माओवादी केन्द्र र जसपाका कारण नयाँ सरकार निर्माण प्रक्रिया शुरु हुन सकेन : विश्वप्रकाश


१९ चैत्र २०७७, बिहीबार
bishwo prakash sharma
फाइल फोटो

काठमाडौं, १९ चैत । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का कारण नयाँ सरकार निर्माण प्रक्रिया शुरु हुन नसकेको बताएका छन् ।

आज (बिहीबार) समसामयिक राजनीतिक घटनाक्रमको सम्बन्धमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता नगरेको अवस्था र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएको कारणले नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन नसकेको बताए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितीय रूपमा एक ढिक्का भएर उभिएमा मात्रै नेपाली कांग्रेसको नेतृत्वमा अथवा अरू कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउने बताए ।

उनले भने, ‘माओवादी केन्द्रले सरकारको समर्थनको सन्दर्भमा केही टुंगो गर्नुपर्ने हो । कि समर्थन निरन्तर छ भन्ने उहाँहरूले निर्णय गर्नुपर्ने हो । समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखित रूपमा संसद् सचिवालयमार्फतबाट सूचना जारी गरेर गर्नुपर्ने हो । त्यो परिस्थिति विकास भइसकेपछि स्वाभाविक रूपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिनेछैन । संसदमा सरकारलाई दिएको समर्थन उहाँहरूले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत् रूपमा यसको निर्णयमा पुग्नेछौँ । त्यसपछि विश्वासको मत प्राप्त हुने वर्तमान सरकारको अवस्था भएन भने नयाँ सरकारका लागि ढोका खुल्ने अवस्था हुन्छ । त्यो वेलामा सत्तासमीकरणको विषय ठीक समयमा परिपक्व ढंगले एउटा परिस्थितिको विकास भएर जान्छ । अनि सरकार बन्न सक्छ ।’

प्रवक्ता शर्माले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले गणितीय रूपमा एकढिक्का भएर उभिने संकेत प्रष्ट नगरेको अवस्थामा नेपाली कांग्रेस प्रधानमन्त्री पदका लागि तयार नरहेको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७