प्रधानमन्त्री ओलीले भने– कोही प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन हुन्छ ?


२१ चैत्र २०७७, शनिबार
kp oli2021 04 03 06 14 39

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी ओलीले कसैले आफू प्रधानमन्त्री हुन नपाउँदा प्रतिगमन भयो भन्नु आत्मसन्तुष्टि मात्रै भएको टिप्पणी गरेका छन् । ‘प्रतिगमन भयो भन्ने स्यालहुइँया मच्चाए । कहाँ भयो प्रतिगमन ? प्रतिगमन भनेको के हो ? परिभाषा नै नबुझी प्रतिगमन भयो भन्ने ?’

शुक्रबार मेलम्ची खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा ओलीले भने, ‘ख्यालठट्टा हो प्रतिगमन भनेको ? यतिसाह्रो जनता अलमल्याउने ? कोही शासनमा पुग्न पायो भने क्रान्ति भइहाल्ने, कोही शासनमा पुग्न पाएन भने प्रतिगमन भइहाल्छ ? कोही प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन हुन्छ ?’

ओलीले केहीलाई अवैध बाटोबाट आफू प्रधानमन्त्री हुन पाउनुपर्छ भन्ने लागेको र त्यसो हुन नसक्दा प्रतिगमन भयो भनेर अफवाह फैलाएको बताए । ‘संविधान च्यातियो, मासियो, गणतन्त्र खत्तम हुने भयो, लोकतन्त्र खत्तम हुने भयो, संघीयता त ध्वस्तै पार्न आँट्यो भन्ने खालका कुराहरू व्यक्तिगत आकांक्षाका परिपूर्ति नहुँदा असन्तुष्टि अभिव्यक्त गर्ने कुरा मात्रै हुन्,’ ओलीले भने ।

ओलीले पुनर्स्थापित प्रतिनिधिसभाको भूमिकालाई लिएर फेरि असन्तुष्टि पोखेका छन् । ओलीले तानातान गर्ने थलो बनाइएका कारण संसद् कुनै काम गर्न नसक्ने अवस्थामा पुगेको बताए । ‘संसद् पुनर्स्थापना भयो । पुनर्स्थापित संसद् न काम अघि बढाउन सक्छ न केही गर्न सक्छ । त्यस्तो स्थितिमा संसद् तानातानको एउटा थलो भएको छ । संसद्लाई तानातानको थलो बनाउने होइन ।

दलका, व्यक्तिका, केही बलिया व्यक्ति हौँ भन्नेका स्वार्थको तानातानको थलो संसद् हुनु हुँदैन,’ ओलीले भने, ‘संसद्मा देशबारे, जनताबारे र विकास निर्माणबारे सोचिनुपर्छ । देशलाई कसरी अघि बढाउने भन्नेबारे संसद्ले सोच्नुपर्छ । देशमा शान्ति, सुव्यवस्था, अमनचयन कसरी राख्ने भन्नेबारे संसद्ले सोच्नुपर्छ ।’

उनले आफूले पहिले पनि सरकारलाई काम गर्न दिइएन भनेर भनेको र अहिले पनि अवस्था उतै रहेको बताए । ओलीले अन्योल र अस्थिरतामा रुमल्लिरहने कुरा हुन नसक्ने भन्दै विकासको बाटोमा अघि बढ्ने बताए । ‘तपाईंहरूले सुन्नुभएको छ, गोपालप्रसाद रिमालले लेख्नुभएको ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल’ भन्ने गीत । हो अब त्यस्तै हुन्छ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७