इङ्ल्याण्डविरुद्धका तीनै खेलमा भारतको जीत


१६ चैत्र २०७७, सोमबार
117739953 94c926a0 6164 49e1 bc50 53cbba5809f5

काठमाडौं, १६ चैत । घरेलु टिम भारतले इङ्ल्याण्डविरुद्ध एक दिवसीय क्रिकेट सिरिजको श्रृंखला जितेको छ । अन्तिम खेलमा इङ्ल्याण्डलाई सात रनले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो ।

३३० रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा ९ विकेटको क्षतिमा ३२२ रन बनाउन सक्यो । इङ्ल्याण्डका लागि साम कुरानले अविजित ९५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

बलिङतर्फ भारतका शार्दुल ठाकुरले चार र भुवनेश्वर कुमारले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा ३२९ रन बनाएको थियो । भारतका लागि रिषभ पन्तले ७८, शिखर धवनले ६७, हार्दिक पाण्डेले ६४, रोहित शर्माले ३४ रनको योगदान दिए ।

बलिङतर्फ इङ्ल्याण्डका मार्क वोडले तीन र आदिल राशिदले दुई विकेट लिए । यो जितसँगै भारतले इङ्ल्याण्डविरुद्ध तीन वटै क्रिकेट फर्म्याटको सिरिज जितेको छ । यसअघि टेष्ट क्रिकेट र टि–२० क्रिकेट सिरिजको शृंखला पनि भारतले जितेको थियो । यसअघि भारतले पाँच खेलको टि–२० क्रिकेट सिरिज ३–२ ले जितेको थियो । त्यस्तै, चार खेलको टेष्ट क्रिकेट सिरिज पनि भारतले ३–१ ले आफ्नो पक्षमा पारेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७