प्रधानमन्त्रीका दुई सन्देश : नयाँ गठबन्धन बनाउन खोजे संसद् विघटन, समर्थन फिर्ता लिए राजीनामा


२२ चैत्र २०७७, आईतवार
kp oli2021 04 04 06 20 58

काठमाडौं, २२ चैत । कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको निर्णय गरेको अर्को दिन प्रधानमन्त्री केपी ओलीले पुनः संसद् विघटन र आफ्नो राजीनामाको सम्भावना देखाएका छन् ।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार बालुवाटारबाट शुभारम्भ गर्दै ओलीले सधैँ संसद्को अंकगणितले सही निर्णय दिन नसक्ने र त्यस्तो कोसिस भए संसद् विघटन हुन सक्ने प्रधानमन्त्री ओलीको संकेत छ । यसबाहेक प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले सर्मथन फिर्ता लिए आफ्नो राजीनामा आउने पनि बताएका छन् ।

संसद्मा अनुपयुक्त ढंगले अंकगणितको खेल हुने र त्यसले अनुपयुक्त आकार लिने सम्भावना आएमा फेरि ताजा जनादेशमा जान बाध्य हुने ओलीको भनाइ छ । ‘कहिलेकाहीं कृत्रिम ढंगले केही मान्छेले संसदीय अंकगणितलाई यताबाट उता सार्दिन्छन्, मिलाई दिन्छन् । संसदीय गणितले सधैँ राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्छ भन्न सकिँदैन,’ ओलीले भने, ‘त्यस्तो भयो भने देश, जनता र विकासको आवश्यकताको अनुकूलताका लागि ताजा जनादेशमा जानुपर्छ ।’

संसद्मा देश, जनता र विकासको आवश्यकताबारे बहस हुनुपर्नेमा त्यसविपरीतका खेल भए ताजा जनादेशमा जानुबाहेकको विकल्प नहुने उनको तर्क छ । ‘देश, जनता, विकासको आवश्यकताअनुसारको अंकगणित जनप्रतिनिधि संस्थाहरू, खासगरी संसद्लाई बनाउनुपर्छ । यदि त्यो भएन र आवश्यकताभन्दा विपरीतको अंकगणित, विभिन्न व्यक्तिको स्वार्थको खेलबाट अगाडि गए ताजा जनादेशमा जानुपर्छ,’ ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए पदबाट राजीनामा दिने पनि बताएका छन्ु । प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वको सरकार गठनको पहल थाल्ने निर्णय लिएको अर्को दिन ओलीको यस्तो भनाइ आएको हो । प्रधानमन्त्री ओलीले समर्थन फिर्ता नलिने, तर निरन्तर राजीनामा माग्ने बेठीक भएको भन्दै राजीनामाका लागि समर्थन फिर्ता सर्तका रूपमा अगाडि सारे ।

‘आज मागेको हो र राजीनामा, मागेको–माग्यै छन् त । मागेपिच्छे म कसरी दिन सक्छु ?’ निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार शुभारम्भ गर्दै ओलीले भने, ‘एउटाले माग्दैन, दुइटाले माग्दैन, एक दिन माग्दैन, दुई दिन माग्दैन । माग्या छ माग्या छ ।’

समर्थन फिर्ता लिइदेऊ भन्दा पनि नलिने, तर राजीनामा भने मागिरहने कुरा बेठीक भएको उनको तर्क थियो । ‘राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न !’ ओलीको भनाइ थियो । पूर्ववत् पार्टी ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि पनि सरकारमाथिको समर्थन कायमै राखेको माओवादी केन्द्रले त्यसबारे ठोस निर्णय लिन आइतबार स्थायी समिति बैठक डाकेको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले अर्थपूर्ण भनाइ सार्वजनिक गरेका हुन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७