एक ठाउँबाट अर्कोमा लैजाँदा गैंडालाई किन झुण्ड्याइन्छ उल्टो ?


३१ चैत्र २०७७, मंगलवार
Gaida1618281539

काठमाडौं, ३१ चैत । अफ्रिकन सभानास्थित आकाशमा गैंडालाई उल्टो पारी झुण्ड्याएर हेलिकप्टरमा लैजाँदै गरेको दृष्य अपत्यारिलो लाग्न सक्छ । तर संरक्षणका लागि गैंडालाई त्यसरी लैजानुको महत्व वास्तवमा फरक रहेको पत्ता लागेको छ ।

गैंडाको स्थानान्तरण प्रायः ट्रकबाट गर्ने गरिन्छ तर कतिपय बाटो नपुगेको विकट स्थानमा यो प्रक्रिया जटिल हुन पुग्छ । त्यसैले दश वर्ष अगाडिदेखि नै संरक्षणवादीहरुले यसमा हेलिकप्टरको प्रयोग गर्न सुरु गरेका हुन् । यसमा गैंडालाई या कुनै स्ट्रेचरमा राखिन्छ या खुट्टा बाँधेर उल्टो झुण्ड्याइन्छ ।

संरक्षणकर्ताहरुले यसमा उल्टो झुण्ड्याउने तरिका बढी मन पराउँछन् किनकी त्यो छिटो, सहज अनि सस्तो हुने तिनको विश्वास रहँदै आएको थियो । तर यसले गैंडालाई के कसरी प्रभाव पार्छ भन्ने चाहिँ स्पष्ट भएको थिएन । यहीबारे पत्ता लगाउन नामिबिया सरकारले एउटा अनुसन्धान टोलीलाई खटाएको हो । र यसको नतिजा जनवरीमा प्रकाशित भएको हो जसले अहिले सबैलाई आश्चर्यमा पारेको छ ।

वन्यजन्तु संरक्षणसम्बन्धी औषध विषयका वरिष्ठ लेक्चरर रोबिन रेडक्लिफ भन्छन्, ‘हामीले सोचेका थियौं कि उल्टो पारेर झुण्ड्याउनु गैंडाका लागि सबैभन्दा नराम्रो होला ।’ तर उल्टै उनको टोलीले यही असहज अनुभव वास्तवमा गैंडाको स्वास्थ्यका लागि सबैभन्दा उचित विकल्प हुने गरेको पत्ता लगाएको हो । हेर्दा अफ्ठेरो देखिए पनि ओसारपसार गर्दा यहि तरिका सबैभन्दा उपयुक्त हुने अध्ययनको निष्कर्ष छ ।

नामिबिया विश्वको एक तिहाइभन्दा धेरै कालो गैंडाको घर हो । र २०१५ मा कोर्नेलको टोलीले १७ सयदेखि २७ सय बढीको तौल भएका झण्डै १२ वटा कालो गैंडालाई क्रेनमा उल्टो पारी झुण्ड्याएर संरक्षण स्थलमा लगि तुलनात्मक अनुसन्धान गरेका हुन् ।

यसमा उनीहरुले गैंडाको स्वासप्रस्वास, भेन्टिलेसनलगायत शारीरिक स्थिति मापन गरेका थिए । यसपछि उल्टो पार्दा तिनको रगतमा अक्सिजनको स्तर उच्च हुने गरेको पाइएको हो । रेडक्लिफका अनुसार उल्टो पार्नुले त्यसको मेरुदण्डलाई तन्काउँछ र हावा जाने ठाउँ खुला गर्न मद्दत पुर्याउँछ । यसका साथै उनीहरुले गैंडालाई नझुण्ड्याइ सुताएर लैजाँदा चाहिँ शरीरमा अक्सिजन नदिने किसिमको स्वास या हावा जसलाई ‘डेड स्पेस’ पनि भनिन्छ, धेरै हुने गरेको पत्ता लगाएका हुन् ।

स्ट्रेचरमा सुताएर लैजानु र उल्टो पारी झुण्ड्याउनुबीच धेरै ठूलो भिन्नता छैन तर यी प्रक्रियाहरुमा गैंडामा प्रयोग गरिने एनेस्थेटिक एकदम शक्तिशाली हुन्छ जसले तिनीहरुको रगतमा अक्सिजनको मात्रा कम गराइ, ‘हाइपोक्जेमिया’ गराउन सक्छ । त्यसैले सो अवस्थामा थोरै सुधार ल्याउन सक्नुले पनि गैंडाको स्वास्थ्यका लागि धेरै राम्रो हुनेछ ।

गैंडालाई त्यसरी लैजान दुईवटा हेलिकप्टरको आवश्यकता पर्दछ । यस काममा गैँडाको शरीरलाई मिलाउन र सबै सुरक्षा सुनिश्चित गराउन ६ जनाको टोलीलाई ३० मिनेटसम्म लाग्ने गर्दछ । जीवजन्तुको खुट्टामा डोरीहरु मिलाउन चाहिँ केही मिनेट मात्र लाग्दछ । त्यसैले पनि यसको लागत तुलनात्मक रुपमा थोरै हुन्छ ।

दुई वटै हेलिकप्टरको मूल्य प्रति घण्टा ४,००० डलर लाग्छ र यसले जीवजन्तुको स्वास्थ्य अवस्थामा पनि कुनै नराम्रो प्रभाव पार्दैन । किनकी यो प्रक्रियामा गाडीमा भन्दा छिटै निर्धारित स्थानसम्म पुर्याउन सकिने हुँदा गैंडालाई लामो समय बेहोस बनाउनु पर्दैन । गैँडालाई बेहोस पार्न त्यलाई ‘ओपोइड ट्राङक्वीलाइजर’ को प्रयोग गरिन्छ जुन ‘मोर्फिन’ भन्दा हजार गुणा बढी शक्तिशाली हुन्छ । जीवजन्तुलाई स्थानान्तरण गर्दाको सबैभन्दा जोखिमपूर्ण पक्ष यही हो ।

किन स्थानान्तरण गरिन्छ गैंडा ?

कालो गैँडा मरुभूमिमा बस्छन् र यसको जनसंख्या अफ्रिकाभर धेरै छ । १९६० को दशकमा अफ्रिकामा १ लाख बढी कालो गैँडा जंगली रुपमा बस्दथे । तर ३० वर्षसम्म आक्रामक रुपमा जारी अवैध शिकारी र तस्करीले ९८ प्रतिशत जीवजन्तुहरुको विनाश गर्यो । यसपछि १९९० को मध्यतिर कालो गैंडाको सङ्ख्या २ हजार ३५४ मा झर्‍यो ।

यसकारण पनि संरक्षणविद्हरुले तिनलाई सुरक्षित राख्न सावधानीपूर्ण नीति अपनाउन थालेका हुन् । यसपछि केही वर्षमा गैँडाको जनसंख्या दुई गुणाले बढेर ५ हजार ६०० पुगेको हो । तर संख्या बढे पनि उनीहरु जङ्गलभित्रबाट बाहिर नआउने हुँदा तिनीहरु नाशिने जोखिम कायमै हुन्छ । गैँडाहरु धेरै संख्यामा एकै ठाउँमा हुँदा तिनको संख्या घट्ने सम्भावना बढी हुन्छ ।

त्यसैले पनि तिनीहरुमा विविधता सुनिश्चित गर्न समय समयमा अन्तै ठाउँ सार्ने गरिन्छ । रेडक्लिफ भन्छन्, ‘हामी एउटा कालो गैँडाले आफ्नै आमा या छोरीसँग प्रजनन गर्नु नपरोस् भन्ने चाहन्छौँ ।’ त्यस्तै शिकारीहरुबाट जोगाउनका लागि पनि कतिपय अवस्थामा स्थानान्तरण गर्नुपर्ने हुन्छ । २०२० मा मात्र गैँडाको शिकारी नामिबियामा २०१९ को तुलनामा ४० प्रतिशतले कम भएको हो । सीएनएन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७