ललितपुरका व्यक्तिमा पहिलोपल्ट देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

हालसम्म काठमाडौंमा संकलित ७६ नमुनामा ४८ जनामा यूके भेरिएन्ट फेला


२ बैशाख २०७८, बिहीबार
korona doctor

काठमाडौं, २ बैसाख । ललितपुरमा संकलित नमुनामा कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको छ । नेपालमा पहिलोपल्ट यस्तो भेरिएन्ट भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो संक्रमणको विकास नेपालबाटै भएको हो वा भारतसँग सम्बन्धित छ भनेर स्वास्थ्य मन्त्रालयले अनुसन्धान शुरु गरेको छ । मन्त्रालयका अनुसार नमुना प्रमाणित गर्न हङकङ पठाइएको थियो । यो भेरिएन्ट तीव्र गतिले फैलिने तथा कडा संक्रमण गर्ने खालको हो । कोरोनाको यो नयाँ प्रजाति खासगरी स्कुले बालबालिका उल्लेख्य संख्यामा देखिएको पौडेलले बताए ।

‘डबल भेरिएन्ट पाइएका व्यक्तिको यात्रा इतिहास, कन्ट्याक्ट ट्रेसिङलगायत विस्तृत जानकारी लिएर संक्रमणको विकास स्थलबारे खोजी गर्दैछौं,’ डा.पौडेलले भने, ‘विदेश पठाइएको नमुनामा हालसम्म अफ्रिका (बी.१.३५१) र ब्राजिल (पी.१) को भेरिएन्ट भने पाइएको छैन ।’
डबल म्युटेन्ट भेरिएन्ट भनेको एकै भाइरस परिवर्तन भई दुई प्रकारको स्वरूप देखिनु हो । भाइरसले आफूलाई लामो समयसम्म प्रभावकारी बनाउन आफ्नो जेनेटिक संरचनामा परिवर्तन गरिरहन्छ । आफू जीवित रहिरहन स्वरूप फेरेर बलियो बनाउँदै जान्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार नेपालसहित १३२ देशमा कोरोनाको यूके भेरिएन्ट (बी.१.१.७) देखिइसकेको छ । यो भेरिएन्टबाट संक्रमितमा जटिलता देखिने, अस्पताल भर्ना हुने र मृत्युदर बढ्ने जोखिम रहेको डब्लूएचओले जनाएको छ । नेपालमा एउटा नमुनामा डबल म्युटेन्ट भेरिएन्ट देखिनुले अन्यमा पनि यस्तो संक्रमण छ भनेर बुझ्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हालसम्म काठमाडौंमा संकलित ७६ नमुनामा ४८ जनामा यूके भेरिएन्ट पाइएको छ । यसको संक्रमण बालबालिकामा समेत उल्लेख्य छ । यूके भेरिएन्ट देखिनेहरू ४ वर्षमुनिका २ जना, ५ देखि ९ वर्षका १ जना, १० देखि १४ वर्षका ३ र १६ देखि १९ वर्षका ४ जना छन् । यस्तै, पोखरामा संकलिन १७४ नमुनामध्ये १०५ नमुनामा यूके भेरिएन्ट पाइएको छ ।

त्यहाँ भने यो भेरिएन्ट देखिएकामध्ये ५१ जना १० देखि १४ वर्षका छन् । नयाँ भेरिएन्टबाट संक्रमितहरू ४० वर्षभन्दा मुनिका रहेकाले समयमै सतर्कता नअपनाए रोगको जटिलताले अस्पतालले थेग्नै नसक्ने अवस्था आउन सक्ने ईडीसीडीका निर्देशक डा. पौडेलले बताए । आईसीयू र भेन्टिलेटरमा उपचार गराउनेमध्ये आधाजति ५० वर्षभन्दा मुनिका छन् । बुधबारसम्म सघन उपचारमा रहेकाको संख्या १०५ पुगेको छ, जसमध्ये ८० जना आईसीयू र २५ जना भेन्टिलेटरमा छन् ।

हाल वाग्मती र लुम्बिनी प्रदेशमा सघन उपचार गराउनेहरूको संख्यामा वृद्धि भएको छ । वाग्मतीमा बुधबार ४१ जना आईसीयू र १८ जना भेन्टिलेटर गरी कुल ५९ जना सघन उपचारमा छन् । लुम्बिनीमा ३६ जना आईसीयू र ५ जना भेन्टिलेटर गरी ४१ जना सघन उपचारमा छन् । यसैबीच, पछिल्लो समय संक्रमितमा नयाँनयाँ भेरिएन्ट देखिएसँगै नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘नेपालमा कोभिडको दोस्रो लहर शुरु भइसकेको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले भने, ‘सरदर ४ हजार नमुनामा ५–६ सय पोजिटिभ केस देखिन थाल्यो, यो दोस्रो लहर सुरु भइसकेको संकेत हो ।’ प्रायःजसो मुलुकमा पहिलो लहरको दाँजोमा दोस्रो लहर बढी खतरनाक देखिएको विज्ञहरूको भनाइ छ ।

मुलुकमा बुधबार तीन जनाको मृत्यु हुनुका साथै ४ हजार २ सय ९९ नमुनाको पीसीआर परीक्षण गर्दा १३.४९ प्रतिशत अर्थात् ५ सय ८० नमुनामा संक्रमण देखिएको छ । यसअघि मंगलबार १०.४८ प्रतिशत, सोमबार ११.३२, आइतबार ९.६९ र शनिबार ९.५४ प्रतिशत संक्रमण दर थियो ।

संक्रमण उल्लेख्य रूपमा बढेको भन्दै डा. गौतमले १०–१५ दिनमा काठमाडौंको अवस्था धेरै अप्ठ्यारो हुने चेतावनी समेत दिए । हाल कोभिड संक्रमण भएर बूढापाका मात्र नभई युवा र बच्चाहरू समेत आईसीयूमा भर्ना भएका छन् । ‘स्वास्थ्य मन्त्रालयले सरकारलाई कोभिडको बढ्दो संक्रमणबारे जानकारी गराइसकेको छ,’ उनले भने, ‘तुरुन्त स्कुल बन्द गर्नुपर्छ । ढिलो भयो । ज्यानका अगाडि व्यापारको कुरा गरिनु दुःखद हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७