विमानस्थलबाट रोकिएन सुन तस्करी : राइसकुकरभित्र लुकाएर ल्याएको ७० लाखको सुन बरामद


२६ चैत्र २०७७, बिहीबार
God arrest Airport

काठमाडौं, २६ चैत । दैनिकजसो बरामद भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी रोकिएको छैन । प्रहरी र भन्सार अधिकारीलाई छक्याउन तस्कर समूहले नयाँ–नयाँ शैली अपनाउन थालेका छन् ।

राइसकुकरको तल्लो भागमा सुनको जलप लगाएर समेत तस्करी हुन थालेको छ । मंगलबार राइसकुकरभित्र राखेर तस्करी गर्न लागिएको करिब नौ सय ग्राम सुन बरामद गरेको छ । सुनको मूल्य ७० लाख रुपैयाँ बराबरको छ ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत दुबईबाट आएका प्रगास महरालाई भन्सार कार्यालयले तस्करीको नौ सय ३४ ग्राम सुनसहित पक्राउ गरेको हो । उनले राइसकुुकरको तल्लो भागमा फ्याक्ट्रीमै सुन टाँसेर ल्याएका थिए । भन्सारको एक्सरेले सुन पत्ता लगाएको हो । पक्राउ परेका महरा सुन तस्कर गिरोहले प्रयोग गरेका भरिया भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

केही दिनयता नियमित जसो विमानस्थलमा तस्करीको सुन बरामद हुँदै आएको छ । गत २० चैतमा मात्र प्रहरीले दुबईबाट आएका विष्णुबहादुर भण्डारीलाई पाँच सय १६ ग्राम सुनसहित पक्राउ गरेको थियो । त्यसअघि ११ चैतमा दुबईबाट आएका सहदेव चौधरी ७० ग्राम सुनसहित पक्राउ परेका थिए ।

१० चैतमा रिचार्जेबेल ब्याट्रीभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने धादिङका रमेश सापकोटा र सिन्धुलीका निर्दोष थिङ पक्राउ परेका थिए । उनीहरूबाट चार सय ग्राम सुन बरामद भएको थियो । सो सुन दुबईबाट ल्याइएको थियो । तस्करी गर्ने समूहले विविध सामानभित्र लुकाएर तस्करी गर्न खोज्ने गरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोला बताए ।

यसरी तस्करी गर्न खोज्ने भरिया पक्राउ परे पनि नाइकेमाथि अनुसन्धान हुने गरेको छैन । यस्ता घटनामा प्रहरीले अनुसन्धान गर्न पाउँदैन । प्रहरीले भन्सारलाई बुझाउने र भन्सारले सम्बन्धित व्यक्तिलाई मात्र कारबाही गर्दा नाइकेहरू जोगिने र भरियाहरू मात्र कारबाहीमा पर्ने प्रवृत्ति छ । यसरी तस्करी गर्ने दर्जनौँ गिरोह दुबईमा सक्रिय छन् । एक तोला सुनमै दुबई र नेपालमा करिब १० हजार रुपैयाँको फरक रहेकाले तस्करी हुने गरेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७