बैठकमा भने । ओलीले नेपाल र भीम रावलको स्पष्टीकरण चित्तबुझदो नभएको बताए । उनीहरूको स्पष्टीकरण कारवाहीयोग्य भएको ओलीको भनाइ थियो । अब केन्द्रीय समिति बैठक बसी थप निर्णय लिइने उनले बताए ।

‘प्राप्त भएका स्पष्टीकरण नकारात्मक र कारबाहीको भागीदार छन् । बाँकी दुई जनाको त्यो कोणबाट नभई पार्टी एकढिक्का राख्न मद्दत पुग्ने खालका स्पष्टीकरण आउनेछ भन्ने अपेक्षा राखेको छु भनेर प्रधानमन्त्रीले भन्नु भएको छ’, भट्टराईले भने ।

वरिष्ठ नेता झलनाथ खनालले आफूहरू एकताको पक्षमा रहेको सुनाउँदै एकता गरेरै अघि बढ्न ओलीलाई आग्रह गरे । अर्का नेता योगेश भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन पहल गर्न आग्रह गरे । विगतका तीतामीठा कुरा बिर्सिएर संयम र धैर्यका साथ अगाडि बढ्नुपर्ने बताए । ‘हिजोका कतिपय तीतामीठा कुरा बिर्सिऔं । उत्तेजित भएर हैन संयम र धैर्यका साथ अगाडि बढ्नुपर्छ । किनभने, परिस्थिति निकै खतरापूर्ण, चुनौतीपूर्ण छ’, उनले भने, ‘मुलुकले एमालेको एकता खोजेको छ । सिंगो वामपन्थीहरूको एकता खोजेको छ, जनमतको कदर खोजेको छ ।’

अर्का नेता गोकर्ण विष्टले नेताहरूले बरफपानी टाउकोमा खन्याएर भए पनि संयम, जिम्मेवारीका साथ पार्टी र आन्दोलन जोगाउन पहल गर्न जरुरी रहेको बताए । बैठकमा नेता खनाल र वामदेव गौतम ओलीकै लाइनमा बसेका थिए । ओलीको दायाँतिर खनाल र गौतम अनि बायाँतिर दलका उपनेता सुवास नेम्बाङ र ईश्वर पोखरेल थिए ।

नेपाल–खनाल समूहले कलंकीमा बसालेको केन्द्रीय समिति बैठकमा ४५ सदस्य मात्रै उपस्थित भएका छन् । उक्त बैठकले दलको बैठकमा जाने निर्णय गरेपछि नेपाल र रावलबाहेक अरू सांसद गएका हुन् । त्यहाँ पनि बैठकमा जान हुने र नहुने सांसदको दुई मत देखिएको थियो । यद्यपि बैठकमै गएर संघर्ष गर्नुपर्ने मत बढी देखिएको थियो । खनाल–नेपाल समूह पार्टीभित्रै संघर्ष गर्ने निष्कर्षमा पुगेको छ ।

यस्तै, एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको संस्थापनले नेपाल–खनाल पक्षका विद्यार्थी नेतालाई निलम्बन गरी स्पष्टीकरण सोधेको छ । समानान्तर कमिटी बनाएका सुदेश पराजुली, ओसिम आलम र आरती लामालाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको हो । उनीहरू तीनै जना अनेरास्ववियुका सचिव थिए ।

एमाले नेता माधवकुमार नेपालले चैत १० मा उद्घाटन गरेको विद्यार्थीको राष्ट्रिय भेलाले पराजुलीको अध्यक्षतामा ५ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । समानान्तर कमिटीका अध्यक्ष पराजुली, सहअध्यक्ष आलम र महासचिव लामालाई चयन गरिएको छ । अनेरास्ववियुका अध्यक्ष ऐन महरको अध्यक्षता बसेको बैठकले उनीहरूलाई निलम्बन गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७