ओलीको आक्रोश : देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ?


१७ चैत्र २०७७, मंगलवार
PM KP Sharma Oli scaled

काठमाडौं, १७ चैत । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले देश प्रचण्डको व्यक्तिगत स्वार्थका लागि सती जान नसक्ने बताएका छन् ।

रिपोटर्स क्लवको २३ औं बार्षिकोत्सव कार्यक्रमलाई आज (मंगलबार) सम्वोधन गर्दै ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम किटेर भने, ‘केही व्यक्तिहरुले देशको राजनीतिलाई आफ्नो निहीत स्वार्थको लागि धमिल्याउन खोजिरहेका छन् ।’ ओलीले आक्रोश पोख्दै भने, ‘देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ?’

उनले भने, ‘के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ? अनि मान्छेहरुले भन्ने गरेका छन्, आधाआधा भन्याथ्यौं खै आधा ? अनि त्यो आधाआधा भन्ने कागज प्रचण्डले बीचमै कार्यकारी चाहियो भनेर लेखाएर ५ वर्ष तपाई गर्नुस् भनेर अर्को कागज गरेको होइन ?’ उनले प्रचण्ड सहमतिअनुसार अघि नबढ्दा समस्या भएको पनि दावी गरे ।

उनले आफूसँगै महाधिवेशनमा हारेका एमाले नेता माधव कुमार नेपालले बीचमै अध्यक्ष चाहियो भनेर बखेडा झिकेको पनि बताए । ‘हारेको मान्छे मलाई चाहियो मलाई चाहियो रे !’, उनले भने, ‘माधव नेपाललाई मैले तेस्रो अध्यक्ष बन्नुस् पनि भने, तपाई त ठूलो मान्छे भनेर कसले उचालिदिएछन्, तेस्रो अध्यक्ष खान्न भनिदिए ।’ उनले सडकमा भने प्रचण्डभन्दा पछिको अध्यक्ष भएर माधव नेपाल बसेको भन्दै व्यङ्ग्य गरे ।

प्रधानमन्त्री ओलीले अदालतलाई मजाकका रुपमा नलिन आफू इतरका नेताहरुलाई सुझाव दिए । ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै फागुन २३ को सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएर पुनरावलोकनमा गएर अदालतलाई मजाकका रुपमा लिएको बताएका हुन् ।

‘आज पुनरावलोकनमा जानुभएको छ रे, अदालत कुनै मजाक गर्ने ठाउँ हो ? दर्ता खारेज गरिदियो पार्टी आफ्ना आफ्नै भइसके । डबलीमा बोल्ने मान्छेसँग एकता ? सहि कुरा गर्नुपर्छ नि एकता गर्न खोजेको तर सिध्याउनु पर्छ भन्ने,’ ओलीको आरोप छ । उनले गत शनिबार प्रज्ञा डबलीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले दिएको अभिव्यक्ति र बुद्धिजीवीको भूमिकाको चर्को आलोचना गरे ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७