म्यानमारमा जातीय सेनाको हमला : १० सुरक्षाकर्मी मारिए


२८ चैत्र २०७७, शनिबार
myanmar 1

काठमाडौं, २८ चैत । म्यानमारमा सैन्य ‘कु’ को विरोध गर्दै आएका जातीय सैन्य गठबन्धनका सशस्त्र लडाकुले प्रहरी चौकीमा आक्रमण गर्दा कम्तिमा १० सुरक्षाकर्मी मारिएका छन् । म्यानमारको पूर्वी क्षेत्रको शान प्रान्तस्थित नउङमोङमा रहेको एक प्रहरी चौकीमा जातीय सेनाको संयुक्त फौजले शनिबार आक्रमण गरेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

आराकन आर्मी, ताङ नेशनस लिबरेशन आर्मी र म्यानमार नेशनल डेमोक्रेटिक अलायन्सका लडाकुहरुले शनिबार बिहान आक्रमण गरेको बताइएको छ । हमलामा १० जना प्रहरी मारिएको बताइएको छ । तर स्थानीय केही मिडियाले भने १४ जना प्रहरी मारिएको दावी गरेका छन् ।

म्यानमारको सेनाले भने यसबारे कुनै टिप्पणी गरेको छैन । गत फेब्रुअरीमा म्यानमारको सेनाले सत्ता कब्जा गरेपछि नै यहाँका जातीय समूहहरुले त्यसको विरोध गर्दै आएका छन् । कतिपय स्थानलाई भूमिगत समूहहरुले कब्जामा लिएको पनि बताइएको छ । गठबन्धनमा सहभागी समूहले कू विरोधी प्रदर्शनलाई समर्थन जनाउँदैआएका छन् ।

विरोधका क्रममा सडक प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा अहिलेसम्म ६ सयभन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ । म्यानमारमा पछिल्लो समय सेना आक्रामक बन्दै जाँदा झन् ठूला प्रदर्शन हन थालेका छन् । विभिन्न विदेशी शक्तिले समेत म्यानमारको सेनाको आलोचना गर्दै आएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७