कक्षाकोठा पस्नुअघि साबुन–पानीसँग रमाउँछन् विद्यार्थी


३१ चैत्र २०७७, मंगलवार
hand wash

काभ्रे, ३१ चैत । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–७ खोरभञ्ज्याङस्थित महेन्द्र प्राथमिक विद्यालय मिल्चेका विद्यार्थी कक्षाकोठामा प्रवेश गर्नुअघि रमाइरमाइ साबुन पानीले हात धुन्छन् ।

घरदेखि नै मास्क लगाएर आउने उनीहरु भौतिक दूरी कायम गर्दै लाइनबद्ध हुन्छन् र ड्रममा भरिएको सफा पानीले साबुन लगाएर मिचिमची हात धुन्छन् । उनीहरुको यो कार्यलाई अगाडि र पछाडिबाट एक–एक जना शिक्षकले अनुगमन गरिरहेका हुन्छन् ।

कोभिड–१९ संक्रमणको उच्च जोखिमको समयमा गत वर्ष बन्द भई पुनः सञ्चालित विद्यालयमा यस प्रकारको जनस्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य र नियमित पालना हुन थालेको पाइएको छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने यस विद्यालयमा तीन शिक्षक र ६० विद्यार्थी छन् ।

शहरी क्षेत्रमा पुनः कोरोनाको त्रास बढे पनि सो गाउँमा त्यस प्रकारको जोखिम हालसम्म देखिएको छैन । विद्यालयका प्रधानाध्यापक कमलबहादुर पुलामी सरकारले बन्द गर्नु नभनेको अवस्थामा आफूहरु स्वास्थ्य सुरक्षासहित नियमित विद्यालय सञ्चालन गर्न तत्पर रहेको बताउँछन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तितुङ शैक्षिक सत्र सकिन लागेकाले टोलटोलमा शिक्षक आएर वा वैकल्पिक माध्यमबाट पढाइ रहन सहज नहुने भएकाले विद्यालय खोल्नु उपयुक्त हुने बताउँछन् ।

कोभिड–१९ पछिको स्थितिमा सिकाइ निरन्तरताका लागि गाउँपालिकाको समन्वय तथा ‘वि वल्र्ड’ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा स्थानीय नाङ्साल एशोसिएसनले शैक्षिक तथा स्वास्थ्य सामग्री प्रदान गरेपछि विद्यालयमा स्वास्थ्य सरक्षा मापदण्ड पालनामा सहजता आएको देखिएको छ । निःशुल्क पढाइ हुने सामुदायिक विद्यालयहरुमा सरकारको दिवा खाजा कार्यक्रम पनि सञ्चालित छ । महांकालस्थित जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक केशरबहादुर मगर हाल विद्यालय सञ्चालन गर्न कुनै कठिनाइ नरहेको बताउँछन् ।

सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला समेत रहेको यस विद्यालयमा यो वर्ष २५३ जना विद्यार्थी भर्ना भएका छन् । बारेनडाँडास्थित जनचेतना आधारभूत विद्यालयमा भने भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्रै उपस्थित भएको पाइएको छ ।

‘वी वल्र्ड’ ले कोभिड–१९ पछि काभ्रेपलाञ्चोकका ६८ र सिन्धुपाल्चोकका १० विद्यालयमा गरी ६६ लाख ३१ हजार रुपैयाँ बराबरको अध्ययन तथा स्वास्थ्य सामग्री सहयोग गरेको थियो भने सन् २०१३ देखि दुवै जिल्लाका २४ विद्यालयमा ‘गुणस्तरीय आभारभूत सिकाइ तथा बाल अधिकार प्रवद्र्धन’ परियोजना सञ्चालन गरेको थियो । उक्त परियोजनाको अवधि यसै महिना सकिंदैछ । परियोजनाले विद्यालयमा भवन पुनःनिर्माण, बहुकक्षा बहुशिक्षण विधि र अन्य शैक्षिक सुधारमा सहयोग गरेको छ ।

बेथानचोकस्थित पार्वती माविका प्रधानाध्यापक गोविन्दप्रसाद शर्माले गाउँपालिका र संस्थाको सहयोगमा कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट पनि सिकाइ निरन्तरता दिइएको र हाल नियमित विद्यालय सञ्चालन गरिएको जनाए । उक्त विद्यालयमा आठ सय विद्यार्थी छन् । खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले सरकारको स्रोतसाधनले मात्रै नभ्याउने स्थितिमा यस्ता सहयोग र कार्यक्रमलाई सबै वडा र विद्यालयमा विस्तार गर्न आग्रह गरे ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमिल्सिना कोरोना त्रास बढेका बेला स्वाध्ययन सामग्रीको प्रकाशन र वितरण, शिक्षक तालिम, सुरक्षित विद्यालयको अवधारणाबारे सचेतना दिएर गैरसरकारी क्षेत्रले सहयोग गरेको बताउँछन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७