वनमन्त्रीको निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई निर्देशन : हुलाकी सडक निर्माणमा अवरोध नगर्नू


२७ चैत्र २०७७, शुक्रबार
prembahadur aale2021 01 17 06 54 32

काठमाडौं, २७ चैत । वनमन्त्री प्रेम आलेले राष्ट्रिय गौरवको आयोजना वीरगञ्ज–ठोरी हुलाकी सडक निर्माणमा अवरोध नपुर्‍याउन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई निर्देशन दिएका छन् ।

वातावरणीय प्रभाव मूल्यांकन नगरी काम अगाडि बढाएको भन्दै निकुञ्जले वीरगञ्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी १ र २ मा करिब ५ किलोमिटर सडक निर्माणमा रोक लगाएको छ । सांसद लक्ष्मणलाल कर्णसहितको एक प्रतिनिधि टोलीले वनमन्त्री आलेसँग भेट गरी तत्काल सडक निर्माणको काम अघि बढाउने वातावरण बनाई दिन विहीबार आग्रह गरेको थियो । मन्त्री आलेले संरक्षण अधिकृत बराललाई फोन गरेर सडक निर्माण कार्य नरोक्न निर्देशन दिएको भेटमा सहभागी प्रतिनिधि टोलीका सदस्य सन्तोष श्रेष्ठले जानकारी दिएका छन् ।

संरक्षण अधिकृत बराललाई टेलिफोन गर्दै मन्त्री आलेले भने, ‘राष्ट्रिय गौरवको आयोजना हो । वातावरण प्रभाव मूल्यांकन पनि हुँदै गर्छ । काम पनि नरोकौं । काम अगाडि नबढे बजेट नै फ्रिज हुन सक्छ । जनताको काम हो । यस्तो काममा हामीले सहयोग नै गर्नुपर्छ ।’ मन्त्रीसँगको टेलिफोन सम्वादमा संरक्षण अधिकृत बरालले फास्ट ट्रयाकबाट वातावरणीय प्रभाव मूल्यांकन गरेर काम अघि बढाउन सकिने बताएका थिए । तर मन्त्री आलेले वातावरणीय प्रभाव मूल्यांकन गर्दा ६ महिना बित्न सक्ने भन्दै दुवै काम सँगसँगै अगाडि बढाउन सकिने बताएका थिए ।

प्रतिनिधि टोलीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निर्देशकसँग पनि भेट गरेको थियो । निकुञ्जले सडक निर्माणमा अवरोध पुर्‍याएको भन्दै ठेकदार कम्पनीले अधुरो सडक हस्तान्तरण गरेर हिंडेपछि स्थानीयले संघर्ष समिति नै बनाएर चरणवद्ध आन्दोलन गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७