बदलिएको सन्दर्भमा मातृभाषाको संरक्षणको प्रश्न


९ फाल्गुन २०७४, बुधबार
Ichha purna Rai 1
  • इच्छापूर्ण राई

सन् १९४७ मा भारत पाकिस्तानबाट छुटिसके पछि पाकिस्तानी सरकारले सन १९४८ मा उर्दु भाषालाई राष्ट्रिय भाषाको रुपमा अंगिकार गर्याे । तत्कालिन पूर्वी पाकिस्तान जहाँ बंगाली भाषीहरु घना थिए मा सरकार विरुद्ध ठूलो आन्दोलन उठ्यो । उनीहरुको मूख्य माग उर्दु भाषाका अलवा बंगला भाषालाई पनि राष्ट्रिय भाषाको रुपमा संबोधन गरियोस भन्ने थियो । ढाका विश्वविद्यालय, जगनाथ विश्वविद्यालयहरुमा पढ्ने विद्यार्थीहरु र भाषिक अधिकारकर्मीहरुले यहि विषयलाई उठाएर आयोजना गरेको आन्दोलनले सन १९५२ सम्ममा चरमोत्कर्ष रुप लियो । पाकिस्तानी सरकारले यो आन्दोलनलाई गैरहकानूनी घोषणा गर्दै दमनमा उत्रियो ।

Ichha purna Rai

फलस्वरुप सन १९५२ को फेब्रुअरी २१ मा प्रहरीले गोलि चलायो र ढाका विश्वविद्यालयमा पढ्ने ४ जना विद्यार्थीहरु रफिक, जब्बर, सलाम र बोरकोटको हत्यो गरियो । ती ४ जना विद्यार्थीहरु बंगाली भाषाको अधिकार खासगरी मातृभाषाको अधिकारको सुनिश्चितताका लागि सहिद भए । ती ४ जनाको हत्या पछि पनि आन्दोलन कुनै हालतमा रोकिएन र अघि बढि नै रहयो । फलस्वरुप सन १९५६ फेब्रुअरी २९ तारिखमा पाकिस्तानी सरकार बंगाली भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिन त राजी भयो तर त्यो आन्दोलन त्यतिले मात्र रोकिएन । भाषिक आन्दोलनबाट उठेको त्यो आन्दोलनको आँधीवेहरीले सन १९७१ मा बंगलादेश नामक स्वतन्त्र देशकै रुपमा स्थापित गरेर मात्रै समाप्त भयो । भाषिक अधिकारको निम्ति प्राण आहुति गर्ने ती ४ सहिदहरुको सम्मानमा यूनेस्कोले उनीहरुको हत्या भएको दिन अर्थात २१ फेब्रुअरीलाई अन्तराष्ट्रिय मातृभाषा दिवसको रुपमा घोषणा गरि विभिन्न कार्यक्रम गर्ने चलन सन १९९९ देखि चलिआएको देखिन्छ । यहि सन्दर्भमा विश्वका भाषिक अधिकारकर्मीहरु केहि न केहि कार्यक्रम गरेर यो २१ फेब्रुअरीमा दिवस मनाउदैआइरहेको छन् ।

जनगणनालाई आधार मान्ने हो भने नेपालमा १२३ जति भाषाहरु बोलिन्छन् । आज नेपाली भाषा बाहेक अरु भाषाहरु चाँडै लोप हुने अवस्थामा छ भनेर विभिन्न भाषाशास्त्रीहरुको प्रतिवेदनहरु बाहिर आइरहेको छन् । नेपाली भाषा बाहेक अरु कुनै भाषालाई बचाउन, समृद्ध पार्नको लागि सरकारी तहबाट पहल भएको देखिदैन । खासगरी मातृभाषाहरुको संरक्षण संबद्र्धनको लागि सरकार उदासिन भइरहेका छ भन्ने आरोप सर्वत्र छ । हेर्दा त्यस्तो देखिन्छ पनि तर विभिन्न भाषाशास्त्रीहरुको अध्ययनहरुले अरु मातृभाषा त मर्नेछ मर्नेछ नेपाली भाषा पनि यो पुस्ता पछि बोल्ने वक्ता कम भेटिन्छन् भनेर विश्लेषण गरिएका अध्ययन प्रतिवेदनहरु बाहिर आइरहेको छ । भरखरै मात्रै नेपालको केहि प्रमुख सहरमा १० देखि २० वर्षसम्मको युवाहरुलाई लक्षित गरेर गरेको एक अध्ययनमा ६० प्रतिशतले अंग्रेजी र हिन्दीमा बोल्न सजिलो हुने भन्ने प्रतिकृया दिएका थिए । यसले के देखाउछ भने विस्तारै विस्तारै नेपाली भाषा बोल्ने वक्ताहरु अरु भाषामा सरिरहेकाछन् । र, नेपाली भाषा पनि संकटापन अवस्थामा नजाला भन्न सकिन्न ।

आज नेपाली भाषा बाहेक अरु भाषाहरु लोपोन्मुख हुनको मूख्य कारण सरकारी नीति नै जिम्मेवार हो भन्न सकिन्छ किनभने विगत देखि हालसम्म सरकारी तहमा नेपाली नजाने जागिर पाइदैन भनेर अरु भाषाको प्रयोगलाई अप्रतक्ष्यरुपमा बन्देज लगाएको अवस्था थियो । त्यसतो मनोविज्ञान तयार थियो र वास्तविकता पनि त्यहि थियो । त्यसकारण अरु भाषाहरुले मौलाउने अवसर पाएन । हिजोको राज्यको नीति र त्यसले निर्माण गरेको मनोविज्ञानले नेपाली बाहेक अरु भाषाहरु लोपोन्मुख भाषा भए । त्यसरी नै आजको पुस्तालाई अंग्र्रेजी नजाने जागिर पाइदैन, ठूलो मान्छे होइदैन भन्ने मानसिकताको मनोविज्ञान विकास गरिदैछ । यो दृष्टिकोणले भाषिक हैकमवादी नीतिको पृष्ठपोषण गर्दछ र यस्तो भाषिक हैकमबाको कोपभाजनामा हिजो महेन्द्रकालिन समयमा एउटै भाषा एउटै भेषको नारामा नेपाली भाषी बाहेकका मातृभाषीहरु परेका थिए र फेरी भोलि अंग्रेजी र हिन्दी भाषाको कोपभानजमा नेपाली भाषीहरु पर्नेछन् ।

अझैसम्म नेपालमा सयौं भाषाहरु व्यवहारमा बोलचालमा प्रयोग भइरहेकाछन् तसर्थ यी भाषाहरुलाई बचाउन सरकारी तहबाट केहि सकारात्मक कदम चाल्नु आवश्यक देखिन्छ । भाषाको प्राण भनेको उसको प्रयोगमा छ । व्यवहारमा यो देश बहुभाषिक भएको हुनाले शिक्षण र सरकारी कामकाजमा बहुभाषिक नीति अवलम्बन गर्नुपर्दछ । जबसम्म बहुभाषिक नीति अबलम्वन गरिदैन तबसम्म नेपालमा बोलिने कुनै पनि मातृभाषाहरु बाच्ने स्थिति छैन । मातृभाषाको संरक्षण र संबद्र्धन गर्नको लागि शिक्षणको आधारभूत तहदेखि नै त्रिभाषिक नीति अवलम्बन गर्नु पर्दछ । शिक्षणमा यो त्रिभाषिक नीति निम्न ढाँचामा लागू गर्न सकिन्छ ।

पहिलो ढाँचामा मातृभाषा बोल्नेहरुका लागि मातृभाषा, नेपाली भाषा र अंग्र्रेजी भाषा एक साथ शुरु देखि नै सिक्ने पाठ्यक्रम निर्माण गर्ने र दोश्रो ढाँचामा नेपाली बोल्नेहरुका लागि नेपाली भाषा अनि उसको समुदायमा छिमेकीहरुले बोल्ने कुनै एक अरु भाषा जस्तै रामेछापकोले तामाङ, भोजपुरकोले बान्तवा, पाल्पाकोले मगर आदि अनि अंग्र्रेजी एक साथ शिक्षण गर्ने व्यवस्था गर्ने हो भने रोजगारीको अवसर साथै नेपालमा बोलिने भाषा हामी सबैको हो भन्ने भावना जागृत हुन्छ । आज सयौंको संख्यामा यूरोपियन, अमेरिकनहरु नेपालको भाषा खोज्दै, सिक्दै उच्च शिक्षा हाँसिल गरेर विश्वका सर्वश्रेष्ठ विश्वविद्यालयका प्राध्यापक, अन्वेशषक, अनुसन्धाता बनेका छन् भने हामी किन त्यसतो नहुने भन्ने कुरालाई राज्यले सोच्ने हो भने हाम्रो सबै भाषाहरु बाच्नेछन् र भाषिक समस्यालाई समय मै निराकारण गर्न सकिन्छ । यदि त्यसो गर्न सकियो भने मात्र मातृभाषा दिवस मनाउनुको सार्थकता हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७