तत्काल कुनै क्षेत्र बन्द नहुने, आज नयाँ स्वास्थ्य मापदण्ड सार्वजनिक गरिने


३१ चैत्र २०७७, मंगलवार
pm office 1

काठमाडौं, ३१ चैत । नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले खतराको संकेत देखाए पनि शैक्षिकलगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय सरकारले गरेको छ ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले तत्काल शैक्षिकलगायतका क्षेत्र बन्द गरिनहाल्ने निर्णय गरेको हो । अझै केही दिनको ‘ट्रेन्ड’ हेरेर मात्र यससम्बन्धी थप रणनीति तय गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको एक मन्त्रीले जानकारी दिए । कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र स्वास्थ्य मन्त्रालले भने केही दिन अघि नै कम्तिमा तीना साता विद्यालय बन्द गर्न प्रस्ताव गरेका थिए । मन्त्रिपरिषद्ले भने स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने तर, तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको थियो । स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड आज (मंगलबार) सार्वजनिक गरिने सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

सोमबार शिक्षा मन्त्रालयले पनि विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा सुझाब लिन सरोकारवाहरुसँग छलफल गरेको थियो । उक्त छलफलमा पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाब दिएका थिए । उनीहरुले एक ठाउँ जोखिममा प¥यो भनेर देशभरका शैक्षिक संस्था बन्द गर्दा समस्या हुने बताएका थिए ।

उनीहरुले संविधानले नै माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै दिनुपर्ने सुझाव दिएका थिए । केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त नहुने भनाइ उनीहरूको थियो ।

पछिल्लो समय कोरोना संक्रमणबाट बालबालिका धेरै प्रभावित बनेका छन् । संक्रमणकै कारण केही बालबालिकाको मृत्यु समेत भइसकेको खबर सार्वजनिक भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सोमबार संक्रमण देखिएका ५५९ मध्ये २४ जना १८ वर्षमुनिका छन् । आइतबार यो उमेर समूहका २७ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो १० दिनमा २८० बालबालिकामा कोरोना संक्रमण देखिएको छ । सोमबार संक्रमण देखिएका बालबालिकामा सबैभन्दा कम उमेर पाँच वर्षका एक जना र सबैभन्दा बढी १७ वर्ष उमेरका पाँच जना छन् । त्यसैगरी २८ चैतमा ५२ बालिबालिकामा, २७ चैतमा ३४, २६ चैतमा ५१, २५ चैतमा २५, २४ चैतमा २६, २३ चैतमा १६, २२ चैतमा १४ र २१ चैतमा ११ बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा पछिल्लो समय युके भेरियन्टबाट बालबालिका धेरै प्रभावित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७