एक महिनामा १३८ देशबाट १५ हजार विदेशी पर्यटक भित्रिए


१९ चैत्र २०७७, बिहीबार

काठमाडौं, १९ चैत । कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्यांकअनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १३८ देशबाट १४ हजार ९७७ विदेशी नागरिक नेपाल भित्रिएका छन् । तीमध्ये ११ हजार दुई पुरुष र तीन हजार ९६३ महिला र १२ अन्य नागरिक रहेका छन् ।

विभागको तथ्यांकअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट सात हजार ६५८ पर्यटक नेपाल भित्रिएका छन् । जसमा छ हजार १६९ पुरुष, एक हजार ४७७ महिला र १२ अन्य नागरिक रहेका छन् । यसैगरी चीनबाट एक हजार २०७ पर्यटक नेपाल भित्रिएका छन्। जसमा एक हजार २९ पुरुष र १७८ महिला छन् ।

एक महिनामा अमेरिकाबाट एक हजार ५६ पुरुष र ६४७ महिला गरी एक हजार ७०३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विभागको तथ्यांकअनुसार गत जनवरीमा आठ हजार ८७४ र फब्रुअरीमा नौ हजार १४६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । गत फेब्रुअरीको तुलनामा मार्च महिनामा झण्डै पाँच हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

यसैगरी एक महिनामा नौ हजार ५८७ विदेशी पर्यटक स्वदेश फर्किएका छन् । जसमा छ हजार ६६३ पुरुष, दुई हजार ९१३ महिला र ११ अन्य नागरिक रहेका छन् । यस्तै एक महिनामा ४९ हजार पाँच नेपाली विदेश गएका छन् ।

जसमा चालिस हजार ५६ पुरुष, आठ हजार ८४८ महिला र एक अन्य नागरिक रहेका छन् । एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७१ हजार २७० जना नेपाल भित्रिए भने ५८ हजार ५९२ जना बाहिरिएका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७