विमानस्थलमा तीन करोड लागतमा हेल्थ डेस्क


१५ चैत्र २०७७, आईतवार

काठमाडौं, १५ चैत । सरकारले त्रिभुवन विमानस्थलमा सघन उपचार कक्षसहितको हेल्थ डेक्स बनाउने प्रक्रिया छिटै सुरु गर्ने भएको छ । हेल्थ डेस्क रहने भवनका लागि जग्गा उपलब्ध भइसकेकाले टेन्डर निकाल्ने तयारी भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

अघिल्लो वर्ष माघमा नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले विमानस्थलमा सुविधासम्पन्न हेल्थ डेस्क बनाउने निर्णय गरी बजेटमा समावेश गरेको थियो । तर, विमानस्थलले जग्गा नदिएपछि काम अगाडि बढ्न पाएको थिएन ।

विभागका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नयाँ भने, ‘त्रिभुवन विमानस्थलले जग्गा दिएको छ । अब चाँडै टेन्डर भई काम अगाडि बढ्छ ।’

कोरोनाको दोस्रो लहर विश्वसँगै छिमेकी भारतमा पनि देखिएपछि सरकारले तत्काल हेल्थ डेस्क बनाउने निर्णय गरेको हो । हेल्थ डेस्कका लागि १८ जनाको दरबन्दी स्वास्थ्य मन्त्रालयबाट हालै स्वीकृत भएको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ६–७ हजार मानिस नेपाल भित्रिने गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७