प्रदेश–१ को संसद वैठक चैत २३ गते


१५ चैत्र २०७७, आईतवार
pradesh 12021 01 21 09 24 43

विराटनगर, १५ चैत । प्रदेश–१ को प्रदेशसभा बैठक आउँदो चैत २३ गते बस्ने भएको छ । आज (आइतबार) प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी प्रदेश–१ को प्रदेशसभा बैठक चैत २३ गते राखिएको जानकारी गराएको हो ।

साविक नेकपाको विवादका कारण प्रदेश–१ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । चैत २ गतेलाई राखिएको बैठक चैत १ गते अनिश्चित कालका लागि स्थगित गरिएको थियो । प्रदेश–१ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । साविक नेकपाका ३७ जना सांसदले हस्ताक्षर गरी मुख्यमन्त्री राईविरुद्ध फागुन ९ गते अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

संसदमा अविश्वासको प्रतावमा छलफल हुनुपर्ने भए पनि फागुन २० गतेलाई राखिएको बैठक चैत २ गतेसम्मका लागि स्थगित गरिएको थियो । सर्बोच्चको फैसलाले नेकपामा एकिकृत भएका साविक नेकपा एमाले र माओवादी केन्द्र छुट्टा–छुट्टै पार्टीका रुपमा पुनःस्थापित भएपछि नेकपा एमालेको प्रदेश १ को प्रदेशसभामा एकल बहुमत कायम भयो ।

एमालेकै शेरधन राईको नेतृत्वमा सरकार रहेपनि माधव नेपाल पक्षका एमाले पनि विभिाजित भयो । तर, चैत ११ गते बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा माधव नेपाल पक्षले पनि मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिने सहमति गरेपछि प्रदेश–१ मा देखिएको विवाद साम्य भएको छ ।

संसदीय दलको बैठकमा मुख्यमनत्री शेरधन राईले ७ दिन भित्र अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिन एमालेका सांसदहरूलाई निर्देशन दिएका थिए । चैत १८ गते भित्रमा एमालेको माधव नेपाल पक्षका सांसदले अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएपछि अविश्वासको प्रस्ताव संसदबाट पारित हुने स्थिति छैन ।

प्रदेशसभाबाट अविश्वासको प्रस्ताव पारित नहुने निश्चित भएपछि प्रदेश–१ को प्रदेशसभा बैठक राख्न लागिएको हो । तर, अझैसम्म एमालेका माधव नेपाल पक्षका सांसदहरूले अविश्वासको प्रस्ताव फिर्ता भने लिइसकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७