सर्वोच्च शिखर आरोहण प्रयासका १०० वर्ष : सगरमाथामा करिब ३०० शव र १८० टन फोहोर

सगरमाथासहित ६ हिमालबाट ३५ टन फोहोर संकलन गर्ने सेनाको


१८ चैत्र २०७७, बुधबार
sagarmatha fohor

काठमाडौं, १८ चैत । ठीक १०० वर्षअघि सन् १९२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहणको पहल सुरु भएको थियो । सन् १९२४ मा आरोहणमा गएको अमेरिकी टोलीका दुई सदस्य २७ हजार ६ सय फिटको उचाइमा पुगेर बेपत्ता भए ।

जिएल मालोरीको शव ७५ वर्षपछि सन् १९९९ मा भेटियो भने एन्ड्र्यु अरभिनको शव अहिलेसम्म बेपत्ता छ । सगरमाथामा अहिलेसम्म तीन सय ५० को मृत्यु भएको छ, जसमध्ये करिब तीन सय शव हिउँमै रहेको अनुमान छ । सगरमाथासहित अन्य ६ हिमालमा रहेका शव र फोहोर संकलन गर्न नेपाली सेनाले डेढमहिने अभियान सञ्चालन गर्दै छ । यसपटक ३५ टन फोहोर संकलन गर्ने लक्ष्य छ ।

सगरमाथा, ल्होत्से, मकालु, अमादब्लम, पुमोरी र धौलागिरि हिमालबाट फोहोर तथा शव संकलन गर्न सेना र शेर्पाको एक सय १२ सदस्यीय टोली परिचालन हुँदै छ । जसमा ३८ जना सैनिक र बाँकी गैरसैनिक हुन् । सगरमाथा, पुमरी र ल्होत्से हिमालका लागि एउटा र मकालु, धौलागिरि तथा अमादब्लम हिमालका लागि अर्को टोली खटिनेछ । उनीहरूले २ वैशाखदेखि १५ जेठसम्म फोहोर संकलन गर्नेछन् ।

सगरमाथा क्षेत्रमा मात्रै एक सय ४० टन फोहोर र ४० टनजति दिसाजन्य फोहोर रहेको अनुमान छ । सेनाका अनुसार सगरमाथा क्षेत्रबाट मात्रै तीन सयभन्दा बढी आरोहीको शव निकाल्न बाँकी छ । नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा भने अहिलेसम्म आरोहणका क्रममा तीन सय ५० जना जतिको मृत्यु भएको अनुमान गरिएको बताए ।

सन् २००८ देखि २०१९ सम्म शेर्पाहरूको टोलीले सगरमाथा क्षेत्रबाट २१ हजार एक सय किलो फोहोर संकलन गरेर ल्याएका थिए । त्यो फोहोर गोरक्ष क्षेत्रमा ठूलो खाल्टो खनेर पुरिएको पर्वतारोहण संघका पूर्व अध्यक्ष शेर्पाले बताए । त्यस्तै, ०७६ वैशाख र जेठमा सेनाले पनि सगरमाथासहितका हिमालबाट ११ हजार किलो फोहोर र चारवटा शव संकलन गरेको थियो ।

सगरमाथा र ल्होत्सेबाट १७ टन, मकालु, आमादब्लम र धौलागिरिबाट पाँच–पाँच टन तथा पुमोरीबाट तीन टन फोहोर संकलन गर्ने सेनाको लक्ष्य छ । अभियानको तयारीका लागि सेनाले १ चैतदेखि मुस्ताङको कैसाङमा रहेको उच्च शिखर शिक्षालयमा जलवायु अनुकूलन तालिम दिइरहेको छ । २६ चैतसम्म तालिम चल्नेछ ।

अभियानमा खाली अक्सिजन सिलिन्डिर, प्लास्टिकका बोतल, क्यान, ब्याट्री, खाना बेरिएका वस्तु, च्यातिएका टेन्ट, कागज तथा मृत शरीर संकलन गर्ने सेनाको योजना छ । संकलित नसड्ने फोहोर सगरमाथा क्षेत्रको नाम्चे, मकालु–वरुण क्षेत्रको नुम र धौलागिरि क्षेत्रको जोमसोमबाट हवाई साधन र मोटरबाटो हुँदै काठमाडौं ल्याइनेछ ।

‘हिमालय क्षेत्रको प्रदूषण नियन्त्रण गर्न, जलवायु परिवर्तनको असर कम गर्न, हिमालय अर्थतन्त्रलाई प्रवद्र्धनका लागि सरकारलाई सहयोग गर्ने हाम्रो लक्ष्य हो,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले भने, ‘यो हाम्रो प्रकृति र पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने अभियान पनि हो ।’

सफाइ अभियानका लागि १२ करोड ५५ लाख ७१ हजार रुपैयाँ खर्च हुने सेनाको प्रारम्भिक अनुमान छ । सैनिक तथा निजी क्षेत्रका हेलिकोप्टरका लागि ७९ लाख ६८ हजार, हिमाल सफाइमा जाने शेर्पालगायतका लागि आठ करोड ६४ लाख ५८ हजार, लत्ता–कपडाका लागि एक करोड ३६ लाख ४४ हजार, सैनिकहरूलाई भत्तालगायतका लागि पौने दुई करोड खर्च हुने सेनाको प्रारम्भिक मूल्यांकन छ । बजेटको व्यवस्थापन पर्यटन विभागले गरेको हो ।

अभियानमा पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय पनि सामेल हुनेछ । राष्ट्रिय प्रकृति संरक्षण कोषसहित मुस्ताङ, सोलुखुम्बु र संखुवासभाका प्रमुख जिल्ला अधिकारी, सगरमाथा र मकालु–वरुण राष्ट्रिय निकुञ्ज प्रशासन एवं स्थानीय संघसंस्था पनि यो अभियानमा सामेल हुने सेनाले जनाएको छ ।

सेनाको वन्यजन्तु तथा वातावरण निर्देशनालयका निर्देशक हिमांशु खड्का यो अभियानका निर्देशक तोकिएका छन् । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, वातावरण विभागका महानिर्देशक र पर्यटन मन्त्रालयका सहसचिवले पनि समन्वयकारी भूमिका निर्वाह गर्ने सेनाले जनाएको छ ।

भारतीय उपमहाद्वीपमा रहेका आठ सय किलोमिटर लामो हिमालय शृंखलाहरू करिब एक अर्ब ३० करोड जनसंख्याको पानीको स्रोत हो । यस क्षेत्रमा ६ हजार मिटरभन्दा माथिका एक हजार तीन सय १० हिमालमध्ये हालसम्म चार सय १४ हिमाल मात्रै आरोहणका लागि खुला गरिएका छन् । आरोहण खुला भएका हिमालमा आरोहीहरूले फोहोर छाड्ने गरेका छन् ।

सफाइ टोलीलाई सेनाले ३१ चैतमा हिमाल सफाइ अभियानको झन्डा हस्तान्तरण गर्नेछ । उच्च सरकारी अधिकारी र काठमाडौंस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थितिमा जंगी अड्डाबाट औपचारिक रूपमा अभियान सुरु गर्ने सेनाको योजना छ । हिमालबाट संकलन गरिएको फोहोर विश्व वातावरण दिवसका अवसरमा २२ जेठमा जंगी अड्डा परिसरबाटै सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ ।

सफाइमा खटिनेलाई मेडिकल तथा आपत्कालीन उद्धारको सुविधा छ । हाई अल्टिच्युड मेडिसिन र उपकरणको व्यवस्था गरिएको छ । हाई अल्टिच्युडको स्वास्थ्य प्रयोजनका लागि नौजना दक्ष स्वास्थ्यकर्मी व्यवस्था गरिएको छ । फिल्ड तथा काठमाडौंमा रहने समन्वय निकायबीच सम्पर्कका लागि स्याटलाइट, वाकिटाकी सेटको व्यवस्था गरिएको छ ।

सड्ने फोहोर स्थानीय गाउँपालिकालाई हस्तान्तरण हुनेछ भने नसड्ने फोहोर मात्रै काठमाडौं ल्याइनेछ । नसड्ने फोहोर लुक्ला, नुम र जोमसोमसम्म सेनाले ढुवानी गर्नेछ भने त्यहाँबाट काठमाडौंमा सेना तथा फोहोर व्यवस्थापनसम्बन्धी कम्पनीले ढुवानी गर्नेछन् ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले भने–पर्यावरण संरक्षण अभियानमा सरकारलाई सहयोग गर्ने लक्ष्य हो

हिमालय क्षेत्रको प्रदूषण नियन्त्रण गर्न, जलवायु परिवर्तनको असर कम गर्न, हिमालय अर्थतन्त्रलाई प्रवद्र्धनका लागि सरकारलाई सहयोग गर्ने हाम्रो लक्ष्य हो । यो हाम्रो प्रकृति र पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने अभियान पनि हो ।

सगरमाथाबाट शव र फोहोर ल्याउन सजिलो छैन – आङछिरिङ शेर्पा, पूर्वअध्यक्ष
नेपाल पर्वतारोहण संघ

सन् १९२४ मा जनरल चाल्र्स नेतृत्वको चार सदस्यीय अमेरिकी टोली सगरमाथा आरोहणमा गएको थियो । जनरल चाल्र्स र इएफ नर्टन २८ हजार एक सय २६ फिट (७,५८० मिटर) उचाइसम्म पुगे । तर, जिएल मालोरी र एन्ड्रयु अरभिन २७ हजार ६ सय फिटको उचाइबाट बेपत्ता भए ।

सन् १९५३ मा कर्नेल जोहन हन्टको नेतृत्वमा अमेरिकी टोली आरोहणमा गयो । सोही टोलीका एडमन्ड हिलारी र तेन्जिङ नोर्गे मे २९ मा सगरमाथाको टुप्पोमा पुग्न सफल भए । त्यसअघि पनि थुप्रैपटक सगरमाथा आरोहणका प्रयासहरू भएका थिए । तर, कति आरोही बेपत्ता भए र शव कतिको सगरमाथा क्षेत्रमा छ भन्ने यकिन तथ्यांक कतै भेटिँदैन ।

सगरमाथाको आरोहण सुरु भएदेखि अहिलेसम्म तीन सय ५० भन्दा बढी आरोहीले ज्यान गुमाइसकेको अनुमान छ । पछिल्लो दशकमा भएका आरोहणका क्रममा ज्यान गुमाउनेहरूको शव ल्याउने गरिएको भए पनि पुराना शव ल्याएको तथ्यांक छैन । सन् २००८ पछि भने शेर्पाहरूको टोली सातवटा शव तल ल्याउन सफल भएको छ ।

सगरमाथामा जम्मा भएको फोहोर उठाएर ल्याउनुपर्छ भन्ने अभियान सन् २००८ मा मात्रै सुरु गरिएको हो । नेपाल पर्वतारोहण संघ, शेर्पा गाइडलगायतको पहलमा पछिल्लो समय फोहोर तल झार्न थालिएको छ । सगरमाथा क्षेत्रमा पुराना फोहोर ल्याउन नै सबैभन्दा धेरै कठिन छ । हिउँ परेको समयमा फोहोर देखिँदैन, हिउँ पग्लिएको वेला मात्रै देखिन्छ ।

सगरमाथामा हुने सबैभन्दा धेरै फोहोर आरोहण दलको दिसा र पिसाब नै हो । पछिल्लो समय अमेरिकाबाट ट्वाइलेट ब्यागको प्रयोग हुन थालेपछि भने केही सजिलो भएको छ । सन् २००८ देखि २०१९ सम्म शेर्पाहरूले २१ हजार एक सय किलो फोहोर संकलन गरेर ल्याएका थिए । गोरक्ष क्षेत्रमा ठूलो खाल्टो खनेर पुरिएको छ ।

शव तल झार्न झन कठिन सन् १९६० देखि १९९० सम्मका शवहरू सगरमाथा क्षेत्रमा रहेको अनुमान छ । सन् २०१२ मा एउटा ब्रिटिसको शव भेटियो ६ हजार चार सय मिटरको उचाइमा, तौल नै एक सय ६० केजी थियो । १२ जना शेर्पाले डोरी लगाएर बल्लबल्ल शव तल ल्याएका थिए । उक्त शव सन् १९७५ मा आरोहणमा गएका व्यक्तिको भएको पछि खुल्न आएको थियो ।

सगरमाथा क्षेत्रबाट तल ल्याइएको शव काठमाडौंसम्म पुर्‍याउन लाखौं रुपैयाँ लाग्छ । सामान्यतया एउटा शव तल झार्न १२ देखि २० लाख खर्च हुन्छ । सन् २००८ यता तीनजना शेर्पा र चारजना विदेशीको पुराना शव ल्याइएको छ । पुराना शवको देश पत्ता लागे पनि आफन्त खोज्न बहुत कठिन हुने रहेछ । पछिल्लो समयका शवहरू भने सगरमाथा क्षेत्रमा छैनन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७