जबरजस्ती सम्बन्धबाट बसेको ८ महिनाको गर्भ फालेपछि…


३० चैत्र २०७७, सोमबार
Garvapatan

दोलखा, ३० चैत । मेलुङ गाउँपालिका–७ की ४० वर्षीया एक महिला पाँच वर्षदेखि एकल रूपमा थिइन् । तर, छिमेकी ४५ वर्षीय पुरुषले स्थानीय बजार जाने क्रममा ‘जबरजस्ती’ शारीरिक सम्बन्ध राखेका कारण गर्भ रहन गयो । तर, त्यो गर्भ यही चैत ५ गते आठ महिनामा फालियो, त्यो पनि छोराकै उपस्थितिमा ।

गर्भपतनका कारण ती महिलाको ज्यान जोखिममा परेपछि पीडित पक्ष प्रहरीमा पुगेको थियो । तर, प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेपछि पीडित महिलाले न्याय र उपचार नपाउने अवस्था देखिएको छ । कुन कानुनअन्तर्गत मुद्दा चलाउने भन्ने अन्योलका कारण उजुरी दर्ता गर्न नमिलेको दोलखाका प्रहरी प्रमुख डीएसपी भेषराज रिजालले बताए । यसले पीडित पक्षलाई न्याय दिलाउन कानुनी जटिलता बढाएको जनाइएको छ ।

एकल महिलाका २१ वर्षीय छोराले आमाको ज्यान बचाउन गर्भपतनका लागि आफैं गएको स्वीकार गरे । ‘एक्कासी बिरामी भएपछि आमालाई सोधपुछ गर्दा गर्भको कुरा आयो र, त्यो मान्छेलाई बोलाएर गर्भपतन गराउन काठमाडौं कलंकी गएका हौं’, ती युवकले भने । ती महिलाले आफूलाई जबर्जस्ती रातारात गर्भपतन गर्न काठमाडौं लगेको जनाएकी छन् ।

गर्भपतनपछि पोसिलो खानेकुरा र अन्य उपचार अभावमा ती महिला थलिँदै गएपछि गाउँलेले उपचारार्थ चरिकोट अस्पताल ल्याएका थिए । त्यही बेला उक्त घटना बाहिरिएको हो । डीएसपी रिजालले गर्भपतन गरेको क्षेत्र आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भएकाले कानुनी जटिलता आएको बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७