कोरोनाले बदलियो जिन्दगीको बाटो, फेरियो गाउँको मुहार


३१ चैत्र २०७७, मंगलवार
kera kheti

काठमाडौं, ३१ चैत । काठमाडांँमा होटल व्यवसाय गरी बस्दै आएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको ठीक एक वर्ष भयो ।

जीवनको उर्वर समय मलेशिया र विभिन्न खाडी मुलुकमा बिताएका ज्यामरुककोट सानालेखका ध्रुब थापा गत वर्षदेखि गाउँमै तरकारी खेती गरेर बसिरहेका छन् । जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर छन्त्याल विश्वव्यापीरूपमा कोरोना महामारी शुरु भएपछि कतारबाट फर्किए। उनी अहिले फलफूल खेती र पशुपालनमा जमेका छन् ।

त्यसैगरी मङ्गला गाउँपालिकाको अर्मनका सुरेश सापकोटा, मालिकाको देवीस्थानका जसबहादुर फगामी, रघुगङ्गाका सागर भण्डारी, अन्नपूर्ण गाउँपालिकाको शिखका टेकबहादुर बुद्धुजालगायत जिल्लाका तीसभन्दा बढी युवा विदेश र शहरको बसाइँलाई बिट मारेर गाउँ फर्किएका मात्रै छैनन्, कृषि र उद्योगजन्य व्यवसाय लागेर गाउँमै पैसा कमाउन सकिन्छ भन्ने गतिलो सन्देश पनि दिएका छन् ।

विदेश र शहरबाट गाउँ फर्केर कृषिकर्ममा लागेका युवाले उत्पादन गरेका तरकारी र पशुपक्षी रैथाने किसानले उत्पादन गरेका कृषि उपज तथा पशुभन्दा उन्नत र फरक हुने गरेको यस क्षेत्रका व्यापारीले बताएका छन् । शहर र विदेशमा सिकेको सीप एवं प्रविधिको प्रयोग गरी गाउँमा कृषिकर्म गरेका युवा नयाँ उत्साहका साथ लागेको आफूले पाएको मङ्गला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

धान फल्ने १६ रोपनी खेतमा मालभोग र रानीजातका केराखेती गरेका दुर्गाबहादुरले कोरिया र काठमाडौंको रोजगारी भन्दा आफ्नै गाउँको माटोमा गरिएको व्यवसायले बढी आनन्द दिएको बताए । ‘पैसाको खोजीमा कहाँकहाँ भौतारिइयो, तर कतै पनि सन्तुष्ट हुन सकिएन’, ५२ वर्षीय थापाले भने, ‘तर पैसाको सुगन्ध त आफ्नै माटोमा पो पाइँदोरहेछ ।’ उनले १४ वर्ष कोरियामा पोखेको पसिनाको मूल्यभन्दा गाउँमै गरेको श्रमको प्रतिफल निकै मीठो भएको बताए ।

थापाले जस्तै विदेश र शहर बसेर गाउँ फर्किएका धेरै युवाले गाउँको माटोमै पैसा फलेको बताउन थालेका छन् । भारतको मुम्बईस्थित पाँचतारे होटलमा कुकको काम गरेका बगरफाँटका गणेश घिमिरे र युएईको एक होटलमा १० वर्षसम्म काम गरी गत वर्ष गाउँ फर्केर होटल व्यवसाय सञ्चालन गरेका राजु कार्कीले आफ्नै ठाउँमा सानो भए पनि व्यवसाय सञ्चालन गरिरहेका छन् । त्यसबाट प्राप्त हुने आम्दानीको मज्जै बेग्लै हुने गरेको घिमिरेले बताए ।

घिमिरेले गाउँमा नै होटल तथा रेष्टुरेन्ट सञ्चालन सुरु गरेका छन् भने कार्कीले म्याग्दीको नयाँ पर्यटकीयस्थल लभ्लीहिलमा सञ्चालित लभ्लीहिल रेष्टुरेन्टमा कुकको काम गर्दै आएका छन् । थापा, छन्त्याल, कार्की, घिमिरे, सापकोटा र फगामीजस्ता धेरै व्यक्ति अहिले शहर छाडेर गाउँ फर्किएका छन् । गत वर्षदेखि महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको आशङ्कामा शहरमा रहेकाहरू गाउँ फर्किएपछि गाउँले नयाँ त्राण पाएको छ ।

यसले गर्दा गाउँमा निकै चहलपहल बढेको छ । विभिन्न पेशा–व्यवसाय तथा अध्ययनका लागि शहर बसेकाहरू फर्किएपछि गाउँको रूप फेरिएको छ । अरू बेला गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था भने अहिले छैन । पछिल्लो समय वृद्धाश्रम जस्तो देखिने गरेको गाउँमा युवा युवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको छ ।

युवाहरु धमाधम गाउँ फर्किएपछि अहिले गाउँको स्वरुप नै फेरिएको बेनी नगरपालिका–२ ज्यामरुककोटका ८६ वर्षीय रणबहादुर घिमिरेले बताए । ‘पहिला शून्यशून्य देखिने गाउँ अहिले भरिभराउ भएको छ’, घिमिरेले भने, ‘आपतविपद्, सङ्कट र महामारीमा मानिसलाई गाउँ नै प्यारो लाग्दोरहेछ ।’

गाउँमा फर्केर आफ्नो १६ रोपनी खेत र बारीमा ५०० बढी मालभोग जातका केराका बिरुवा लगाएका बगरफाँटका दुर्गा थापाले गाउँमा सुरक्षा र आनन्द दुवै पाइने भएकाले शहरको त्रासलाई भुलाउन आफू गाउँमा आएको बताए । वर्षौदेखि बाँझो रहेका खेतबारीमा अहिले हरियाली छाएको र उत्पादनमा वृद्धि हुने लक्षण देखिएको स्थानीय कृषकले बताएका छन् । कोरोनाका कारण उद्योग, शिक्षा, रोजगारलगायत धेरै क्षेत्र प्रभावित भएका छन् । तर कृषि र स्वास्थ्य क्षेत्रमा भने निकै सुधारका सङ्केत देखिएका सरोकारवालाको भनाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७