माओवादी केन्द्रले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने


२३ चैत्र २०७७, सोमबार
Sherdhan Rai

विराटनगर, २३ चैत । नेकपा माओवादी केन्द्रले पनि प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता लिने भएको छ । माओवादी केन्द्रले आज (सोमबार) दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकबाट उसले अविश्वास प्रस्ताव फिर्ता लिने भएको हो ।

नेकपा हुँदा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल पक्षका सांसदले एमाले पुनर्स्थापना भएपछि यही चैत १७ गते आफ्नो नाम झिकेका छन् । जसले गर्दा अविश्वास प्रस्ताव पास नहुने देखेपछि माओवादी केन्द्रले पनि निर्णय फिर्ता लिने भएको हो । माओवादी केन्द्र संसदीय दल स्रोतका अनुसार आज बस्ने बैठकमा प्रस्तावक र समर्थकको सम्बोधनपछि प्रस्ताव फिर्ता गरिने छ ।

तत्कालीन नेकपाका प्रचण्ड–नेपाल समूहका ३७ सांसदले गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर पार्टीको नाम विवादमा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते कट्टेलकै पक्षमा फैसला गर्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरिदिएपछि राजनीतिक ‘कोर्स’ उलटपुलट भएको हो ।

अविश्वास प्रस्तावमा नेपाल समूहका २२ र प्रचण्ड समूहका १५ प्रदेश सांसदले हस्ताक्ष गरेका थिए । ९३ सांसद रहेको प्रदेश सभामा अविश्वास प्रस्ताव पास गर्न ४७ सांसद आवश्यक पर्छ । तर नेपाल पक्षका सांसदले अविश्वास प्रस्तावबाट हात झिकेपछि प्रस्ताव पास नहुने निश्चित भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७