नेपालमा गैंडाको संख्या ७५२ पुग्यो, पछिल्लो ६ वर्षमा १०७ थपिए


२९ चैत्र २०७७, आईतवार
rhino
फाइल फोटो

चितवन, २९ चैत । नेपालमा पछिल्लो छ वर्षको अवधिमा गैंडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो ६ वर्षमा नेपालमा १०७ गैंडा बढेको तथ्यांकले देखाएको छ ।

राष्ट्रिय गैंडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको संख्या ७५२ पुगेको जानकारी दिए । यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैंडा थिए । शुक्रबार सकिएको गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैंडा भेटिएका छन् । यो संख्या सन् २०१५ मा ६०५ मात्रै थियो । पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य तीन राष्ट्रिय निकुञ्जमा गैंडाको संख्यामा वृद्धि भएको ओलीले बताए । ओलीका अनुसार चितवनपछि सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ गैंडा भेटिएको छ ।

त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गैंडा भेटिएको ओलीले बताए । पर्सा राष्ट्रिय निकुञ्जमा भने तीन मात्रै गैंडा फेला परेको ओलीले बताए । अघिल्लो गणनामा पर्सामा चार वटा गैंडा पाइएको थियो । राष्ट्रिय गैंडा गणनाअनुसार नेपालमा १४६ भाले र १९८ पोथी भेटिएको उल्लेख गर्दै बाँकी ४०८ गैँडाको लिंग पहिचान हुन सकेको छैन ।

पाँच सय २० वयस्क गैँडा भेटिँदा ९६ अर्धवयस्क र १३६ बच्चा गैंडा भेटिएको ओलीले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपक खरालले चैत ९ गतेदेखि शुरु गरिएको गणना चैत २७ गते रातिमात्रै सकिएको बताए । गणना सकिएपछि शुक्रबार र शनिबार तथ्यांक संकलन तथा प्रविष्ट गर्ने काम भएको उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी गैंडा गणनामा २३ दिन लागेको भन्दै खरालले गणनामा २५० गणक तथा ४३ हात्ती प्रयोग भएको जानकारी दिए । गैंडा गणनाकै क्रममा ध्रुवे हात्तीले आक्रमण गर्दा सात जना घाइते भएको तथा एक जना गम्भीर घाइतेको काठमाडौंमा उपचार हुँदै गरेको उनले बताए ।

हात्तीले आक्रमण गरेपछि एक दिन र होलीको दिनमा गैँडा गणना हुन नसकेको भन्दै खरालले अन्य दिन बिहान ५ बजेदेखि राति अबेरसम्म गणना गरिएको जानकारी दिए। पर्सा र चितवनलाई १९ ब्लकमा विभाजन गरेर गैँडा गणना गरिएको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७