‘नेताकोमा घरदैलो गर्ने संस्कार हाम्रो पार्टीले सिकाएकै छैन’


९ फाल्गुन २०७४, बुधबार
Jaya Kumar rai

केन्द्रीय संसद् प्रतिनिधिसभामा यसचोटि नयाँ अनुहारहरू बढेका छन्, जयकुमार राई तिनैमध्येका हुन् । सुनसरीको क्षेत्र नं. १ मा अशोक राईलाई दोब्बर मतले हराएर आएका उनी पोलिटिकल प्रोफाइलमा अशोकभन्दा निकै साना छन् । अहिले पनि उनी एमालेको सुनसरी जिल्ला कमिटी सचिवालय सदस्य, धरान नगरको सहइन्चार्ज मात्र हुन् ।  भोजपुरको बालम्खा गाविस (हाल आम्चोक गाउँपालिका) मा २०२५ साल भाद्र १२ गते जन्मिएका जय विद्यार्थी र सांस्कृति फाँटबाट उत्पादित एमाले हुन् ।

०३८ सालमा शिक्षा ज्योति निमावि भोजपुरमा अनेरास्ववियुको प्रारम्भिक कमिटी (प्राक) सदस्य हुँदै सचिव भए । ०४० सालमा धरानको शिक्षा सदन माविमा प्राक सचिव भए । हर्क चुम्मे नेतृत्वको हिमायती जनसांस्कृतिक मञ्चमा ०४३ सालमा आबद्ध भए । ०४६ सालको जनआन्दोलनमा पक्राउ परेर १० दिन प्रहरी हिरासतमा बिताए । ०४८ मा राष्ट्रिय जनसांस्कृतिक मञ्चको जिल्ला सदस्य, हिमायतीबाट अलग्गिएर बनेको उत्सर्ग जनसांस्कृतिक मञ्चको सचिव भएर काम गरे । ०५० सालमा अनेरास्ववियु धरान नगर कमिटीको अध्यक्ष भएका उनी २०५१ म जिल्ला कमिटी सहसंयोजक, ०५२ मा उपाध्यक्ष भए । ०५४ को विभाजनकालमा मालेमा गए । अखिलको केन्द्रीय सदस्य थिए ।

Jaya Kumar rai
जयकुमार राई एमाले सांसद, सुनसरी– १

 

० पहिलोचोटि सांसद भएर काठमाडौं आउँदा मनमा के कुरा खेलिरहेको छ ?
– आखिरमा जनताकै हित र मुक्तिका नाममा जीवन समर्पण गरेको व्यक्ति हुँ । जनताको बीचमा काम गर्र्दै जाँदा आज सांसद भएर काठमाडौं आइएको छ । भोलि यो हैसियत बढ्छ, घट्छ वा यस्तै रहन्छ– भन्न सकिन्नँ । तर, आज जुन अवसर प्राप्त भएको छ, यसमा चुनौती बढी देखिरहेको छु । मलाई जनताले दिएको मतलाई मैले कति न्याय दिन सक्छु, कति सार्थक परिणामसाथ जनताबीच उपस्थित हुन सक्छु भन्ने कुरालाई मैले चुनौतीका रूपमा लिएको छु ।

० अशोक राई, जो तपाईंको राजनीतिक आदर्श हुनुहुन्थ्यो, उहाँलाई हराएको भन्ने कुराले अलिक महत्व पाउनुभएको छ नि !
– यो कुनै अनौठो विषय नै होइन । चुनाव व्यक्तिसँग लडिएको थिएन । जुन शक्तिको प्रतिनिधित्व उहाँले गर्नुहुन्थ्यो, म त्यसको विपरीत शक्तिको प्रतिनिधित्व गर्थें । मैले प्रतिनिधित्व गरेको विचार, नीति र कार्यक्रम जनताबाट अनुमोदित भएको हो । उहाँहरूको विचार, नीति र कार्यक्रम जनताबाट अनुमोदित नभएको हो । कुरा यत्ति नै हो । तर, यससँगै सत्य के हो भने, म राजनीतिक जीवनमा अशोक राईभन्दा धेरै सानो मान्छे । उहाँहरूले हिजो हामीलाई जुन राजनीतिक चेतना र आदर्शका लागि प्रेरित गर्नुभयो, आज उहाँहरू नै त्यसबाट विचलित हुनुभएको छ । त्यसैले एउटा विचलित बाघ र अर्को अविचलित विरालोमध्ये जनताले बिरालो नै रोजेका छन् । मुख्य कुरा काम गर्ने हो । आफ्नो क्षमता प्रदर्शन गर्ने हो । जनताले म, मेरो पार्टी, हामीले बनाएको वाम गठबन्धनप्रति जुन विश्वास दिएका छन्, त्यसलाई टिकाउने र भविष्यमा अझ मजबुत बनाउने नै मेरो दायित्व हो ।

० कस्ता–कस्ता केन्द्रीय नेताले टिकट पाएनन् । अखिलको केन्द्रीय अध्यक्ष भइसकेका नेता पनि गुनासो गर्ने स्थितिमा छन् । तर, तपाईंले टिकट पाएर पनि जितेर आइसक्नुभयो । के रहेछ, यो राजनीति ?
– अरूको कुरा नगरौँ । मेरो कुरा गर्नुहुन्छ भने, चेतनशील भएको दिनदेखि यो आन्दोलनमा छु । ढिलो–चाँडो यस्तो जिम्मेवारी पाउनु नै थियो, पाएँ । यसका लागि म पार्टी नेतृत्वप्रति आभारी नै छु ।

हो, यहाँ एकदम दूधको दूध, पानीको पानी निसाफ मिल्छ भन्न पनि म चाहन्नँ । केही हाम्रा आदरणीय नेतामाथि अन्याय भएकै छ । तर, त्यसभित्रका अन्तर्कथा के छन् ? नेताहरूको दाबी के छ ? म यतातिर जान्नँ । मात्रै, आफू इमानदार भएर काम गर्छु । जनताको मतलाई धोका दिन्नँ । पार्टी निर्देशनलाई लत्याउँदिन । पार्टीले शिरमा राखे शिरमै, पुछारमा राखे पुछारमै बसेर काम गर्छु ।

० धरानलाई प्रदेश राजधानी बनाउने तपाईंहरूको एजेन्डा त फेल खायो नि ?
– धरानसँग थुप्रै पीडा छन् । हामीले पञ्चायत शासन ढाल्न पूर्वमै सबभन्दा निर्णायक भूमिका खेल्यौँ । तर, ०४६ को परिवर्तनसँगै हामीले धरानबाट पूर्वाञ्चलका महत्वपूर्ण अड्डा–अदालतहरू गुमायौँ । ऐतिहासिक, सभ्य र सुसंस्कृत शहरका रूपमा चिनिएको धरानलाई ०४५ को भूकम्पले क्षत–विक्षत बनाएको छु । त्यो घाउ निको नहुँदै अड्डा–अदालत सार्ने कामले धरानवासीलाई धेरै रुवायो । एमालेले ०४९ र ०५४ का स्थानीय निर्वाचन जितेपछि धरान पुनर्निर्माण भयो । आधुनिक शहर पनि बन्यो ।

हामीले चुनाव जिताएर पठाएको मनमोहन अधिकारी मुलुकको पहिलो कम्युनिष्ट प्रधानमन्त्री पनि बन्नुभयो । तर, धरानका कम्युनिष्टहरू आजसम्म क्याबिनेट मन्त्री बन्न सकेनन् । अर्थात्, हामीले दिनुपर्ने योगदान दिइरह्यौँ । तर, उपलब्धि हामीबाट टाढा–टाढा हुँदै गयो । प्रदेशको राजधानी हाम्रो आजको पनि माग हो । लागे–पुगेसम्म हामी त्यो मागका लागि लडिरहन्छाैँ । तर, धरानेको पुर्परो नै यस्तो छ कि, हत्तपत्त हामीले पाउने कुरा गुम्दै जान्छ । प्रदेश राजधानी बनाउन उपयुक्त ठाउँ धरान हो । यो कुरालाई म अझै पनि सदनदेखि सडकसम्म उत्तिकै उठाइरहन्छु । किनभने, यहाँ किमाथांकाको मानिसलाई र दक्षिण तराईको मानिसलाई पनि काम गर्न आउदा सहज हुने हावापानी छ । सडक, ठूलो अस्पताल, शिक्षाको केन्द्र पनि धरान नै हो । यसका लागि म सक्दो पहल गर्नेछु ।

० मन्त्री बनाए हुन्थ्यो भन्ने लाग्छ कि ?
– स्वाभाविक हो, धरानको विकास र समृद्धिका लागि केन्द्रबाटै कसै न कसैले पहल नगरी भएको छैन । त्यसका लागि भूमिका सहितको जिम्मेवारी आवश्यक पर्छ । म व्यक्ति जय राईको वकालत गर्दिनँ तर सुनसरीको पनि सबभन्दा पुरानो शहर धरानलाई न्याय दिने हो भने त्यस्तो जिम्मेवारी आवश्यक छ । हामी निरन्तर हेपिएको ठाउँका मान्छे । हामी स्वाभिमानी छौँ । देशलाई हामीले ०४८ सालकै संसदीय चुनावमा इमानका प्रतीक मनमोहन अधिकारी चुनाव जिताएर उपहार दियाँै । मनमोहन नेपाली इतिहासको एक जना गहना हुनुहुन्छ । देशको पहिलो महिला उपसभामुख लीला श्रेष्ठ सुब्बालाई हामीले नै जिताएर पठायौँ । अहिले विकास र समृद्धिका लागि वाम सरकार गठन हुँदै छ । स्वाभिमानीको शहरबाट एउटा केटो सांसद भएर आएको छ । फूर्तिलो छ, जाँगरिलो छ, धैर्यवान छ, अनुशासित पनि छ । त्यसैले एकचोटि धरानलाई चाखेर हेर्न म केन्द्रका सबै नेतालाई आग्रह गर्दछु । हामी देशलाई धरानजस्तै सुन्दर बनाउन सक्छौँ । म जयकुमार राई मात्र होइन, धरानका लाखौँ युवा यो अभियानमा एकसाथ सरिक हुन चाहन्छन् ।

० मन्त्री नै बन्नेचाहिँ बेला भएको छैन कि ?
– बेला उमेरले हुँदैन । उमेरले हुन्थ्यो भने अशोक राई हामीभन्दा सिनियर नेता, धेरै भोटो फटाउनुभएको थियो । तर, चुनाव हार्नुभयो । जनताले किन हामीजस्ता युवालाई छानेर यसचोटि संसद्मा पठाए ? यसकारण कि, वाम गठबन्धन अब राजनीतिक खिचातानीमा होइन, विकास र समृद्धिमा एकचित्त भएर लाग्दै छ । त्यो कार्यदिशालाई सार्थक बनाउनका लागि युवा क्रियाशीलता पहिलो सर्त हो । त्यसैले बेला र कुबेल भनेर तर्क नगर्न म आग्रह गर्दछु । देशले पुस्तान्तरण खोजेको छ । जनताले पुस्तारणसहितको नेतृत्वलाई जिताएका छन् । यो कुरालाई ख्याल गर्नु जरुरी ठान्दछु ।

कहाँ–कहाँ पुग्नुभयो, लबिङ गर्न ?
– धाएर होइन, पार्टी नेतृत्वले आवश्यकता महसुस गरेर जिम्मेवारी दिन्छ । सांसद भएका अरू साथी जितेको एक हप्तादेखि काठमाडौंमा हुनुभएको सुनेको छु । म त अस्ति फागुन ६ गते आइतबार मात्रै काठमाडौं आएँ । चुनावमा जहाँ–जहाँ भोट माग्न पुगियो, त्यहीँ–त्यहीँका जनतालाई धन्यवाद नभनीकन काठमाडौं आउनै मन लागेन । नेताकहाँ गइन्छ, उहाँको सम्मान र आदर गर्नका लागि । तर, मलाई यो दिनुस्, त्यो दिनुस् भनेर घर–घरमा धाउने कुराको म विरोधी हुँ । हाम्रा पार्टी कमिटी छन् । संसदीय दलहरू छन् । संसदीय समिति बन्छन् । नेताहरूसँग त्यहाँ विधि र प्रक्रियाभित्र रहेर कुरा हुन सक्छ । आफ्ना कुरा भन्ने ठाउँ पनि ती हुन् । हामीले घरदैलो त जनताबीच चुनाव लडिरहँदा गर्यौं । यता आएर अर्को घरदैलो गर्ने संस्कार हामीलाई हाम्रो पार्टीले सिकाएन ।

० प्रदेश १ को मुख्यमन्त्रीमा तपाईंहरूले समर्थन गर्नुभएको भीम आचार्यलाई हराउन सुनसरीकै सभासद्हरू सक्रिय भएको भनिन्छ । कति सत्य हो ?
– चुनावको परिणाम आइसकेको छ । शेरधन राई मुख्यमन्त्री नियुक्त भइसक्नुभएको छ । हुनुअगाडि यसो हुँदा राम्रो, त्यसो हुँदा राम्रो भन्ने एउटा बहस स्वाभाविक थियो । तर, अब त्यतातिर धेरै फर्किनु राम्रो होइन । भीम आचार्य मुख्यमन्त्री हुनुपथ्र्यो भन्ने पक्षको म पनि हुँ । त्यही सपना बोकेर हामी एउटै क्षेत्रमा चुनावमा सहभागी भयौँ । मभन्दा निकै सिनियर नेता भीम कमरेड प्रदेशमा र म उहाँको कार्यकर्ता केन्द्रमा चुनाव उठेर जित्यौँ । तर, उहाँलाई मुख्यमन्त्री बनाउनुपर्ने बेला आएपछि केही स्वाभाविक, केही अस्वाभाविक काम पनि भए । तर, मुख्यमन्त्री बन्नुहुने मित्रको काम, क्षमता र प्रतिबद्धतामा कुनै कमी छैन । मात्रै, वरिष्ठताको ख्याल गर्नुपथ्र्यो भनेका हौँ । त्यसमाथि शेरधनजी र म भोजपुरमै जन्मिएका, वान्तवा दुःखुन (माङमापाहाङ) परिवारका सदस्य हौँ । उमेर, नाताले मेरो भाइ–भतिजो हुनुहुन्छ ।

० एमालेले गुटबन्दीका कारण यो चुनावमा कति क्षति व्यहोर्यो ?
– पार्टीमा गुट हुनु काठमा धमिरा लाग्नुजस्तो हो । त्यसले काठलाई खान्छ । त्यसैले हामी गुटबन्दीलाई निरुत्साहित गर्ने पक्षमा छौँ । वाम एकता समाजवादी राज्यसत्ता निर्माणको बाटोतर्फ अग्रसर भइरहेको बेला गुटफुटमा लाग्नु जनताप्रति बेइमानी गर्नु हो । जनताले हामीलाई गुटबन्दी गर्न होइन, काम गर्नका लागि अनुमोदित गरेका हुन् । होला, गुटका कारण केही ठाउँमा पार्टी क्षति व्यहोरेको छ । त्यसैले विगत होइन, भविष्य सुन्दर बनाउन हामी लागौँ भन्छु ।

० के–के काम गर्ने योजना बनाउनुभएको छ ?
– म धरान, विष्णुपादुका, बराहक्षेत्रलगायत ऐतिहासिक, पर्यटकीय र आकर्षणका केन्द्रलाई प्रतिनिधित्व गर्ने सांसद हुँ । तर, त्यहाँबाट मैले समस्याका अनगिन्ती चाङ बोकेर ल्याएको छु । समस्याको त्यो भारी काठमाडौंमा ल्याएको छु र त्यो भार फेरि उतै फर्काउनु नपरोस् भन्ने मुख्य चिन्ताको विषय हो । पर्यटनको प्रशस्त सम्भावना छ । स्थानीय सरकारसँग समन्वय गरेर पर्यटन विकास, प्रवद्र्धन गर्ने, प्र्वाधार खडा गर्ने योजना अघि सार्नेछु । साविक बक्लौरी, भरौल, बराहक्षेत्र गाविसलाई धरानसँग जोड्न, सहज पहुँच बनाउन खोलामा पुल निर्माण र पक्की सडकलाई पनि प्राथमिकता उनको चुनावी एजेण्डा हुन् । अव्यवस्थित सुकुम्बासीलाई घर नम्बरिङ कार्य चाँडो सम्पन्न गर्ने र केन्द्रीय घोषणाअनुसार पाँच वर्षभित्र कोही पनि घरबारविहीन नहुने व्यवस्थाका लागि अग्रसर छु । धरानको एयरपोर्ट निर्माण चाँडो गर्न पहलकदमी गर्ने, खानेपानी आयोजना सम्पन्न गर्न, बसपार्क निर्माणमा समन्वयकारी भूमिका खेल्ने, भूपूगोर्खा सैनिकको जायज मागलाई संसद्मा उठाउने, बहुजातीय संग्रहालय निर्माण पूरा गर्ने, खेलकुदको शहर बनाउन रंगशाला, कभर्डहल निर्माणका साथै खेलाडीलाई सेवा–सुविधा दिलाउने योजना छ ।

व्यापारिक शहर धरान अहिले खस्किएको छ, यदि यो क्षेत्रको खोलामा पुल बनाउने र सडक सञ्जाल बनाएर पूर्वलेटाङ, केराबारी हँुदै मेचीनगरसम्म र पश्चिम चतरा, गाईघाट हेटौंडा जोड्न सकियो भने फेरि व्यापारिक केन्द्रका रूपमा चम्किनेछ । जोगबनी किमाथांका सडक निर्माण चाडो गराउन पनि मेरो हरसम्भव प्रयास हुनेछ । युवाको बेरोजगारी समस्या हल गर्न केन्द्र, प्रदेशबाट आवश्यक नीति र कार्यक्रम ल्याउने, विदेश पलायन हुनबाट जोगाउन प्राविधिक शिक्षा र बिनाधितो ऋण उपलब्ध गराउन विशेष पहल हुन्छ । युवा जनशक्तिलाई सीप दिलाएर कृषि क्षेत्रमा लगाउने पनि उनको योजना छ । तमोरसम्म सुरुङमार्गका लागि सम्भाव्यता अध्ययन गराउने, जलविद्युत् उत्पादन गर्ने, तमोरको पानी ल्याएर खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्ने, सेउती र सर्दुमा बाह्रै महिना पानी बगाएर पर्यटकीय आकर्षण बढाउन सकिने कुरामा हामी लागेका छौँ ।

-जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७