सासुको सम्पत्ति हिनामिना आरोपमा जल उत्पन्न प्रकोप विभागका पूर्व महानिर्देशक पक्राउ


२ बैशाख २०७८, बिहीबार
pakrau
सांकेतिक तस्वीर

काठमाडौं, २ बैसाख । जल उत्पन्न प्रकोप विभागका पूर्व महानिर्देशक कमलप्रसाद रेग्मी पक्राउ परेका छन् । सासुको सम्पत्ति हिनामिनाको आरोपमा काठमाडौं प्रहरी परिसरले उनलाई बिहीबार बल्खुबाट पक्राउ गरेको हो । यसअघि राष्ट्र बैंककी निर्देशक रहेकी उनकी श्रीमती सुष्मा रिजाल रेग्मी पनि पक्राउ परिसकेकी छन् ।

छोरी ज्वाईंले आफ्नो सम्पत्ति हिनामिना गरेको र आफूलाई हेरचाह नगरेको भन्दै रिजालकै आमाको जाहेरीपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ८४ वर्षीया आमाले छोरी ज्वाईंले आफ्नो सम्पत्ति अनधिकृत रुपमा लगेको भन्दै जाहेरी दिएकी थिइन् । आफ्नो माछापुच्छ्रे बैंकमा रहेको रकम र लकरमा रहेका सुनचाँदी अनधिकृत रुपमा निकालेको भन्दै रिजालकी आमाले जाहेरी दिएकी थिइन् । आफ्नो सेयर समेत झुक्याएर बिक्री गरेको जाहेरीमा उल्लेख छ ।

आफ्नो ३ करोड बढीको सम्पत्ति लगे पनि हेरचाह नगरेको बृद्धाको जाहेरीमा उल्लेख छ । उनीविरुद्ध ज्येष्ठ नागरिक ऐन २०६३ अन्तर्गत कसुरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ । यसअघि सुष्मालाई भने अदालतले पुर्पक्षका लागि केन्द्रीय कारागारमा पठाइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७