कोरोना लक्षणसहित १०२ विद्यार्थी एकसाथ बिरामी, अनिश्चितकालका लागि विद्यालय बन्द


३ बैशाख २०७८, शुक्रबार

दोलखा, ३ बैसाख । दोलखाको बिगु गाउँपालिका–८ खोपाचाँगुस्थित हिमालय माविका एक सय भन्दा धेरै विद्यार्थी र शिक्षकमा एकसाथ रुघाखोकी र ज्वरोको समस्या देखिएको छ ।

कोरोनासँग मिल्दो लक्षणसहित रुघाखोकी र ज्वरोले शिक्षक विद्यार्थी बिरामी पर्न थालेपछि बिहीबारदेखि विद्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ । देशमा कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै गाउँमा कोरोनाको जस्तै लक्षण भएका बिरामीको संख्या बढ्दै गएपछि स्थानीयबासी त्रसित भएका छन् ।

विद्यालयमा अध्ययनरत १०२ विद्यार्थी र ६ शिक्षकमा रुघाखोकी र ज्वरोको समस्या देखिएको प्रधानाध्यापक कालु जिरेलले जानकारी दिएका छन् । शिक्षक विद्यार्थीमा ज्वरोको प्रकोप फैलिएपछि केही दिनका लागि विद्यालय बन्द गर्न निर्देशन दिइएको बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताए ।

‘बिरामीको स्वास्थ्य परीक्षणको लागि माथिल्लो निकायसँग सहयोग माग गरेका छौँ,’ अध्यक्ष खड्काले भने, ‘एकैपल्ट धेरै विद्यार्थी र शिक्षक किन बिरामी भए, त्यसको निक्र्योल गर्न हामी लागि परेका छौं ।’ गाउँका अन्य केही व्यक्तिमा समेत ज्वरोसहित रुघाखोकीको समस्या देखिएको उनले बताए । गाउँपालिकाको स्वास्थ्य शाखाले शिक्षक विद्यार्थीको उपचारको लागि घरघरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७