कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा


२१ चैत्र २०७७, शनिबार
deuwa

काठमाडौं, २१ चैत । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठन गर्न पहल गर्ने भएको छ । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।

कांग्रेसको शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकार संविधान र लोकतन्त्र मास्न उद्यत् रहेको निष्कर्ष निकालेको छ । ‘कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको हो’, प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

कांग्रेस नयाँ सरकार गठनको रणनीतिबारे बोलेको छैन । उसले विपक्षी दलहरू मिलेर अविश्वासको प्रस्ताव गर्नेबारे कुनै निर्णय गरेको छैन। संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न एकचौथाइ सांसद आवश्यक पर्छ । कांग्रेस एक्लैले अविश्वासको प्रस्ताव दर्ता गर्न पर्याप्त संख्या पुग्दैन । प्रवक्ता शर्माले अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे कुनै निर्णय नभएको सुनाए । ‘यसबारे हामीले निर्णय गरेका छैनौं’, शर्माले भने, ‘कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णय भएकाले कसरी अगाडि बढ्ने भन्नेमा छलफल गर्न बाँकी छ ।’

सर्वाेच्च अदालतले फागुन २३ गते नेकपा एकता बदर गर्दै साविककै एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरेको थियो । त्यसपछि बसेको कांग्रेस पदाधिकारी बैठकले सरकार गठनका लागि पार्टीले पहल गर्नुपर्ने निर्णय गरेको थियो । उक्त बैठकले सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थियो ।

सभापति देउवाले भने जनादेश प्रतिपक्षमै बस्न भएकाले तत्काल सरकार गठनमा लाग्न नहुनेमा जोड दिँदै आएका छन् । देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने बताउँदै आएका छन् । पछिल्लो समय माओवादी केन्द्रले सत्तारूढ एमालेइतर दलहरू मिलेर सरकार गठन गर्नुपर्ने भन्दै कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग औपचारिक छलफल गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवा र जसपाका शीर्ष नेताहरूसँग पटक पटक भेटवार्ता गरेका छन् । दाहालले देउवालाई सरकारको नेतृत्व गर्ने गरी सत्ता समीकरण बनाउन पहलकदमी लिन पनि प्रस्ताव गरिसकेका छन् । देउवा भने ओलीको विकल्प खोज्नेबारे जसपाको निर्णयको पर्खाइमा छन् ।

‘जसपाले यो सरकारको विकल्पमा जाने निर्णय नै नगरी कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गर्न हतार गर्दैन’, कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले भने, ‘एमाले बाहेक दलहरू एक ठाउँमा आउने अवस्था भयो र जसपाले संस्थागत रूपमै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने निर्णय गरेपछि कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्छ ।’ उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बताए । उनका अनुसार कांग्रेसले ओली नेतृत्वको सरकार स्वीकार नगर्ने निर्णय गरेको छ ।

जसपाभित्र यो सरकारप्रतिको दृष्टिकोणमा मतभेद देखिन्छ । पूर्वराजपा समूहका नेता ओलीसँगै मिलेर अगाडि बढ्नुपर्ने पक्षमा देखिन्छन् । पूर्वसंघीय समाजवादीका अधिकांश नेता ओलीको विकल्प खोज्नुपर्ने अडानमा छन् । जसपा विभाजित भएको अवस्थामा नयाँ सरकार गठनको पहल गर्नु आत्मघाती हुने देउवा पक्षीय नेताहरूको विश्लेषण छ ।

संसद्को अंकगणित प्रष्ट नभएसम्म नयाँ सरकार गठनतर्फ देउवाको चासो देखिँदैन । देउवाले पार्टीको आसन्न १४औं महाधिवेशन तोकिएकै समयमा गर्ने गरी काम गर्न नेता, कार्यकर्तालाई निर्देशन दिने गरेका छन् । पार्टी विधानअनुसार प्रत्येक चार वर्षमा गर्नुपर्ने महाधिवेशन पाँच वर्षमा पनि हुन नसकेपछि समयावधि ६ महिना थप गरिएको छ । संवैधानिक व्यवस्थाको सुविधा उपयोग गरेको कांग्रेसले आउने भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्था छ । देउवाले सरकारमा जानुभन्दा महाधिवेशनबाट नेतृत्वमा दोहोरिन चाहेको उनीनिकट नेता बताउँछन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७