बागमती प्रदेश सभा वैठक अनिश्चितकालका लागि स्थगित, माओवादीको अवरोध कायमै


२ बैशाख २०७८, बिहीबार
bagmati 3

हेटौंडा, २ बैसाख । बागमती प्रदेशसभा बैठक प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको अवरोधका कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रदेशसभाको आज (बिहीबार) बसेको बैठकमा प्रदेश सरकारले राष्ट्रिय सरोकारका विषय, प्रदेश सरकारले बिना कार्यविधि, मापदण्ड र पूर्वाधार नै नबनाई विद्युतीय बस खरिद प्रक्रिया अघि बढाएको र आर्थिक सहायता कार्यविधि नै नबनाइ मदन भण्डारी फाउण्डेसनलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको विषयमा उचित जवाफ माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।

सांसदहरुले संसदमा उठेर अवरोध खडा गरेपछि प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका हुन् । बैठकको सुरुवातमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ, साझा विवेकशीलका रमेश पौड्याल, राप्रपाकी रिता माझी, रीना गुरुङ र नेमकिपाका सुरेन्द्र राज गोरसाईले नव वर्ष २०७८ को शुभकामनासहित आफ्ना भनाइहरू राखेका थिए ।

प्रदेश सरकारले जनताप्रति उत्तरदायी नभएको भन्दै सरकार आफ्ना नेता र कार्यकर्तालाई संरक्षण गर्नमा व्यस्त रहेको बताएका थिए । जनतालाई महङ्गीको भारी बोकाएर सरकार विकास र समृद्धिको नारा लगाउनमा नै व्यस्त रहेको उनीहरुको भनाइ थियो । देशले महामारीको संकटबाट निकास खोजिरहेको बेला प्रदेश सरकार कार्यविधि नै नबनाई गैरकानूनी रुपमा योजनाहरु अघि बढाइरहेको उनीहरुको भनाइ छ ।

प्रदेश सरकार आफ्नै निर्माण कम्पनी स्थापनामा लागेर भ्रष्टाचारलाई बढुवा दिएको बताए । प्रदेशसभामा उठेका प्रश्नहरुको मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले अध्ययन अनुशन्धान गरेर नै विकासका योजनाहरु अगाडि सारेको बताए ।

प्रदेश सरकारले विद्युतीय बस संचालनको लागि आवश्यक पूर्वाधारहरु निर्माणका कार्यहरु क्रमशः गरिरहेको र निकट भविष्यमा नै सम्पन्न हुने भएकाले विद्युतीय बस खरिदको प्रक्रिया अगाडि बढाएको बताए । नेपालमा उत्पादित विद्युतको खपत, वातावरणलाई सन्तुलन र नागरिकको स्वास्थ्य सुविधालाई मध्यनजर गरेर प्रदेश सरकार यस तर्फ अगाडि बढेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७