नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइल र इन्टरनेट सेवा पाउने


१९ चैत्र २०७७, बिहीबार
airlines

काठमाडौं, १९ चैत । नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने निर्णय गरेपछि नेपाली यात्रुले विमानभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट चलाउन पाउने भएका हुन् ।

अब नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट प्रयोग गर्न सकिने र १० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

गत ९ चैतमा बसेको प्राधिकरण बोर्डको बैठकले यो विषयमा निर्णय गरेको प्राधिकरणका प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार हवाई जहाजभित्र प्रयोग हुने इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन परेमा प्राधिकरण बोर्डले इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन दिने कम्पनीलाई स्वीकृति प्रदान गर्नेछ ।

प्राधिकरणले यो निर्णय गरेसँगै नेपाल दक्षिण एसियामा १० हजार फिटमाथि जहाजमा दूरसञ्चार सेवा उपलब्ध गराउने तेस्रो मुलुक भएको छ । यसअघि अफगानिस्तान र भारतले यस्तो सेवा सञ्चालनमा ल्याइसकेका छन् । यसअघि प्राधिकरणमा विभिन्न कम्पनीले आवेदन दिए तापनि कुनै नीति नहुँदा स्वीकृति प्रदान गर्न सकिएको थिएन ।

प्राधिकरणका अनुसार ६ महिनाअघि थालस इंकले पहिलोपटक प्राधिकरणमा १० हजार फिटमाथि आकाशमा उड्ने विमानमा इन्टरनेट चल्ने बनाउन स्वीकृति मागेको थियो । १० हजार फिटभन्दा माथि उड्ने विमानमा मोबाइल सेवा र इन्टरनेट सेवा सञ्चालनका लागि विमानभित्रै पिको सेल अर्थात् फोरजीको सानो बीटीएस राख्नुपर्ने हुन्छ ।

सो बीटीएस स्याटेलाइटमार्फत कनेक्ट भई विमानमा सेवा उपलब्ध हुने गर्छ । बीटीएस स्याटेलाइटमा कनेक्सन भने जुन देशको विमान हो । त्यही देशको दूरसञ्चार सेवा प्रदायकसँग हुने गर्छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७