माओवादी केन्द्रका थप चार सांसद पदमुक्त


३० चैत्र २०७७, सोमबार
pradesh 2

जनकपुरधाम, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले पार्टीमा प्रवेश गरेका नेकपा माओवादी केन्द्रका थप चार सांसद पदमुक्त भएका छन् ।

सोमबार माओवादी केन्द्रको सिफारिसमा ती सांसदलाई सभामुख सरोज यादवले पदमुक्त गरेका हुन् । बैठकमा सभामुख यादवले पत्र पढेर माओवादी केन्द्रबाट एमालेमा लागेका रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, ज्वाला साह र मोहम्मद समिरलाई पदमुक्त भएको घोषणा गरे ।

नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेकपा सर्वोच्च अदालतले खारेज गरेपछि नेताहरु फरकधारमा उभिएका थिए । पार्टीको विधान विपरित गएकोले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ (१) ख बमोजिम पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चारै जनालाई कारवाही गरिएको सभामुख समक्ष पठाइएको पत्रमा उल्लेख गरिएको छ ।

चारजना सांसद नेकपा एमालेमा लागेपछि पार्टीको केन्द्रीय समितिले स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि उनीहरुले नदिएपछि उनीहरुलाई पदमुक्त गर्न सिफारिस गरिएको थियो । माओवादी केन्द्रको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११ जना प्रदेशसभा सदस्यहरु थिए । जसमा चारजना कारवाहीमा परेसँगै अब यस पार्टीको प्रदेश–२ मा ७ जना सांसद रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७