तीन दलप्रति प्रधानमन्त्री आक्रोशित, ‘शकुनीका गोटी’ फ्याँकिदिने चेतावनी


२८ चैत्र २०७७, शनिबार
kp oli 2 scaled

काठमाडौं, २८ चैत । सत्ता परिवर्तनको खेलमा लागेको भन्दै तीन दलमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको भन्दै कटाक्ष समेत गरे । नेपाली कांग्रेससहित माओवादी केन्द्र र जसपाबीच वैकल्पिक सरकार गठनका लागि औपचारिक छलफल भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले आक्रोश पोख्दै उनीहरु विकास विरोधी भएको बताए ।

भूकम्पले ध्वस्त बनाएका संरचनाहरूको पुनर्निर्माण, अस्पताल र बाटाहरु निर्माणका लागि सरकारले उल्लेखनीय काम गरेको दावी गर्दै उनले विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरू भने सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको उनले आरोप लगाए । उनले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई ‘शकुनी’ को संज्ञा समेत दिए । उनले संसदीय अंक गणितलाई दुरुपयोग गर्ने ‘शकुनीका गोटी’ नै आफूले फ्याँकिदिने चेतावनी समेत दिए ।

उनले थपे, ‘सरकार परिर्वतनका प्रयासहरु भइरहेका छन् । सरकार परिर्वतन गर्न खोज्नेहरूलाई मैले सोध्ने गरेको छु । सरकार किन परिर्वतन गर्नुप¥यो ? पुनर्निर्माणका काम अघि बढिरहेकाले हो ? कि अरु केही कारण छन् । हामीले ३०९ वटा अस्पतालको एकैचोटी शिलान्यास ग¥यौं, धमाधम बन्दै छन् । त्यस कारणले हो ? १६५ वटा बाटाहरु एकैपटक शिलान्यास गर्‍यौं र बन्दैछन् । त्यस कारणले हो ? एक हप्ताभित्र देशभित्र नयाँ ८ वटा औद्योगिक क्षेत्रहरु स्थापना गर्‍यौ । त्यस कारणले हो ? केही पनि भएन भन्नु हुन्छ उहाँहरु । यो त लखनउको एक्काको घोडाले पनि देख्छ यो भन्दा बढी त । त्यसले बाटो त देख्छ । यी त बाटो पनि देख्दैनन् । मलाई अचम्म लाग्छ ।’

मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरूले संसदीय अंक गणितलाई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्ने प्रयास गरिरहेको भन्दै उनले आफूले त्यस्तो हुन नदिने दाबी गरे । उनले राजनीतिमा देखिएका शकुनीहरुले संसदको अंक गणितलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न खोजेको उल्लेख गर्दै शकुनीका गोटी नै फ्याँक्न आफू एक्लै पर्याप्त भएको दाबी गरे ।

उनले भने, ‘अस्थिरता ल्याउन खोज्ने तत्वहरु, संसदीय अंक गणितलाई गलत प्रयोजनका लागि पु¥याउने प्रयासहरु, अस्थिरताका लागि अंक गणितको दुरुपयोग गर्न खोज्ने प्रयासहरु विल्कुलै सकारात्मक होइनन् । देश हितमा छैनन् । विकासको पक्षमा छैनन् । शान्तिको पक्षमा छैनन् । के भएको थियो ? केही भएको थियो र ? सरकार विकासका काममा लागिरहेको थियो । मलाई सरकार जान्छ कि भन्ने कुनै पिर पनि छैन । पहिले पनि म सरकारबाट हटाइएको हुँ । फेरि जनताले ल्याए । केही छैन १८–२० महिना होला । त्यसपछि फेरी यस्तो अंक गणितलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फ्याँकिने छन् । गोटी नै फ्याक्दिएपछि सकुनीले के लडाउँछ ?’

पाण्डव र रामको दृष्टान्त दिदै उनले केही महिनालाई तलमाथि परिहाल्यो भने पनि आफू फेरि पनि सत्ताको नेतृत्वमा आईपुग्ने दाबी गरे । समृद्ध नेपाल निर्माणको उद्देश्यसाथ अघि बढेका र सिसीमा औषधि बेच्ने बीचको भेद खुट्याउनु पर्ने भन्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गरे ।

उनले भने, ‘जबसम्म राजनीति परिपक्व हुदैन तबसम्म, जबसम्म मान्छेले सही र गलत छुट्याउँदैन तबसम्म, जबसम्म देश र व्यक्तिगत स्वार्थका बीचको अन्तर छुट्याउन सक्तैन आम जनताले तबसम्म यस्ता समस्याहरु देखा पर्छन । देश बनाउने संकल्प र अठोट र एउटा सिसीमा औषधी बेच्नेका बीचको भेद, एउटा अर्थपुर्ण कुरा र विज्ञापनलाई एट्रक्याटिभ बनाउनका लागि गरिएको प्रचारका बीचमा भेद पाउँदैनौ भने अनि देश अलमलमा पर्छ । बेच्नुपर्ने हुन्छ एउटा गोगो सावुन । विज्ञापनमा के आउँछ ? गाईले पनि तैलाई लखेट्छ । कुखुराले पनि तैलाई लखेट्छ भनेर आउँछ । गोगो सावुन र गाई र कुखुराले लखेट्ने कुराको भेट कहाँ हुन्छ ? …तालमेल नभएका कुराको विज्ञापन र देश विकास गर्ने अठोट संकल्प, दृष्टिकोणका बीच भिन्नता छुट्याउनुपर्यो । अलि अलि समस्या त हुन्छन् ।’ उनले उद्योग व्यवसाय विस्तार र विकासमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै सरकारलाई बुँदागत रुपमा सुझाव दिन आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७